कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

फुटपाथका साइकल र ठेलागाडा जफत 

विद्या राई

काठमाडौँ — भोजपुरका केदार खत्री १४ वर्षदेखि काठमाडौंमा बसेर व्यापार गर्थे । ठेलागाडामा राखेर कहिले फलफूल, तरकारी, कहिले खेलौना, लत्ताकपडाको फुटपाथ, चोकहरु, गल्ली तथा टोलहरु चहार्नु उनको दैनिकि थियो ।

फुटपाथका साइकल र ठेलागाडा जफत 

पत्नी र पाँच सन्तानसहितको परिवार बागबजारमा कोठा भाडामा लिएर बस्छन् । दैनिक एकदेखि तीन हजार कमाइ हुन्थ्यो । जीविका चलाउने, छोराछोरी पढाउने आधार यही नै थियो ।

वैशाखमा क्षेत्रपाटीको गल्लीतिर लुकीछिपि व्यापार गर्दैगर्दा महानगरीय प्रहरीले उनलाई नियन्त्रणमा लियो । प्रहरीले ठेलागाडा जफत गरेर महानगरीय प्रहरी शाखा टेकुमा राखेका छन् । त्यसयता काठमाडौको महँगीमा जीविका कसरी चलाउने उनलाई निक्कै चुनौती बनेको छ ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले फुटपाथ तथा सार्वजानिक स्थलहरु अतिक्रमण गरेर, साइकल, ठेलागाडामा राखेर लत्ताकपडा, फलफूल, तरकारी व्यापार गर्नेलाई हटाउन थालेको छ । महानगरपालिकाले व्यापारीले सटर वा कोठा भाडामा तथा जग्गा लिजमा लिएर व्यापार गर्न आग्रह गरेको छ ।

खत्रीजस्ता निम्न वर्गका लागी फुटपाथको व्यापार जीविका चलाउने सजिलो माध्यम बनेको बेला महानगरको निर्णय चुनौतीपूर्ण बनेको छ । उनीहरु भन्छन्, – ‘सटर लिने क्षमता छैन, सटर पाउँदैन ।’

महानगरीय प्रहरीको गस्ती जेठदेखि झनै सक्रिय भएर खटिएको छ । नगरप्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक विष्णु जोशीका अनुसार जेठदेखि असार १३ सम्म दुई सय ५० वटा ठेलागाडा, ६० वटा साइकल र लत्ताकपडाजन्य, फलफूल, तरकारीजन्य दुई सय बढीको जफत गरेको छ ।

गत वर्षदेखि जेठ मसान्तसम्म एक हजार चार सय ४२ जनाको साइकल, ठेलागाडा, सरसामान नियन्त्रण तथा जफत गरेको छ । फुटपाथ व्यापारलाई महानगरले विगतका वर्षदेखि रोक्दै आएको थियो । नियन्त्रणमा लिएको व्यापारीहरुलाई जरिवाना तिराएर छोड्ने गर्थ्यो ।

नियन्त्रणमा लिएको सामानको परिणामको २५ प्रतिशत जरिवाना तिराउने गर्थ्यो । जरिवाना तिरेर फर्केका व्यापारीले व्यापार पुन: थालेर पुरानै अवस्था भइदिने भएपछि फागुन महिनादेखि जफत गर्न थालेको छ । व्यापारीले फुटपाथ अतिक्रमण गरेपछि पैदलयात्रीहरु सडकमा ओर्लेर हिँड्नुपर्ने र सवारी दुर्घटनाका बढेको गुनासो आउन थालेपछि सामान जफत गरेर कडाई गर्न थालेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् ।

काठमाडौंमा फुटपाथ व्यापारी कति छन् भन्ने यकिन तथ्यांङ महानगरसँग छैन । तर फुटपाथ अतिक्रमण गरेर व्यापार गर्नेले सहरको सौन्दर्य र दुर्घटना निम्त्याउनमा सहयोग पुगेको भन्दै महानगरले हटाउन थालेको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म जुनसुकै बेला, जहाँसुकै पनि महानगरीय प्रहरीको गस्तीले सामान जफत गर्ने तथा नियन्त्रणमा लिनसक्छ ।

रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयााबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड, लगायतका क्षेत्रमा मौलाउदै गएको फुटपाथ ब्यापारलाई महानगरपालिकाले शून्यमा झार्ने लक्ष्य राखेको छ । जफत गरेका साइकल, ठेलागाडा, फ्रिज, डाला, बकेट लगायत सामानहरु महानगरीय प्रहरी टेकुको परिषरमा थन्काइएका छन् ।

पहिले जरिवाना तिराएर छोडिादै आएकोमा अब भने सामान फिर्ता नगरेर लिलामी गर्ने महानगरले निर्णय गरेको छ । जेठदेखि यो नियम कडाइका साथ लागु गरेको बताउदै आएको छ । महानगरीय प्रहरीले सिभिल र गस्तीमा टोली खटाएर सामान जफत गर्दै आएको छ ।

प्रकाशित : असार १७, २०७५ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?