१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खेतमा धाँजा फाट्याे [भिडियो]

अवधेशकुमार झा

राजविराज — जिल्लामा मनसुन सक्रिय नहुँदा धान रोपाई प्रभावित भएको छ । पानी अभावका कारण रोपाई भएका खेतमा धाँजा फाट्न थालेको छ ।

खेतमा धाँजा फाट्याे [भिडियो]

रोपाईका लागि तयार रहेको बिऊसमेत चर्को घामका कारण सुक्न थालेको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले जानकारी दिए । उनका अनुसार जिल्लामा खेतीयोग्य ७० हजार हेक्टर जग्गामध्ये आधा जग्गामा आकाशे पानीकै भरमा खेती हुने गरेको छ । पानी नपर्दा जिल्लामा अहिले २० प्रतिशत मात्र रोपाईँ भएको छ ।

‘नहर आसपाससमेत आवश्यकता अनुसार सिँचाई हुन सकिरहेको छैन’ वरिष्ठ कृषि विकास अधिकृत यादवले भने, ‘रोपाइँ गरिएका खेतमा पानी अभावमा धाँजा फाट्न थालेको छ, चर्को घामका कारण बेर्ना मर्न थालेको छ । ’

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार पछिल्लो चार वर्षयता सप्तरीको धान उत्पादनमा निरन्तर ह्रास आउँदै गरेको छ । कार्यालयकै तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष ०७०/०७१ र ०७१/७२ मा यहाँ ३ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले धान उत्पादन गरिएको थियो भने ०७३/०७४ मा २ दशमलव ५ मेट्रिक टनप्रति हेक्टर धान उत्पादन भएको थियो ।

एकातिर उत्पादन दरमा निरन्तर कमी आइरहेको अवस्था छ भने अर्कोतिर वर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बाँझै रहने गरेको समस्या पनि राज्यका लागि चुनौतिपूर्ण बन्न गएको छ ।

सप्तरी धान उत्पादनका लागि मुलुकमै प्रसिद्ध रहेको जिल्ला हो । यहाँको कूल खेतीयोग्य जग्गामध्ये ५० प्रतिशत जग्गा आकाशे पानीको भरमा खेती हुन्छ भने भने बाँकी ५० प्रतिशत जग्गामा विभिन्न नहर र सिँचाई प्रणालीबाट सिंचित हुने दाबी गरिएपनि ती नहर र सिंचाई योजनाहरुको अवस्था भने आफै अस्तव्यस्त छ ।

राणाकालमै निर्माण गरिएको मुलुककै पहिलो सिंचाई प्रणाली चन्द्र नहर सप्तरीमै रहेको छ । यसका अतिरिक्त कोसी पश्चिमी नहर वितरण प्रणाली, कोसी पम्प नहर प्रणाली, कोसी वितरण प्रणाली, ग्रामिण पूर्वाधार विकास कार्यक्रम र सिंचाई सेक्टरहरु लगायतका पूर्वाधारहरु समेत यहाँ रहेका छन् ।

यद्यपी अधिकांशको अवस्था हाल जीर्ण, जर्रजर र अस्तव्यस्त नै छन् । चन्द्र नहरको सिंचाई क्षमता दश हजार ५ सय हेक्टर रहेको छ । तर विभिन्न ठाउँमा नहर भत्किनुका साथै अतिक्रमण गरिएकाले सिंचाई सुविधा पुर्‍याउन सक्ने अवस्था छैन् ।

त्यस्तै कोसी पश्चिमी नहर वितरण प्रणालीको क्षमता १३ हजार तीन सय हेक्टरमा सिंचाई गर्ने रहेपनि ६ हजार ६ सय १६ हेक्टरमा मात्र पुगिरहेको छ । कोशी वितरण प्रणालीले ११ हजार सात हेक्टरमा सिंचाई गर्नुपर्नेमा सात हजार ८ सय ५३ हेक्टरमा मात्र सिंचाई सुविधा पुर्‍याइरहेको छ ।

अन्य सिंचाई आयोजनाहरुमध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६ सय ६५ हेक्टर तथा सेक्टर सिंचाईले २५ सय हेक्टरमा मात्र सिंचाई सुविधा पुर्‍याइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । सिंचाई व्यवस्थाको अस्तव्यस्ताकै कारण यस सप्तरीको धन उत्पादनमा निरन्तर ह्रास आउनुका साथै ठूलो क्षेत्रफल जग्गा बाँझो नै रहने गरेको हो ।

प्रकाशित : श्रावण ६, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?