उर्लाबारीको बेतिनी सिमसार 

गोविन्द पोखरेल

मोरङ — मोरङको उर्लाबारी–२ मा अवस्थित बेतिनी सिमसार । उर्लाबारीको मंगलबारे चोकउत्तर हुँदै करिब १५ मिनेटको दूरीमा यहाँ पुग्न सकिनछ । बेतिनी सामुदायिक वनद्वारा संरक्षित यो सिमसारमा दैनिक दुईसयभन्दा बढी अगन्तुकहरु आउने गरेको सिमसार व्यवस्थापन समितिका अध्यक्ष भिम राईले जानकारी दिए । 

उर्लाबारीको बेतिनी सिमसार 

पर्यापर्यटनलाई आकर्षण गर्नका लागि व्यवस्थापन समितिले तीनवटा कृत्रिम बाघ राखेको छ । त्यहाँ निर्माण गरिएको कृत्रिम पोखरीमा बोटिङ सञ्चालन गरिएको छ । चराचुरुंगीहरुले निकाल्ने आवाज, कृत्रिम ताल र सालको जंगलले यहाँको वातवरणलाई अझ रमणीय बनाइदिन्छ ।

१.५ वर्ग क्षेत्रबाट निस्किएको जरुवा पानीले यस क्षेत्रमा पानीको सञ्जितीकरण गरेको छ । सिमसारको बीच भागमा कृत्रिम ताल निर्माण गरेर पर्यापर्यटनलाई आकर्षित गर्न खोजिएको छ । सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले यसको संरक्षण र सम्बद्र्धनका लागि नगरपालिका र सामुदायिक वन दुवैले लाखौँ लगानी गरिरहेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिए ।


सिमसार प्रवेशद्वार नजिकै बाल उद्यान निर्माण गरिएको छ । बाल उद्यानमा फाउन्टेन,पजल गार्डेन निर्माणधिन अवस्थामा छन् । उर्लाबारी नगरपालिकाको लाखौँ लगानीमा बाल उद्यान निर्माण भइरहेको छ ।

चरा अवलोकनकर्ता तथा सीमसार सम्बन्धि अनुसन्धान गर्न खोज्ने विद्यार्थीहरुका लागि उपयुक्त रहेको उर्लाबारी–२का वडाध्यक्ष राजन कडेँलले बताए । वडा कार्यालयले सिमसार क्षेत्रको संरक्षण र प्रचारप्रसारका लागि बजेट विनियोजन गरेको छ ।

यहाँ विभिन्न प्रजातिका कछुवा,माछा लगायतका जलीय प्राणीहरु पाइन्छन् भने दर्जनभन्दा बढी प्रजातिका वनस्पतिहरुको पाइन्छन् । कृत्रिम तालको वरीपरी रहेका सालका रुख अनि कृत्रिम टापूमा बस्ने पानीहाँसको समूहले यहाँको प्राकृतिक सौन्दर्यतालाई थप रमणीय बनाइदिएको छ ।

दुईवटा पोखरीमा जम्मा भएको पानीलाई एकै ठाउँबाट जाने बनाइएको छ । बाहिर निस्कने पानीबाट १० किलोवाटभन्दा बढी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सिमसार क्षेत्रबाट अलिक पर सानासाना टहर निर्माण गरेर होटलहरु सञ्चालनमा छन् । त्यहाँ पर्यटकहरुको दिनहुँ भीड लाग्ने गरेको छ ।

प्रकाशित : श्रावण १३, २०७५ २३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?