कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

राप्ती लोकमार्गको विजोग

हरि गौतम

रुकुम पश्चिम — रुकुम जिल्लालाई बाहिरी जिल्ला जोड्ने पहिलो लोकमार्ग हो, राप्ती लोकमार्ग । दाङबाट सल्यानहुँदै रुकुम प्रवेश गर्ने यो सडक निर्माण भएको १५ वर्ष बढी भइसकेको छ । तर यसै सडकका कारण सर्वसाधारणले दु:ख पाइरहेका छन् । हिउँदको धुलो होस् या वर्षाको हिलो सर्वसाधारणको यात्रामा बाधक बन्ने गरेको छ । सल्यान जिल्लाबाट रुकुम पश्चिम प्रवेश गर्ने वित्तिकै सर्वसाधारण हिउँदमा धुलोको अवरोधमा पर्दछन् भने वर्षामा हिलोको ।

राप्ती लोकमार्गको विजोग

रुकुम पश्चिम प्रवेश गरेको केही मिनेटमै सवारीका साधन धुलो हिलोमा फस्छन् भने सर्वसाधारण गाडिबाट ओर्लीएर गाडि तानेको रमिता हेरेर बस्न बाध्य हुन्छन् । त्रिवेणि गाउँपालिका ३ र ६ नम्बर वडाको सीमानाको रुपमा रहेको राप्ती लोकमार्ग अन्तर्गत ढाँरेगैराले हरेक दिन यात्रुको यात्रा प्रभावित गरिरहेको छ । विहानै जिल्लाबाट बाहिर जाने यात्रु हुन या बेलुकी बाहिरबाट जिल्ला भित्रिने यात्रु हुन्, ढाँरेगैराको सास्ती नभोगि सुख पाउँदैनन् । त्रिवेणि गाउँपालिकाको कार्यालय भन्दा केही किलो मिटरमा उक्त समस्या छ ।

हिउँदमा धुलो बढी भएकाले गाडि उक्लन सक्दैनन् भने वर्षामा हिलोले । गत वर्षको हिउँदमा सोही ठाउँको धुलोमा एम्बुलेन्स फस्दा एक जना महिलाको ज्यान गएको थियो । धेरै धुलोमा सजिलै एम्बुलेन्स नचढेपछि उपचारको लागि नेपालगञ्जतर्फ लिदै गरिएको अवस्थामा ति महिलाको ज्यान गएको थियो । चालु वर्ष सुरु भएसँगै सर्वसाधारणको साथै यातायात व्यवसायीको दु:ख हिउँदको भन्दा दोब्बर भएका छन् । हिलोमा गाडि फसेका कारण होस् या उकालो चढ्न नसकेका कारण सर्वसाधारणको समय खेर गइरहेको हुन्छ भने यातायात व्यवसायी थप खर्चमा पर्दछन् । हिलोमा फसेको वा उकालो चढ्न नसकेको गाडि तान्नुपर्दा यातायात व्यवसायीले थप पैसा खर्च गर्न बाध्य छन् ।

ढाँरेगैरामा फस्ने हरेक गाडि स्काभेटरले नतानी उक्त हिलाम्य सडकबाट उम्कन सक्दैनन् । हिलोमा फसेका वा उकालो चढ्न नसक्ने गाडि ताने वापत स्काभेटरले सवारी साधन अनुसार ५ सय देखि एक हजार सम्म रुपैयाँ लिने गरेको छ । लामो समयदेखि यस्तो समस्या भएपनि सरोकारवालाको ध्यान भने जान सकेको छैन । यस क्षेत्रको सडक खण्डमा काम गर्ने सडक डिभिजन कार्यालय चौरजहारीले समस्याबारे थाहै नभएको प्रतिक्रिया दिएको छ । कार्यालयका निमित्त प्रमुख दीपक पौडेलले राप्ती लोकमार्गको खौला–झुल्नेटा खण्डको ढाँरे गैरामा समस्या आएको पहिलो पटक सुनेकाले त्यसको व्यवस्थापनमा लाग्ने बताए ।

उनले सडक मर्मत लगायतका कामका लागि उक्त खण्डमा सडक विभागको यान्त्रिक कार्यालय नेपालगञ्जबाट आवश्यक मेशिन झिकाउन लागेको पनि जानकारी दिएका छन् ।

प्रकाशित : श्रावण १७, २०७५ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?