कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा २८ घर पहिरोको जोखिममा 

माधव अर्याल

पाल्पा — जिल्लाको रम्भा गाउँपालिका-१ हुँगी सुवेदीटोलका २८ घरपरिवार पहिरोको जोखिममा परेका छन् । साउन २० गते आएको अविरल वर्षापछि यहाँका सिंगो सुवेदी गाउँ र त्यस वरपरका वस्ती माथिबाट बगेको पहिरोको जोखिममा परेको हुन । 

पाल्पामा २८ घर पहिरोको जोखिममा 

झण्डै १२ घण्टासम्म निरन्तर पहिरो बगेको थियो । माथिल्लो भागमा खनेको सडकका कारण डाँडाबाट बग्दै आएको रुख र ढुंगामाटो लेदोका कारण गाउँ नै जोखिममा परेको वडा सचिव तथा स्थानीय बासिन्दा रामकृष्ण सुवेदीले बताए । उनका अनुसार बस्तीमाथिको भीर र जंगल रहेको स्थानमा मोटरबाटो खन्दा तल्लो भेगका बासिन्दालाई जोखिममा पारेको हो । अहिले पानी बग्ने नाली बनाएर बस्तीलाई तत्काल जोगाउने प्रयास गरेको उनले बताए ।

जंगल र ठाडो भीरमा धेरै घुम्ती बनाएर खनेको मोटरबाटोले सिंगो बस्तीलाई जोखिम निम्त्याएको छ । माथिल्लो भागबाट जंगलका रुख, लेदो माटो र डोजर प्रयोग गरी खनेको ढुंगामाटो बगाएर ल्याएपछि सिंगो बस्ती जोखिममा छ । मोटरबाटो खन्दा ग्रेड नमिलाएपछि दुई खोल्साबाट रुखसहित बगेर आउँदा दुई तिर भंगालो परेको स्थानीय दामोदर प्रसाद सुवेदीले बताए । पहिरोको पीरले रातभर सुत्न नसकिएको उनीहरुले बताए । ठाडै भीरमा जंगल छ । त्यही जंगलमा धेरै घुम्ती निकालेर सडक खनेकाले अहिले विपद् निम्तिएको हो ।

पहिरोले स्थानीयको खेत, बारी पुरेको छ । केही घरमासमेत लेदो माटो गएको छ । कतिपयको घर र गोठमा क्षति पुगेको छ । अधिकांश घरलाई क्षति पुग्नेगरी जोखिम झन बढेको छ । स्थानीय दुर्गा सुवेदीका अनुसार यस्तो आपत भूकम्प आउँदा पनि भएको थिएन । त्रासैत्रासले भएको भैसी बिक्री गरेका छन । स्थानीयले घरमा सामान राख्नसमेत डराएका छन । पहिरो गएपछि बालबालिका, ज्येष्ठ नागरिक बढी त्रासमा छन । अहिले पनि रातीमा सुत्नसमेत सकेका छैनन्। उनीहरुले अझै पनि त्रासबाट मुक्त छैनन् ।

रम्भा गाउँपालिका, १ र २ जोड्ने सेतीपोखरी–सानोचौपारी–ठूलोथुम्की हुँदै फोक्सिङ्गडाँडा जाने मोटरबाटो खन्दा विपत्ति निम्तिएको हो। यहाँको एक मोड बाहेक सबै स्टिमेट अनुसार नै खनिएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणबहादुर पछाईले दाबी गरे । सुवेदी टोलका रामकृष्ण, शिवप्रसाद, तारानाथ, सरोज, दामोदर सुवेदीको घर बढी जोखिममा छ । तल्लो भागका जनार्दन सुवेदी, प्रेमबहादुर, नेत्रबहादुर, डम्बरबहादुर, रामबहादुर, रामचन्द्र, भरतबहादुर, अर्जुनबहादुर, जयबहादुर, कृष्णबहादुर, निरबहादुर, धनबहादुर, लक्ष्मणबहादुर पछाई घरपनि जोखिममा छ ।

लिलाम्बर विक, सुनिता विक, इमानसिंह जर्घा, मोतीलाल न्यौपाने, कला कार्की, रन्जु कामी, सन्तबहादुर विक, तोलबहादुर राना, ओमबहादुर मश्राङ्गी, कुलबहादुर रानाको घरसमेत पहिरोको जोखिममा छ ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सिंगो गाउँमा विपद् आइलागेकाले प्रभावित क्षेत्रमा तत्काल निरीक्षण गरेको बताए । गाउँपालिकाबाट इन्जिनियर र ओभरसियरको निर्देशन अनुसार नै बाटो खनेको उनले बताए । यहाँ १७ लाखले बाटो खनिएको हो । आगामी दिनमा ठूला मेशिन प्रयोग नगर्ने र साना मेशीनरी औजार प्रयोग गर्दै नाली बनाएर काम अघि बढाउने उनले बताए । हुँगी प्रहरी चौकी प्रमुख रामानन्द यादवले प्रहरी, प्रशासनमा यस विषयमा जानकारी गराइसकेको बताए । स्थानीय नारायण भट्टराईले विपद्मा सहयोग गर्न ४० जना युवाले श्रमदान गरेर सघाएको बताए ।

प्रकाशित : श्रावण २७, २०७५ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?