प्रतिवेदनको पर्खाइमा मकिदै सिंहदरबारको पश्चिम मोहडा

अध्ययन प्रतिवेदन पूर्ण हुन अझै दुई साता लाग्ने
सबलीकरणको उपाय पहिल्याइनेछ : कार्यकारी अधिकृत ज्ञवाली
देवेन्द्र भट्टराई

काठमाडौँ — मुलुकको प्रुमख प्रशासनिक निकाय सिंहदरबारको ‘पश्चिमी मोहडा’ भत्काउने की सबलीकरण गर्ने भन्ने बहस लम्बिरहँदा भवनको संरचना दिनानुदिन कमजोर बन्दै गएको छ।

तीन वर्षअघि गएको भूकम्पका कारण क्षतिग्रस्त बनेको सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी मोहडामा सबलीकरण (रेट्रोफिटिङ) जारी रहेपनि पश्चिमी मोहडालाई भने अझै अध्ययन/अनुसन्धानकै क्रममा राखिएको छ। युरोपेली शैली–संरचना (नियो–क्लासिकल)मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको सिंहदरबारको पश्चिमी भागमै बेलायती बैठकदेखि स्टेट हलसम्मका विशिष्ट संरचना छन्।

‘सिंहदरबारका तीन मोहडासहितको मुख्य भागमा भने तीन महिनायता रेट्रोफिटिङ जारी छ,’ राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका एक अधिकारीले भने, ‘अब १५ महिनामा सक्नुपर्ने रेट्रोफिटिङको शर्मा न्यू टेक्निकलले ठेक्का पाएको छ, यसमा २४ करोड रुपैयाँ बिनियोजित छ।’

Yamaha

तर पश्चिमी मोहडा जिर्ण र संवेदनशील भएका कारण विषयविदको एउटा टोलीले जारी राखेको अध्ययनपछि मात्रै सवलीकरण गर्नेबारेमा टुंगो लाग्ने भएको छ। यो टोलीमा प्राधिकरणका सहसचिव राजु मानन्धर संयोजक रहेका छन्। टोलीले अब दुई सातामा आफ्नो अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाउँदैछ।

‘यो ऐतिहासिक संरचना जोगाउने पक्षमा र सबलीकरण गर्ने पक्षमा निर्णय आउने अपेक्षा छ,’ प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत शुशिल ज्ञवालीले पश्चिमी मोहडाको स्थलगत भ्रमणपछि भने, ‘टोलीको सुझाव प्रतिवेदन आउनासाथै सबलीकरणको मोडालिटी निर्धारण गरिनेछ।’
अहिले पश्चिम मोहडातर्फ माटो परीक्षणको काम समेत भैरहेको छ। जीएस सोयल एण्ड म्याटरियल इन्जिनियरिङका प्राविधिकले सोमबार मात्रै सिंहदरबार पश्चिमी मोहडाको १६ मिटर मुनिको माटो परीक्षण गरेको थियो। यो तहमा ‘कमजोर माटोको संरचना’ पाइएपछि थप विशिष्ट परीक्षण गरिने भएको छ।
‘सिंहदरबार जोगाउनेबारेमा बहस जारी रहेकै बेला यो संरचना जोगाउन भनेर प्लास्टिक ओतले छोपछाप गर्ने निर्णय भएको थियो,’ अध्ययन टोलीका संयोजक समेत रहेका सहसचिव मानन्धरले भने, ‘पश्चिमी मोहडाको बेलायती बैठक कक्षमाथि भने प्लास्टिक ओतको कुनोमा पानी जमेर पोखरी बनेको अवस्था रहेछ, एकपट्टिको पर्खाल भिजेर संरचना निकै कमजोर बनेको स्थिती छ।’ तर, सबलीकरणको जुनै उपाय लगाएर भएपनि सिंहदरबारको यो ‘सिग्नेचर’ संरचना जोगाउन सकिने अठोट मानन्धरले दोहोर्‍याए।
तस्बिर : अंगद ढकाल

Esewa Pasal

प्रकाशित : भाद्र १८, २०७५ २०:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एम्बुलेन्स चालकलाई जामले सास्ती

शिल्पा कर्ण

काठमाडौँ — केहि दिनअघि आफन्तलाई अचानक बिसञ्चो भएपछि जनकपुरका पवन कर्णले स्थानीय अस्पतालमा पुर्‍याए । तर चिकित्सकले तत्काल सामान्य उपचारपछि काठमाडौं रिफर गरिदिए । बिहान ६ बजे जनकपुरबाट हिँडेका उनी काठमाडौं पुग्दा २ बजिरहेको थियो । सामान्यता अन्य गाडीले पुर्‍याउने समय नै लाग्यो उपत्यका पुग्न । 

‘बनेपादेखि नै एम्बुलेन्सले साइरन बजाउन थालेपनि जामले निकै ढिला भयो,’ उनले भने, ‘दुई ठाउँको ट्राफिक जाममा प्रहरीले सहयोग गर्‍यो । कोटेश्वरमा घन्टाभर जाम पर्‍यो । शनिबार दिउँसो उनका आफन्तलाई अस्पताल पुर्‍याइसक्दा मुत्यु भइसकेको चिकित्सकले घोषणा गरे । जाम नभएको भए ज्यान बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ उनलाई । कति ठाउँमा साइरन बजाइरहेको एम्बुलेन्सलाई समेत अन्य गाडीले ठाउँ नदिएको उनले बताए ।

उमेरले ५० छुन लागेका भरत बहादुर राउतले २५ वर्ष भन्दा बढी भइसक्यो उपत्यकामा एम्बुलेन्स चलाउन थालेको । हाल नर्भिक अस्पताल थापाथलीमा कार्यरत उनले ५ वर्ष अघिको घटना सम्झिए, ‘बानेश्वरमा एक जना सँधैजसो यहि अस्पताल आइरहने वृद्ध थिए । उनकोबाट फोन आएपछि एम्बुलेन्स लिएर गएँ । जामले गर्दा त्यहाँ पुग्नै नपाइ उनले ज्यान गुमाए ।’ साँघुरो बाटो भनेर सानो एम्बुलेन्स लिइर गएका थिए उनी । तर अस्पताल पुर्‍याउन नपाइ मृत्यु भयो ।

यस्ता कयौं घटना उनको सम्झनामा छन् । जहाँ बिरामीलाई ल्याउन जाँदासम्म मृत्यु भइसकेको हुन्छ । कति अवस्थामा त अस्पताल ल्याउँदा बिरामीको ज्यान गइसकेको थाहा हुन्छ । उनको अनुभवमा उनले काम गर्दा २०५० सालतिर सडक निकै फराकिलो महसुस हुन्थ्यो । दशकजति बिरामीलाई अस्पताल ल्याउन उनलाई गाह्रो हुन्न्थ्यो । जिम्मेवारी पुरा गर्न अवरोध आएको उनलाई महसुस भयो २०६० सालपछिका दिनमा ।

‘सडकभरी सवारी नै सवारी देखिन्छन् । एम्बुलेन्स ओझेलमा पर्छ, बाटो पाउनै मुस्किल,’ उनले अनुभव सुनाए, ‘अहिलेका दिनमा ट्राफिक प्रहरीले चाहेर पनि सहयोग गर्न सक्ने अवस्था छैन ।’ साँघुरो ठाउँमा समेत दुईपांग्रेले ओगट्न थालेका छन् अचेल । अहिले निकै छोटो दुरी पनि जामले निकै समयलाग्ने बनाइदिएका छन् ।

उपत्यकामै एम्बुलेन्स चलाउने गर्छन् नवराज तामाङ । उनले एम्बुलेन्स चलाउन थालेको वर्ष दिन पनि पुगेको छैन । प्रसूती गृहमा उनले चलाउने एम्बुलेन्समा गर्भवती महिला, भर्खरै शल्यक्रिया गरिएका सुत्केरी हुन्छन् वा नवजात शिशू । बच्चा रोइरहेको र आफन्त आत्तिरहेका आवाज उनका लागि अब नौला रहेनन् । उनलाई पनि कहिले अस्पताल पुर्‍याइदिउँ हुन्छ, तर जामले धेरै अवस्थामा गाह्रो बनाउँछ । उनलाई कठिन यसकारण पनि छ कि गर्भवती महिला बोकेको एम्बुलेन्सलाई खाल्डाखुल्डीबाट जोगाउँदै चलाउनुपर्ने हुन्छ ।

उनीसँग त्यस्तो चित्त दुखेको अनुभव त छैन । तर एकपल्ट पछाडि बिरामी बोकेर उनी घन्टाभर जाममा परेका थिए । त्यस अवस्थामा न साइनले काम गर्‍यो न बत्तिले नै । केही महिनाअघि राष्ट्रपति विदेश जाने बेलामा उनले चलाएको एम्बुलेन्स नक्सालमा थियो र पछाडि हप्तादिन पुगेका शिशू थिए । शिशूको मुटुमा समस्या देखिएकाले गंगालाल अस्पताल पुर्‍याउनुपर्ने थियो तर जामले ‘समय निस्केपछि’ पो पुगिने हो कि भन्ने डर थियो ।

पछाडि बच्चाकी आमा पनि आत्तिएकी थिइन् । तर उनले जति नै आँसु बगाएपनि जाम खुल्ने संकेत थिएन । ट्राफिक प्रहरीले पनि बसेर हेर्नु सिवाय केही गर्न सक्ने अवस्था थिएन । किनकी विपरित लेनमा पनि उत्तिकै जाम थियो । न एक इञ्च पछाडि घस्किने ठाउँ, न त दायाँबायाँ चल्न सक्थ्यो । अन्तत: एक घन्टापछि जाम खुल्यो र उनले शिशूलाई अस्पताल पुर्‍याए । बच्चा स्वस्थ भए वा भएनन् उनलाई थाहा छैन । तर आफ्नो दायित्व पुरा गरेकोले उनी सन्तुष्ट थिए ।

तामाङ यसअघि अन्य भाडाका सवारी चलाउँथे । के फरक रहेछ अन्य गाडी र एम्बुलेन्स चलाउनुमा ? उनको जवाफ छ, ‘मन बढी आत्तिने रहेछ, गाडी बेस्सरी कुदाउनुपर्ने हुन्छ । जसरी भएपनि अस्पताल पुर्‍याएर ज्यान जोगाइदिन पाए हुन्थ्यो भन्ने हुन्छ ।’ एम्बुलेन्सले जाममा अन्य गाडी जस्तो बस्नु नपर्ने हुनाले उनलाई राम्रो लाग्छ । साथसाथै कसैको ज्यान जोगाउनुपर्ने दायित्व पनि चालककै काँधमा हुन्छ ।

जामले निकै सास्ती दिन्छ उनलाई पनि । उपत्यकामा ट्याक्सीले समयमै साइड दिन्छ भने अन्य निजी गाडीले नदिने गरेको उनको अनुभव छ । सडकको अवस्थाले पनि गाह्रो बनाउँछ । ‘भर्खरै अपरेशन गरेका सुत्केरी, बच्चा पाउने समय भएका महिलाहरूलाई सडकमा नउफार्ने गरी चलाउनुपर्ने हुन्छ,’ तामाङले भने । उपत्यकाको त्रिपुरेश्वर–कलंकी, भक्तपुर–कोटेश्वर आउँदा निकै जाम हुने गरेको एम्बुलेन्स चालकको अनुभव छ ।

एम्बुलेन्समा बिरामी भएको अवस्थामा मात्र होइन चालकले बिरामी लिन जाने बेला पनि उत्तिकै आत्तिएका हुन्छन् । तर यस अवस्थामा ट्राफिक प्रहरीले नपत्याइदिने गरेको उनीहरू गुनासो गर्छन् । ‘बिरामी लिन जाँदा पनि हामीलाई उत्तिकै हतार हुन्छ । तर एम्बुलेन्स रित्तै भएको अवस्थामा ट्राफिक प्रहरीले ध्यान दिँदैन, तामाङले भने, ‘जति चाँडो पुग्यो त्यति नै बिरामीलाई बचाउन सकिने सम्भावना हुन्छ ।’

यस्तै कठिनाइ सुनाउँछन् अर्का चालक राउत पनि । खाली एम्बुलेन्सले साइरन बजाउन नपाउने नियम भएपनि जामका कारण बाध्य बनेर बजाउने गरेको उनी स्वीकार्छन् । ‘बिरामी लिन जानुपर्ने हुन्छ, साइड नै दिँदैनन् । बिरामीलाई गाह्रो नहोस् भनेर लगातार साइन बजाउन चाहन्न, तर लाइट बाल्दा कसैले ध्यान नै दिँदैनन्,’ उनले भने ।

उपत्यकामा जामको समस्या यति धेरै भएपनि व्यवस्थापनतर्फ राज्यले खासै चासो दिन नसकेको आरोप छ राउतको । दुई दशकभन्दा बढी एम्बुलेन्स चलाएका उनी हृदयघात, रक्तचाप जस्ता नसर्ने रोगको जोखिम बढै गएकोले सुविधा सम्पन्न एम्बुलेन्सको आवश्यकता झनै बढेको बताउँछन् । पहिले चालकले एम्बुलेन्समा बिरामी लिएर आउँथे भने, अहिले तत्काल आवश्यक उपचारका लागि भनेर पछाडि एक जना चिकित्सक सहित अस्पतालले पठाउँछ । ‘तर जति नै सुविधा भएपनि एम्बुलेन्स डक्टरजस्तो हुन्न । सकभर छिटो अस्पताल पुर्‍याए बाँच्न सक्ने सम्भावना हुन्छ,’ राउतले भने ।

यसको उपायबारे राज्य गम्भीर नभए अझ खराब अवस्था आउन सक्ने उनी औंल्याउँछन् । उनको विचारमा एम्बुलेन्स, दमकल जस्ता आकस्मीक सवारी साधनका लागि छुट्टै लेन बनाउनुपर्छ । यसका साथै उपत्यकामा गाडीको संख्या नियन्त्रण गर्न सक्नुपर्छ । अन्य गाडी चालकलाई पनि सचेत बनाउन सक्नुपर्ने उनी धारणा राख्छन् ।

पूर्व एसपी जगतमान श्रेष्ठ राउतका कुरामा सहि थप्छन् । ‘विकसीत मुलुकमा आकस्मीक साधनका लागि बेग्लै लेन हुन्छ । हाम्रोमा छोड्न चाहे पनि सडकमा छोड्न सकिन्न,’ श्रेष्ठले भने । जथाभावी साइरन र बत्ति बाँडेर पनि यसको महत्व घटेको र दुरुपयोग बढेको उनको ठहर छ । फोहोरको गाडी, प्रमुख जिल्ला अधिकारी लगायतका प्रहरी प्रशासनलाई जथाभावी रातो बत्ती र साइरन दिएकाले पनि मान्छेले वास्ता गर्न छोडेको उनको बुझाइ छ । एम्बुलेन्स भन्दा बढी महत्व भिआइपि र भिभिआइपी सवारीलाई दिँदा परेको मर्काबारे राज्य आँखा चिम्लिएको उनी बताउँछन् ।

प्रकाशित : भाद्र १८, २०७५ २०:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT