दुई छिमेकी सन्तुलन मिलाउन भारत चीनको भ्रमण : दाहाल

गंगा बीसी

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक साताको अवधिमा भारत र चीनको भ्रमण गर्ने जानकारी दिएका छन् । उनले दुई देशबीच सन्तुलन मिलाउन भ्रमण हुन लागेको जानकारी दिए ।

आफ्नो निवास ललितपुरको खुमलटारमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले भारतको भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग छलफल गर्ने जानकारी दिए।

Yamaha

‘म इन्डिया र चाईना जान्छु। भारत पर्सी जान्छु,’ उनले भने, ‘भारतबाट फर्केको छ दिनपछि चाईना जान्छु। भ्रमणका क्रममा नेपालको हित हुने गरी भारत र चीनसँग गंभीर ढंगले कुरा गर्नुपर्छ। दुवै देशको नेतृत्वले मलाई आइदिए हुन्थ्यो भनेकाले जान लागेको हो।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन गएकाले भ्रमण सफल भएको र आफू त्यसमा थप योगदान गर्न त्यता जान लागेको बताए। ‘पार्टीमा दुई अध्यक्ष भएको हुनाले अर्को अध्यक्ष (आफू) को पनि भ्रमण भइदिए हुन्थ्यो भनेर चाहना राखिएको हो,’ उनले आफूलाई बोलाइएकोले दुई छिमेक भ्रमण गर्न लागेको बताए। ‘देशको विकास आयोजना सम्बन्धित भएर छलफल गर्नु उचित हुन्छ भनेर जान लागेको हो,’ उनले भने।

दाहालले काम नगर्ने सरकारका मन्त्री विरुद्ध कडा कदम चाल्न प्रधानमन्त्री र आफूबीच छलफल भइरहेको जानकारी दिए। ‘सरकारको काम कारवाहीबारे दुई अध्यक्षबीच समीक्षा सुरु भएको छ,’ उनले भने, ‘कुन विधि लैजाने भन्नेबारे र जरुरी परे सरकार र मन्त्रीको सम्बन्धमा कडा कदम चाल्नु पर्छ भन्ने तहसम्म छलफल भएका छन्।’

उनले पूर्व एमाले र माओवादीबाट मन्त्री भएका व्यक्तिभन्दा कामका आधारमा मूल्यांकन भइरहेको बताए।

‘एउटा पक्ष र अर्को पक्षको मन्त्री भनेर अहिले सोचिएको छैन। जो–जो छन्, जनतामा पर्न थालेको निराशाको अवस्थालाई हेर्दा जोसुकै होस् कदम चाल्नुपर्छ भन्नेतिर सोचाइ र छलफल केन्द्रित छ।’

उनले काम नगर्ने मन्त्रीलाई कस्तो कारबाही गर्ने भन्नेबारे भने स्पष्ट पारेनन्।

प्रकाशित : भाद्र १९, २०७५ २०:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कालीमाटी तरकारी बजारका ६ वटा स्टलको सम्झौता खारेज 

राजु चौधरी

काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूचीमा राखेका ९८ मध्ये ६ वटा स्टलको सम्झौता खारेज गरेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार ।

आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई भाडामा दिएको गुनासो आएपछि ती स्टलको अध्ययनपछि समितिले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो।

स्पष्टिकरण सोधिएका मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि समितिको मंगलबार बसेको बैठकले असोज १ गतदेखि लागू हुनेगरी सम्झौता खारेज गरेको कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए।

सम्झौता खारेज गरिएका स्टलमा मोहम्मद जुमैद, इस्राफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र विष्णुकुमार बस्नेतको रहेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिए।

स्पष्टिकरणको जवाफ पठाउने स्टलको हकमा समितिले थप अध्ययनका लागि भदौ २३ गतेभित्रमा प्रतिवेदन बुझाउने गरी एउटा उपसमिति गठन गरेको छ।

भदौ २४ गते बस्ने सञ्चालक समितिको अर्को बैठकले उपसमितिको प्रतिवेदनको आधारमा अन्य स्टलसँग गरिएका सम्झौताहरु खारेज गरिने कार्यकारी निर्देशक पौडेलले बताए।

प्रकाशित : भाद्र १९, २०७५ २०:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT