दुई छिमेकी सन्तुलन मिलाउन भारत चीनको भ्रमण : दाहाल

गंगा बीसी

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक साताको अवधिमा भारत र चीनको भ्रमण गर्ने जानकारी दिएका छन् । उनले दुई देशबीच सन्तुलन मिलाउन भ्रमण हुन लागेको जानकारी दिए ।

दुई छिमेकी सन्तुलन मिलाउन भारत चीनको भ्रमण : दाहाल

आफ्नो निवास ललितपुरको खुमलटारमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले भारतको भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग छलफल गर्ने जानकारी दिए ।

‘म इन्डिया र चाईना जान्छु । भारत पर्सी जान्छु,’ उनले भने, ‘भारतबाट फर्केको छ दिनपछि चाईना जान्छु । भ्रमणका क्रममा नेपालको हित हुने गरी भारत र चीनसँग गंभीर ढंगले कुरा गर्नुपर्छ । दुवै देशको नेतृत्वले मलाई आइदिए हुन्थ्यो भनेकाले जान लागेको हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन गएकाले भ्रमण सफल भएको र आफू त्यसमा थप योगदान गर्न त्यता जान लागेको बताए । ‘पार्टीमा दुई अध्यक्ष भएको हुनाले अर्को अध्यक्ष (आफू) को पनि भ्रमण भइदिए हुन्थ्यो भनेर चाहना राखिएको हो,’ उनले आफूलाई बोलाइएकोले दुई छिमेक भ्रमण गर्न लागेको बताए । ‘देशको विकास आयोजना सम्बन्धित भएर छलफल गर्नु उचित हुन्छ भनेर जान लागेको हो,’ उनले भने ।

दाहालले काम नगर्ने सरकारका मन्त्री विरुद्ध कडा कदम चाल्न प्रधानमन्त्री र आफूबीच छलफल भइरहेको जानकारी दिए । ‘सरकारको काम कारवाहीबारे दुई अध्यक्षबीच समीक्षा सुरु भएको छ,’ उनले भने, ‘कुन विधि लैजाने भन्नेबारे र जरुरी परे सरकार र मन्त्रीको सम्बन्धमा कडा कदम चाल्नु पर्छ भन्ने तहसम्म छलफल भएका छन् ।’


उनले पूर्व एमाले र माओवादीबाट मन्त्री भएका व्यक्तिभन्दा कामका आधारमा मूल्यांकन भइरहेको बताए ।

‘एउटा पक्ष र अर्को पक्षको मन्त्री भनेर अहिले सोचिएको छैन । जो–जो छन्, जनतामा पर्न थालेको निराशाको अवस्थालाई हेर्दा जोसुकै होस् कदम चाल्नुपर्छ भन्नेतिर सोचाइ र छलफल केन्द्रित छ ।’

उनले काम नगर्ने मन्त्रीलाई कस्तो कारबाही गर्ने भन्नेबारे भने स्पष्ट पारेनन् ।


प्रकाशित : भाद्र १९, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?