न्याय माग्दा गोली

विद्या राई

काठमाडौँ — कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग गर्दै आन्दोलनमा सहभागी १६ वर्षीय उमेश देउवा प्रहरीको गोली लागेर घाइते भएका थिए । तीन हप्तादेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन् । उनको देब्रेपट्टिको हात खुट्टामा समस्या छ ।

यसैगरी आन्दोलनकै क्रममा घाइते भएका २० वर्षीय अर्जुन भण्डारा अझै बेहोस छन्। शिक्षण अस्पतालमा उपचाररत उनको एउटा खुट्टा काटिएको छ। आन्दोलनमा सन्नी खुनाले ज्यान गुमाएका थिए। एक दर्जन बढी घाइते थिए। त्यसमध्ये देउवा र भण्डरा गम्भीर घाइते छन्। थप जानकारीका लागि भिडियाेमा हेर्नुहाेस्।

प्रकाशित : भाद्र २९, २०७५ १६:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अवैध मेडिकलमा उपचारको क्रममा महिलाको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — छेडागाड नगरपालिका–५, थलहबजारस्थित मेडिकलमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ । थलह बजारको जयलक्ष्मी मेडिको फर्ममा छेडागाड–१०, नल्फुकी ३८ वर्षीया पन्चकलानाथ योगीको सामान्य ज्वरोको उपचारका क्रममा मृत्यु भएको हो ।

मेडिकल संचालक तिलक बोहराको लापरवाहीले ज्यान गएको आफन्तको आरोप छ ।

योगीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले मेडिकल संचालक बोहरालाई कारवाही तथा क्षतिपूर्तिको माग गर्दै प्रर्दशन गरेका छन् । घटनापछि प्रहरीले सल्यान घर भइ थलहबजारमा मेडिकल सञ्चालन गर्दै आएका बोहोरालाई शुक्रबार नै पक्राउ गरेको छ । उपचारमा लापरवाही गरेर आमाको ज्यान गएको छोरा किशोरले दाबी गरे ।

‘आमालाई ज्वरो आएको र सामान्य छाती दुख्ने समस्या भएपछि बिहीबार थलबजारको उक्त मेडिकल ल्याएका थियौं । मेडिकल संचालक बोहराले जाँच गरेपछि ३ वटा सुई लगाईदिए, औषधि खान दिए । अब घरमा लैजानुहोस्, ठिक भैहाल्छ भनेर भनेपछि घर लैजाने क्रममा बाटोमै आमाको मृत्यु भयो,’ उनले भने, ‘गलत सुई तथा औषधिको प्रयोगले आमाको ज्यान गयो । बिरामीको निको होला भनेर पो नजिकको मेडिकलमा ल्याएको हो । तर गलत औषधि दिएर ज्यानै लिने काम भयो,’ किशोरले भने ।

उनले आमाको ज्यान जाने गरेर उपचारमा लापरवाही गर्ने मेडिकल संचालक बोहोरालाई कानुनी कारबाहीका साथै उचित क्षतिपूर्तिको माग समेत गरेका छन् ।

पाँच बर्ष अघि पतिको मृत्यु भई एकल जीवन बिताइरहेकी योगीका २ छोरा र एक छोरी छन् ।

मृतकको शव पोष्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । घटनाबारे अनुसन्धान थालिएको उनले बताए । सुर्खेतस्थित जयलक्ष्मी मेडिको फर्मको नामबाट बोहराले थलहबजार मेडिकल संचालन गर्दै आएका थिए ।

मेडिकल संचालनका लागि फार्मेसी पढेर औषधि व्यवस्थापन विभागबाट प्रमाणपत्र लिनुपर्ने प्रावधान छ, तर उनले अर्काको फर्मबाट २१ वर्ष अघिदेखी अवैध रुपमा मेडिकल संचालन गर्दै आएका थिए ।

मेडिकल संचालक बोहरालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विष्टको भनाई छ । गत वर्ष स्थानीय प्रशासनले अनुगमन गर्दा बोहोराले अवैध रुपमा मेडिकल सञ्चालन गरेको पाइएको थियो । बोहोराले प्रशासनसँग मेडिकल नचलाउने र बन्द गर्ने लिखित कागज समेत गरेका थिए । जाजरकोटका दुर्गम गाउँहरुमा बोहोराका जस्तै अवैध मेडिकलको बिगबिगी रहेको छ ।

प्रकाशित : भाद्र २९, २०७५ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT