सरायमा झुमे सयौं

माधव अर्याल

पाल्पा — गाउँका सबै जातजातिका मानिस भेला भए । स्थानीयको सहभागितामा घरबाट सराय निकालियो । टीका र जमराका टपरी बोकेकाको लस्कर बाजागाजासहित डाँडातिर लम्कियो ।

सरायमा झुमे सयौं

बोखरडाँडा मन्दिरमा धुमधाम पूजा भयो र पुजारीले ब्राह्मण, क्षत्री, मगर, दलित सबैलाई टीका/जमरा लगाइदिए । विभिन्न जाति र समुदायबीचको एकता र सद्भाव बढाउने पाल्पाको चर्चित पर्व ‘दमिनी सराया’ मेलामा सोमबार सयौं स्थानीय झुमे ।


रैनादेवी छहरा गाउँपालिका–४ मा लाग्ने यो मेला कोजाग्रत पूर्णिमापछिको पञ्चमी तिथिका दिन मनाइन्छ । ‘दमिनी’ को घरबाट सराय निकालिने यो मेलामा पुजारी पनि त्यही समुदायका हुन्छन् । जमरा पनि उनीहरूकै घरमा राखिन्छ तर बाहुन–क्षत्रीलगायत सबै जातजाति उल्लाससाथ सहभागी हुन्छन् र टीका/जमरा ग्रहण गर्छन् । ‘जातीय एकता र सद्भाव देख्न पाइने मेला हो यो,’ स्थानीय निर्मल श्रेष्ठले भने, ‘त्यसैले त सांस्कृतिक रूपमा हामी निकै धनी छौं ।’


स्थानीयका अनुसार गाउँमा एक ‘लमिनी’ बस्थिन् । बल्ढेङगढी (रैनादेवी छहरा ७) मा छाडिएको पाडो भागेर यहाँ आएको थियो । बोखरडाँडामा रहेकी फुस्री दमिनीको घरमा आएर उसले उपद्रो गर्न थाल्यो । एक्कासि लमिनी हल्लिएपछि पूजाआजा गर्दा पाडो र लमिनी शान्त भए । त्यसपछि हरेक वर्ष सराय नाच्ने चलन थालिएको स्थानीय विनबहादुर नेपालीले बताए । उनका अनुसार ‘लमिनी’ भन्दै पछि ‘दमिनी सराय’ भन्न थालिएको हो ।


स्थानीय भुवन रायमाझीले ‘दमै जातिले निकाल्ने भएकाले दमिनी सराय भनिएको’ बताए । मेलामा बोखरडाँडा मन्दिरमा विशेष पूजा हुन्छ । बत्ती बालेर हल्लिँदै नाच्ने चलन छ । छहराका वडाध्यक्ष विष्णु पोखरेलले आगामी वर्षदेखि यो मेलालाई महोत्सवका रूपमा मनाउने योजना रहेको बताए ।


प्रकाशित : कार्तिक १२, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?