कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पौरखी हातहरु

विमल खतिवडा

काठमाडौँ — भक्तपुर नगरपालिका ५ स्थित तौमडीकी ३७ वर्षीया राधा मताङ्गी कृषी पेशामा रमाउन पाउँदा दंग छिन् । अहिले उनलाई फूल टिप्न र बिक्री गर्न भ्याई नभ्याई छ । सुरुमा बनेपाको उग्रचण्डीमा ४ रोपनी जग्गा भाडामा लिई फूल खेती सुरु गरेकी थिइन् ।

पौरखी हातहरु

आउजाउ गर्न टाढा भयो । घर आसपास जग्गा खोज्न निकै मेहनत गरिन् । कतै प्लटिङले त कतै धमाधम निर्माण भईरहेका घरले खेतीयोग्य जमिन मासिएको देख्दा निराश भईन् । लामो प्रयास पश्चात भक्तपुरकै बागेश्वरी डाँडागाउँमा २२ रोपनी जग्गा फेला पारिन् । १० वर्षका लागि भाडामा लिएर फूल र तरकारी लगाउन थालिन् । २ वर्ष भयो, फार्म खाली छैन ।


उच्च प्रविधिको ग्रीन हाउस भित्र १२ रंगका जरबेरा ढकमक्क फुलेका छन् । कतै राताम्य त कतै सेतै, पहेंलै छन् । फुल टिप्न आफैं खटिन्छिन् । पेशामा श्रीमान् युसवले साथ दिएका छन् । फुल मात्र होइन । उनले आम्दानीकै लागि भनेर गोलभेंडा, काउली, मुलालगाउन ड्याङ बनाएकी छन् । अबको योजना कार्नेसन र गुलाफ लगाउने छ । तर उनको एउटा गुनासो छ । सरकारबाट केही सहयोग पाउन सकेकी छैनन् । मलमा अनुदान छैन । थोपा सिंचाईकालागि सहयोग छैन ।


त्यसो त भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीका २८ वर्षीय सुवास थापाले विदेश जान पासपोर्ट बनाई सकेका थिए । साथीभाईले विदेशमा दु:ख पाईन्छ । आफ्नै देशमा परिवारसंग बसेर जीविका चलाउन सकिन्छ भन्दैं संझाए । उनलाई रहरले विदेश जानु थिएन । बाध्यताले कतारलाई रोजगारीको गन्तब्य बनाउन लागेका थिए । तर साथीभाईको सुझावले ध्यान खिच्यो । के गर्ने भन्नेबारे निकै सोचे । गाउँमा नभित्रिएको ब्यवसाय पोल्ट्रीलाई देखे । त्यसका लागि न जग्गाको समस्या न भाडा नै तिर्नु पर्ने । मकै कोदो फल्ने बारीमा कुखुरा राख्न खोर ठड्याए । करेसामा कुखुरा पालेको ८ वर्ष भयो । ३ वटा खोरमा ब्रोईलर कुखुरा छन् ।

कृषि विकास बैंकबाट १८ लाख सहुलीय कर्जा लिएर कुखुरा बोक्न जीप किने । कुखुरा बिक्री गरेर सबै ऋण चुक्ता गरेको उनले सुनाए । अहिले सिको गर्दै गाउँमा पोल्ट्री ब्यवसाय सुरु गर्ने युवा जमात बढ्दो छ । दाना बोक्नेदेखि लिएर कुखुरा बिक्री गर्नसम्म गाडी लिएर आफैं हिंड्छन् । बजारको समस्या छैन । आम्दानीको मुख्य स्रोत यही हो ।


मलेसियामा २ वर्ष विताएर फर्किएका दोलखा शैलुङ गाउँपालिका ३, मागापौवाका २७ वर्षीय विजेश श्रेष्ठले राम्रै अनुभव संगाले । अहिले विदेशको दु:ख विर्सिएर उनी तरकारी खेतीमा रमाएका छन् । खेतीमा हात हालेको ३ वर्ष भयो । कलंकीबाट ३ किलोमिटरको दुरीमा रहेको पुरानो नैकापमा २५ रोपनी र दहचोकमा ५ रोपनी जग्गा भाडामा लिएका छन् । जग्गाको मात्र वार्षिक चार लाख भाडा बुझाउँछन् । हरेक वर्ष १० प्रतिशतले जग्गा भाडा बढ्ने गरेको उनले सुनाए । अहिले फार्ममा फूल कोभी, मुला, साग, ब्रो काउली बिक्रिका लागि तयार छ ।

अघिपछि टमटर, फर्सी, बोडी, सिमी, घिरौला लगाउँछन् । तरकारीमा ४० लाख रुपैयाँ लगानी गरेका छन् । टनेल बनाएर तरकारी लगाएका छन् । मुख्य बजार कालिमाटी हो । स्थानीय बजारमा पनि राम्रो माग छ । उनको मेहनत देखेर ठूलो बुवाका छोरा रामभक्त श्रेष्ठले साथ दिएका छन् । रामभक्त रोजगारीको शिलशिलामा मलेसिया र दुवई पुगेर फर्केका हुन् । विदेशबाट फर्किएर तरकारी खेतीमा जोडिएको एक वर्ष भयो । दुबै दाजुभाई विहानैबाट राती अबेरसम्म तरकारीको गोडमेलदेखि फसललाई बजार पुर्‍याउनमा ब्यस्त बन्ने गर्छन् ।


गोरखा नगरपालिका ४ स्थित फिनामका ३८ वर्षीय अखिल बयालकोटी भने आम सर्बसाधरणलाई नौलो स्वाद दिलाउन तल्लिन छन् । थापाथली इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रो मेकानिकल इन्जिनियर पढेका उनी अहिले फलफुलको रेखदेमा ब्यस्त छन् । चन्द्रागिरि नगरपालिका ४ स्थित पानीघाटमा १० रोपनी जग्गा भाडामा लिएका छन् । जुन करिब १ हजार ८ सय मिटर उचाईमा छ । उनको फार्म एविसी एग्री कल्चर एण्ड रिसर्च सेन्टरमा लटरम्म किवी फलेको छ । पहेंलपुर भएर जापानिज् हलुवावेद पाकेको छ । किवि ३ रोपनी र हलुवावेद चार रोपनीमा लगाएका छन् । अन्य जग्गामा कागती र तरकारी लगाएका छन् । किवी र हलुवावेद लगाएको ४ वर्ष भयो । किवी ५ सय र हलुवादेव २ सय रुपैंया किलोमा बिक्री गर्छन् । उनलाई खेतीमा श्रीमती पिंकीले साथ दिन्छिन् । तीन लाखबाट सुरु गरेको उनले लगानी ३० लाख पुर्‍याई सके । अबको भविष्य कृषिमा रहेकाले यही क्षेत्रमा लागेको उनी सुनाउँछन् ।


प्रकाशित : मंसिर १७, २०७५ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?