२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नगरका घरपेटी भत्काइयो 

प्रतिक्षा काफ्ले

स्याङजा — नगरपालिका अन्तर्गतका भित्री सडकहरु फराकिलो बनाउन थालिएको छ । सोमबारदेखि जिल्ला सदरमुकाम अन्तर्गतका भित्री सडकहरु भत्काउन सुरु गरिएको हो । 

नगरका घरपेटी भत्काइयो 

नगरभित्रका १३ सय मिटरभित्री सडकखण्डमा रहेका घर, भवन, चौतारा, सरकारी कार्यालय लगायतका पेटी भत्काउन थालिएको पुतलीबजार नगर कार्यपालिकाले जनाएको छ ।

सदरमुकाममा रहेको सहिद चोकबाट बैंकरोड हुँदै जिल्ला प्रशासन, टुँडिखेल, जिल्ला अदालत हुँदै ठाडो लाइन, कारागारदेखि आँधीखोलासम्म र अभियानपथ, विष्णुपधेरा हुँदै खेलमैदान मालेबगरसम्म सडक फराकिलो बनाउने र पिच गर्ने योजना रहेको पुतलीबजार १का वडाध्यक्ष निर्मलकुमार शेरचनले बताए ।

उनका अनुसार सडक मापदण्ड विपरीत बनाइएका घर तथा भवनका कारण सडक साँघुरिदै गएकाले भत्काउन थालिएको हो । ‘सडक साह्रै साँघुरो भएको छ’ उनले भने, ‘विगतदेखि सडक चक्लाउने योजना थियो तर, आँटन सकिएको थिएन । लामो समयदेखिको प्रयास बल्ल सफल भयो ।’


उनले सहरी विकास मन्त्रालय अन्तर्गत गतवर्ष नै टेण्डर निकालेर काम अगाडी बढाइएको बताए ।

नगरपालिकाले केही वर्षपहिले नगरभित्र पर्ने प्रगतिनगर बजारतर्फका भित्री सडक भत्काएको थियो । तर, सदरमुकामका सडकतर्फ ध्यान दिएन । साविकका विकासे अड्डाको अगाडीका सडकमा नै खाल्डाखुल्डी हुन्थे ।


नगरपालिकाले आर्थिक वर्षको अन्त्य र चाडपर्वको अवसर पारी सडक टाल्ने र कालोपत्रे गरेता पनि महिना दिन नटिक्ने गरेको स्थानीय बताउँछन् ।

सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास कार्यालय पोखराले सडक निर्माणको प्रत्यक्ष रेखदेख गर्ने शेरचनले बताए । सडक मर्मतको लागि मन्त्रालयले ६ करोड रुपैयाँ टेण्डर गरेको हो ।


यसको निर्माण कार्यको जिम्मा गजेन्द्र निर्माण सेवाले लिएको हो । सोमबारदेखि भत्काउन सुरु गरिएको सडक बालमन्दिर चोकदेखि भीमसेन चोकसम्म भत्काइएको वडाध्यक्ष शेरचन बताउँछन् ।

सडक निर्माणको कार्य एक वर्षभित्र सक्नुपर्ने सम्झौता रहेको नगरप्रमुख सीमा क्षेत्रीले बताइन् । सडक निर्माणसँगै नाली, फुटपाथ, ढल निर्माण हुने उनले बताइन । शहिद चोकदेखि बैंकरोड र जिल्ला प्रशासन कार्यालय आउने सडक नालीबाहेक ७ मिटरको कायम हुने वडाध्यक्ष शेरचन बताउँछन् ।


उनका अनुसार ठाडोलाइन, अदालत, कारागार चोकहुदै आँधीखोलासम्म जोड्ने सडक नालासहति ६ मिटर कायम रहने छ भने, अभियानपथ हुदै कांग्रेस पार्टी कार्यालयसम्म पुग्ने सडक ५ मिटर कायम रहने छ ।

त्यस्तैगरी विष्णुपँधेरादेखी मालेबगर जाने बाटो पनि यही रकमबाट पिच गरिने उनले बताए । ‘सडकमा ६७ वटा सोलार बत्ति राखिने छ’ उनले दोहोर्‍याए, ‘एकपटक बनाइएका भित्री सडकहरु बारम्बार बनाइदैन । राजमार्ग आसपासका घरपेटी भत्काइने भएता पनि भित्री सडकमा रहेका घरपेटी बारम्बार भत्काइदैन । यसकारण टिकाउ हुनेगरी राम्रोसँग मर्मत गर्ने योजना छ ।’

स्थानीयबासी र नगरपालिकाको विवादका कारण सडक विस्तारको काम रोकिएको थियो । नगरपालिकाले पहिले नै भित्री सडकखण्ड विस्तार गर्ने योजना बनाएपनि स्थानीयले घर भत्किने डरले डोजर लगाउन दिएका थिएनन् ।


अहिले सडक विस्तारको लागी स्थानीयबासीको समेत सहयोग छ । सडक विस्तारको लागि नगर कार्यपालिकाको आर्थिक सहयोग भने रहेको छैन । सडकको कुल बजेट नै मन्त्रालयको रहेको नगर कार्यपालिकाले बताएको छ ।

प्रकाशित : मंसिर २६, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?