कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास र समृद्धिमा अबको दशक बिताउन जरुरी : दाहाल (भिडियो)

माधव अर्याल

पाल्पा — नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अब राजनीतिक दलहरु समृद्धिको योजनामा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले यो वा त्यो भन्दा पनि सबै राजनैतिक दलहरु समृद्धिको योजनामा अघि बढ्न सुझाव दिए। 

विकास र समृद्धिमा अबको दशक बिताउन जरुरी : दाहाल (भिडियो)

जिल्लाको रामपुर नगरपालिकास्थित रामतुल्सी माविको स्वर्ण महोत्सवमा आइतबार बोल्दै दाहालले आफ्नो पार्टी र सरकार समृद्धिको यात्रा साकार पार्न समर्पित भएको बताए । ‘अब विगतमा गरेका कामको समीक्षा गरी विकास निर्माणलाई तीव्रता दिनपर्ने बेला आएको छ,’ उनले भने, ‘अहिलेको पुस्ताले आफूलाई निकै गौरवशाली मान्नुपर्छ ।’ उनले ठूलाठूला परिवर्तन पटकपटक नआउने र एकपटक आएको परिवर्तनको अहिलेका पुस्ता साक्षी भएको बताए । मुलुकमा भएको शान्ति सम्झौता र शान्ति प्रक्रियाको साक्षी अहिलेको पुस्ता भएको उनले बताए ।


राजनैतिक शक्तिहरुले अबको एक दशक विकास र समृद्धिमा बिताउन जरुरी रहेको उनले बताए । हरेक एक दशकमा मुलुकमा ठूला परिवर्तन हुने गरेको बताउँदै उनले राजनैतिक दलहरुले अबको दशकलाई विकास र समृद्धिको रुपमा लिएर काम अघि बढाएको बताए । ‘परिवर्तनका लागि भएको एक दशकको युद्ध शान्तिमा रुपान्तरित भयो,’ उनले भने, ‘पछिल्लो एक दशक शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याई संविधान निर्माण गर्दै निर्वाचनमार्फत स्थिर लोकतान्त्रिक प्रणाली स्थापित गर्न वित्यो ।’ उनले अबको एक दशक विकासमा र समृद्धिमा बिताउने राजनैतिक शक्तिहरुले संकल्प रहेको बताए ।


उनले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भ एपनि उपयुक्त ढाँचाका कारण रोकिएकोले पुल पुन:निर्माणका लागि तीव्रता दिने बताए । उनले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताए । उनले पहिलोपटक रामपुर आएको बताउँदै आउन चाहेर पनि आफ्नो चाहना पूरा नभएको सुनाए । कालीगण्डकी बेंसी क्षेत्रमा रोकिएका योजना सम्पन्न गर्नमा ध्यान पुग्ने उनले बताए । रामतुलसी माविलाई चितवन रामपुरको आंगिक क्याम्पसको रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।


पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले राष्ट्रिय गौरवका अयोजनाहरुका लागि अर्बौंको बजेट विनियोजन भएको बताए । यस क्षेत्रका योजनाहरु सपनामा नभई जीवनको यथार्थको रुपमा विकसित गर्न आफ्नो निरन्तर साथ रहने उनले आश्वासन दिए । कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले कालोपत्रेका लागि आफ्नो जोड रहने सुनाए ।


रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले समग्र रामपुर क्षेत्रको विकास र यहाँका आवश्यकताबारे अध्यक्ष दाहाल र महासचिव पौडेललाई जानकारी गराए । रामतुल्सी माविमा उच्च शिक्षातर्फ व्यवस्थापन, विज्ञान तथा तीनवर्षे कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेको छ ।

प्रकाशित : पुस १, २०७५ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?