कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गन्तव्य लामो झरना

विमल खतिवडा

काठमाडौँ — चितवनको मुग्लिन बजारबाट नारायणगढतर्फ लागेपछि ७ किमी दुरी छिचोल्न साथ पुग्ने ठाउँ हो जलबीरे । अधिकांशले यो ठाउँलाई गन्तव्य बनाउन बिर्सदैनन् । गर्मी होस् वा जाडो ।

गन्तव्य लामो झरना

जुनसुकै समयमा पनि प्राय सबैको गन्तव्य बन्ने ठाउँ हो जलबीरेकै लामो झरना । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने जलबीरेबाट करिब आधा घण्टा उकालो पैदल हिँडेपछि पुगिन्छ झरना ।


झरना नजिकै मोटरबाटो पुगेको छ । तर सडक कच्ची छ । जिप, मोटरसाइकल सहज रूपमा पुग्छ । ठुला बस र निजी सवारी साधन लिएर आउनेहरू सडक छेउमा पार्किङ गरी पैदल झरनातर्फ लाग्छन् । सडकबाट झरना देखिँदैन ।


झरनाको बारेमा लेखिएका जानकारीमूलक सूचना बोर्ड प्रवेशद्धारमै राखिएको छ । त्यसो त युट्युबमा चितवनको जलबीरे झरना भन्दै सर्च गर्ने हो भने प्रशस्त लोभलाग्दा भिडियो फेला पर्छन् । झरना अलौकिक छ । कहिल्यै सुक्दैन । निरन्तर झरी रहन्छ । १ सय २ मिटर लामो झरनामा जो पुग्छ । घण्टौँ भुल्छ । थकान मेटिएको अनुभूति गर्छ ।


गर्मी मौसममा अघिपछि भन्दा बढी भिड हुन्छ । झरना नजिकै पुग्दा शरीर भिज्छ । मातिबाट झर्ने पानीको छिटा ठाढाटाढा सम्म पुग्छ । गर्मीमा रमाउन आउनेको कमी हुँदैन । अहिले चिसो मौसम भए पनि पानीमा भिजी रहेको, भिडियो र फोटो खिची रहेका दृश्य नौला लाग्दैनन् । कलेज र विद्यालयको शैक्षिक भ्रमणको गन्तव्य प्राय यही झरना बन्ने गरेको छ ।


लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङ झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको बताउँछन् । मङ्सिर अन्तिम सम्म क्यानोनिङको समय हो । त्रिशूलीमा र्‍याफ्टीङ गर्न आउने पर्यटकले यहाँ आएर क्यानोनिङ गर्न बिर्सदैनन् ।


क्यानोनिङ सुरु भएपछि झरनाको प्रचार राम्रो भएको इच्छाकामना गाउँपालिका ६ का वडा अध्यक्ष भूपेन्द्र चेपाङ बताउँछन् । ०६७ सालपछि झरनामा आउनेको भिड बढ्दै गयो । बासको भने समस्या छ । झरनामा रमाएर बास बस्न मुग्लिन पुग्नु पर्छ ।

प्रकाशित : पुस १०, २०७५ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?