तंग्रिँदै मिरा

विद्या राई

काठमाडौँ — अल्ट्रा धाविका मिरा राई दोस्रो पटक घुँडाको रिकभरीपछि हालै नेपाल फर्केकी छन् ।उनी फ्रान्सको टप रिकभरी सेन्टरमा दुई महिनादेखि स्वास्थ्यलाभ गराइरहेकी थिइन् ।

तंग्रिँदै मिरा

घुँडामा सर्जरी गरेका कारण चिकित्सकले पूर्ण स्वस्थ हुन समय लाग्ने भन्दै आराम गर्न लगाएका थिए । रिकभरी एक्सरसाइज, फिजियो थेरापीहरु गराइरहनु पर्छ ।


उनी उपचार नसकिँदै जन्मथलो भोजपुरमा बर्सेनि हुँदै आएको भोजपुर ट्रेल रेसका लागि नेपाल आएकी छन् । ‘मसल र नसाहरूलाई पुरानै अवस्थामा ल्याउन धेरै उपचार गराउन बाँकी छ, रेस सन्काएपछि लगत्तै फ्रान्स फर्केन्छु’ उनले भनिन् । उनी यही फाल्गुन ३ र ४ गते हुने ८ र ३६ किमि अल्ट्रा दौड सञ्चालनका लागि भोजपुर पुगिसकेकी छन् । उक्त रेस उनकै अगुवाइमा चार वर्षअघि सुरु भएको थियो । उनलाई घुँडामा १० वर्षदेखि नै समस्या थियो । दुई वर्षअघि इटालीमा पहिलो पटक उपचार गराएकी थिइन् ।


उनकै सम्मानमा २०१५ अर्थात् २०७२ कात्तिकमा सुरु भएको भोजपुर रेसको अगुवाइ यतिबेला आफैंले गरिरहेकी छन् । दौडमा एकपछि अर्को उनको सफलतापछि जन्मथलो भोजपुरको सानो दुम्मावासीले सम्मान कार्यक्रम राखेका थिए । त्यसबेला उनी २०१५ सेप्टेम्बरमा स्पेनमा भएको ११० किलोमिटरको दौडमा प्रतिस्पर्धा गरेपछि विश्व दोस्रो वरीयतामा पर्न सफल भइन् । यसअघि नेपालमा हिमालय आउट डोर र मुस्ताङ रेस गरेकी थिइन् । त्यसको १८ महिनामै त्यो सफलता हात पारेकी थिइन् । उनी नेशनल जियोग्राफिक २०१७ की विजेता पनि हुन् ।


सम्मान कार्यक्रमको बेला स्थानीय थर्पु स्कुलका प्रधानाध्यापक असीम दुङमालीले मिराको सम्मानमा दुङ्मा मिनिट्रेल रेस आयोजना गर्ने प्रस्ताव ल्याएका थिए । मिरा र असीमले चार किलोमिटरको दौड गराए । थर्पु स्कुलबाट सुरु भएर उनको घरसम्म थियो, त्यो दौड । १२ जना स्थानीय किशोरकिशोरीहरु सहभागी थिए । उनीहरूले खाली खुट्टै दौडेका थिए । मिरा आफैंले कागजमा लेखेर ढुङ्गाले थिचेर कोर्स मार्किङ गरेकी थिइन् । त्यो क्षणले गाउँमा थुप्रै प्रतिभाहरू छन् । उनीहरूलाई बाहिर ल्याउनुपर्छ भन्ने प्रेरणा उनमा जाग्यो ।


दौडले निरन्तरता पाउँदै आयो । ०७३ मा ४ र ८ किमिको दौड भयो । २०७४ मा राष्ट्रिय स्तरको रूप पायो । नेपाल ट्रेल रेस, रिमाचोङ एजुकेसन स्पोर्टस् एकेडेमी र सानोदुम्मा माविले संयुक्त आयोजक भए । दाङमा मिनिट्रेल नामलाई फेरेर भोजपुर ट्रेल रेसको नामकरण गरे । भिष्टाले १२० जोर गोल्डस्टार जुत्ता सहयोग गर्‍यो । मिराले स्पेनबाट ५० हजार आर्थिक सहयोग जुटाएकी थिइन् । त्यसबेला थर्पुस्कुलबाट भोजपुरसम्मको १८ किमिको दौड आयोजना भएको थियो ।


सोही वर्षदेखि उत्कृष्ट पहिलो महिला धावकलाई हरेक वर्ष हङकङमा हुने रेसमा प्रतिस्पर्धाका लागि जान पाउने अवसर छ । उक्त वर्ष हुमी बुढामगरले यो अवसर पाएकी थिइन् । उनी भोजपुर रेसमा महिलातर्फ प्रथम भएकी थिइन् ।


०७५ को दौडका लागि करिब ३०० जति राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावकहरू सहभागी हुने आयोजकले जानकारी दिएका छन् । १६ वर्षमुनिकालाई ८ किमिको दौड फागुन ३ गते र माथिकालाई ३६ किमिको दौड ४ गते हुँदैछ । यो वर्षदेखि भोजपुर रेसले बृहत्तर रूप लिएको छ । करिब ९ लाख जति लागत पर्न जाने मिराले जानकारी दिइन् ।


मिरा भोजपुर रेसमा मात्रै सीमित छैनन् । आगामी अक्टोबरमा २४ देखि २६ सम्म नेपाल ट्रेल सिरिज हुँदैछ । मिरा आयोजकका रूपमा संलग्न छिन् । आगामी सात महिनापछि फ्रान्समा हुने १२० किमि दौडमा प्रतिस्पर्धाका लागि तयारी गर्दैछिन् ।


मिरा आफ्नो जन्मथलोलाई रेसमार्फत देश-विदेशमा प्रत्यक्ष चिनाउने योजनामा छिन् । अहिलेकै अवस्थामा पनि गरिबी, अशिक्षा र चेतनाको अभावको चपेटामा जीवन गुजारा गरिरहेका भोजपुरवासी र भोजपुरको परिचयलाई पुनः स्थापित गर्न सक्दो प्रयास गर्ने लक्ष्य छ, ‘नेपाल अल्ट्रा दौडका लागि भौगोलिक रूपमा सम्भावना बोकेको देश छ, मेरो गाउँ, मेरो जिल्लालाई देश तथा विदेशसँग रेसमार्फत जोड्न चाहन्छु ।’

प्रकाशित : फाल्गुन ३, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?