कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीमा परिक्रमा

माधव–नारायण पर्व मनाउँदै स्थानीयवासी
प्रशान्त माली

काठमाडौँ — जाडो मौसम छ । वर्षा हुँदा शनिबार झन् वातावरण चिसियो । यस्तो ठन्डीमा ठेचोमा माधव–नारायण पर्व मनाउने क्रममा अर्धनग्न भई पानीमा बसेर नगर परिक्रममा गर्नेको कमी थिएन । कोही ब्रह्माको प्रतीकका रूपमा अग्र्धनग्न भई टाउकोमा फेटा बाँधी काँध, कुम, हात र टाउकोमा दियो बत्ती राखेर नगर परिक्रमा गरेका देखिन्थे ।

पानीमा परिक्रमा

त कोही विष्णुको रूपमा धोती लगाएर छवाली घैंटोमा बोकी पानी थापेर आएका थिए । भने कोही महेश्वरको रूपमा जसी: (खडकुलो) मा बसी शंख फुक्दै जल छर्दै अगाडि बढेका थिए ।

यो दृश्य ठेचोका स्थानीयवासीले महादेवको पूजा आराधना गरी विशेष रूपमा माधव–नारायण पर्व मनाएका हुन् । पर्वमा हार्मोनियम तबला बजाएर महादेव, बुद्ध र कृष्णका परम्परागत गीत गाएका पनि देखिन्थे । ब्रह्मायणी माघ महात्म्य संघ ठेचोका अध्यक्ष इच्छा महर्जन भन्छन्, ‘कालकूट विष सेवन गरेपछि डाहा मेट्न गोसाइँकुण्डमा गई ध्यानमग्न भएका शंकरको प्रतीकका रूपमा मानिस पानीसहितको खडकुलोमा बसेर आएका हुन् ।’

उनका अनुसार छाली घैंटोमा बोकी आउनुको अर्थ सहस्र जलधारा बगाउनु हो । ‘टाउकोमा दियो बत्ती राख्नु भनेको सम्मानस्वरूप सूर्य देवतालाई दीप प्रज्वलन गर्नु हो,’ उनले भने । हिन्दु परम्पराअनुसार प्रत्येक महिनामा एक/एक नारायण गरी बाह्र महिनामा द्वादश नारायणको पूजा गर्ने चलन छ । प्रत्येक महिनाका नारायणको नाम फरक भए झैं नारायणका चार बाहुमा रहने शंख, चक्र, गदा, पद्महरू पनि फेरिन्छन् । वैशाखमा मधुसूदन नारायण, जेठमा त्रिविक्रम, असारमा वामन, साउनमा श्रीधर, भाद्रमा हृषीकेश, असोजमा पद्मनाभ जस्तै माघमा माधव–नारायण पर्व मनाउने चलन छ ।

वाग्मती सभ्यतादेखि आदिवासी नेवारको जीवनपद्धतिमा नवधा भक्तिको ठूलो प्रभाव छ । नवधा भक्तिको अर्थ स्रष्टा अर्थात् ईश्वरलाई नौ प्रकारले श्रद्धापूर्वक भक्तिभाव गर्नु हो । जसमध्ये माधव–नारायणको पूजा एक हो । अध्यक्ष महर्जन भन्छन्, ‘नवधा भक्तिबाट प्रभावित नेवारको जीवन पद्धति र जीवन दर्शनमा माघ महात्म्यको प्रादुर्भाव भएको हो ।’

यो पर्व मार्ग शुक्लपक्ष पूर्णिमादेखि फागुन शुक्ल पूर्णिमासम्म मनाउने गरिन्छ । प्रत्येक दिन बिहान नुहाइधुवाइ गरी शंखजल ग्रहण गरी शंख बजाएर महादेवको श्रुति महिमा उच्चारण गरी नगर परिक्रमा गरिन्छ ।

पर्वका लागि ठेचोवासीले शुक्रबार दैलो लिपी घरआँगन, टोल चोक सफा राखेका थिए । जसलाई नेपाल भाषामा ‘छ्यला बु:’ भनिन्छ । शनिबार नुहाइधुवाई गरी आ–आफ्ना कुलदेवतालाई विधिवत् पूजा गरिएको थियो । ब्रहमा, विष्णु र महेश्वरको भेषमा आउनेहरू बिहान नुहाइधुवाइ गरी नङ काटी अल: (एक प्रकारको रङ) राखी उपवास बसेका थिए । शरीरमा भिपु, बापुचा, सिखलगायत मालाका गरगहना लगाएर सजिएका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७५ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?