उनको नयाँ जीवन

विद्या राई

काठमाडौँ — उनी अहिले १३ वर्षकी भइन् । बलात्कार पीडित यी बालिकाको जीवन विस्तारै सहज हुन खोज्दैछ । जसले सामाजिक तिरस्कारसँग लडेर नयाँ जीवन पाइन् । 

उनको नयाँ जीवन

भोजपुरको दुर्गम गाउँकी उनी ११ वर्षको हुँदा छिमेकीबाटै बलात्कृत भएर गर्भ बस्यो । पिडकको ज्यान मार्ने धम्की र समाजको डरले गर्दा ७ महिनापछि मात्रै त्यो कुरा थाहा भयो । आमा दलित भएकै कारण केटा पक्षले स्विकारेन ।

यो पीडा उनले मात्रै सहनु परेन, परिवारै गाउँबाट विस्थापित हुन बाध्य भयो । उनी र उनको परिवार न्याय खोज्दै भोजपुर सदरमुकाम आए । यसबारे समाचार आएपछि सिविङअन्तर्गत बाल हेल्प लाइनले सहायताका लागि उद्धार गरेर काठमाडौं ल्याएको थियो । तनावमा परेकी उनको भौतिक, शारीरिक तथा मनोवैज्ञानिक सहायताका लागि हेल्प लाइनले फाउन्डेशनमा रिफर गरेको थियो ।


बच्चा जन्मियो । पढाइलाई अघि बढाउने उद्देश्यले बच्चालाई काठमाडौंमै एक दम्पतीलाई सुम्पिसकिन् । जिल्ला बलकल्याण समिति काठमाडौं र महिला तथा बालबालिका मन्त्रालयकी उपसचिव मीरा शेरचनको रोहवरमा दम्पतीले सन्तानका रुपमा पालनपोषण गरिरहेका छन् ।


हाल काठमाडौंको हात्तीगौंडास्थित एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन् । विहान ९ः३० देखि बेलुकी ४ः३० सम्म विद्यालयको पढाईमा व्यस्त हुन्छिन् । त्यसबाहेकको समयमा जेन्टल हर्ट फाउन्डेशनमै आत्मसम्मान, आत्मनिर्भरबारे शिक्षकले पढाउँछन् । हेन्डीक्राफ्ट, सिलाई कटाई सिक्छिन् । यसैगरी कम्प्युटर कक्षा पनि सिक्छिन् । उनी पढाईमा तेज बन्दै छिन् । उनलाई पढेर डाक्टर बन्ने रहर छ । हालै पिडकलाई कानुनी कठघरामा ल्याउन सफल भएकी छन् । जिल्ला अदालत भोजपुरको फैसला अनुसार पिडकलाई डेढलाख क्षतिपूर्ति र ८ वर्ष कैद सजाय तोकिएको छ ।


फाउन्डेशनले उनीजस्तै यौन दुर्व्यवहार तथा बलात्कारको सिकार भएका तथा अनाथ किशोरीहरुलाई संरक्षण गर्दै आएको छ । तीन चरण गरेर २० जना संरक्षणमा छन् । यस्ता किशोरी तथा युवती ४० जना छन् । ‘तेस्रो चरणमा उनीहरुलाई परिवारसँग पुनःमिलन गराइन्छ, परिवार र समाजसँग पुनःमिलनका लागि पुलको काम गर्नु हाम्रो प्रमुख उद्देश्य हो, उनीहरुको उच्च शिक्षाका लागि पनि सहयोग गर्छौ,’ फाउन्डेशनका संस्थापक अर्जुन ढकालले बताए । फाउन्डेशनले सन् २००२ देखि बालबालिका संरक्षण सुरु गरेको थियो । २०१४ देखि किशोरी तथा युवतीहरुलाई उद्धार गर्न फाउन्डेशनले बताएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?