जापानी नागरिक ‘ओके बाजे’ लाई नागरिक अभिनन्दन

२५ वर्षमा ५० करोडभन्दा बढी पाल्पामा भित्र्याएको अनुमान 
माधव अर्याल

पाल्पा — जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाजे’ लाई २५ वर्षसम्म जिल्लामा सेवा गरेकोे भन्दै बिहीबार तानसेनमा नागरिक अभिनन्दन गरिएको छ । 

अभिनन्दन समितिका संयोजक सुन्दरप्रसाद श्रेष्ठलगायत १ सय ७१ संघसंस्थाले काकिमीलाई अभिनन्दन पत्र प्रदान गरे ।

Citizen

पाल्पाली ढाकाको टोपी, दौरा सुरुवालमा सजिएका उनलाई तानसेन बजार परिक्रमा गराइयो । बन्दले गर्दा गाउँगाउँबाट जनता आउन नपाएको आयोजक समितिले जनाएको छ ।

उनलाई विद्यालय, क्लब, संघसंस्थाका प्रतिनिधिले लाइन लागेर सम्मानपत्र प्रदान गरे । २५ वर्षे सम्झना स्वरूप उनको पुस्तकसमेत प्रकाशित भएको छ ।

अभिनन्दन समारोहमा सयभन्दा बढी जापानी नागरिकसमेत सहभागी हुन आएका छन् ।

काकिमीले जिल्लाको पूर्वभेगका सयौं स्थानीयलाई शैक्षिक र सामाजिक विकासका लागि महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।
उनले ग्रामीण भेगका विद्यालयको भवन निर्माण, गरिब तथा विपन्न समुदायका बालबालिकाको शैक्षिक विकास, आमा समूह, बाल क्लब र स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग गर्दै आएका छन् ।

कहीं कतै उल्लेख नभए पनि २५ वर्षमा ५० करोडभन्दा बढी सहयोग भित्र्याएको अनुमान स्थानीयको छ ।

उनी सन् १९३९ मा जापानको टोकियोमा जन्मेका हुन् । उनले बासोदा विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेका छन् । टोकियोमै उच्च माविमा २३ वर्ष अध्यापन गरेका उनी अवकासपछि २०५० सालमा नेपाल आएका हुन् ।

गरिबी, अशिक्षा र चेतनास्तरको कमीका कारण गाउँमा अधिकांश बालबालिका विद्यालय नजाने, सरसफाईमा ध्यान नदिने गरेको देखेपछि उनले यहीं बसेर सहयोग जुटाउँदै चेतनाको विस्तारमा अग्रणी भूमिका खेलेका छन् । उनले विभिन्न संघसंस्था, व्यक्तिबाट सहयोग जुटाएर ल्याउने गरेका छन् । २५ वर्षदेखि उनी निरन्तर यहाँको समाजसेवामा सक्रिय छन् ।

७९ वर्षको ढल्किँदो उमेरमा पनि उनी गाउँको समाजसेवामा रमाएको मुल आयोजक समितिका सचिव देवराज देवकोटाले बताए । मगरी परिवेश र गाउँमा रमाउने उनलाई समय बितेको पत्तै नहुने उनले बताए । जापानी र अंग्रेजी भाषासमेत नबुझ्ने यहाँका मगर समुदायले उनको नामै ‘ओके बाजे’ राखिदिएका छन् ।

जल्पाको ढोलीमारा, सिलुवाको छिस, ज्यामिरेको भुटुकेमा उनी बढी बसोवास गर्ने निस्दीका पूर्णबहादुर सोमैले बताए । अहिले उनलाई सबैले ‘ओके बाजे’ नै भनेर चिन्छन् । २०५० सालतिर नेपाल आएका उनी अन्नपूर्ण वेस क्याम्प घुमेर जल्पास्थित ढोलीमारामा बस्न थालेका हुन् ।

प्रकाशित : चैत्र १, २०७५ २३:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गण्डकी मेडिकल कलेज : जिम्मा लिने नहुँदा ताला खुलेन

विना थापा

कास्की — जिम्मेवारी लिने कोही नभेटिएपछि शुक्रबार तयारी गरिए पनि गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खुल्न सकेको छैन । बढी लिएको शुल्क फिर्तासहितका चार बुँदे माग राखेर आन्दोलित विद्यार्थीले कलेज र सञ्चालक पदाधिकारीका विभिन्न कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

एक महिना लामो तालाबन्दी र रिले अनसनपछि पनि व्यवस्थापन पक्ष माग सुनुवाइ गर्न तयार नभएपछि विद्यार्थीहरूले ठगी मुद्दामा कारवाहीका लागि प्रहरीमा जाहेरी दर्ता गराएका थिए।त्यसयता पक्राउ पुर्जी जारी गरेर प्रहरीले पूर्वसीइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई नियन्त्रणमा लिइसकेको छ भने सञ्चालक अध्यक्ष खुमा अर्यालसहित आठ जनाको खोजी गरिरहेको छ।

सञ्चालकहरूलाई पक्राउ र मुद्दामा कारवाही सुरु गरेपछि पनि बन्द रहेको कलेज खुलाउन प्रशासनले पहल गरेको हो। जिल्ला प्रशासनमा भएको छलफलपछि विद्यार्थीहरू कलेजमा गरेको तालाबन्दी खोल्न सहमत भएका थिए। प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, प्रहरी उपरीक्षक ओमबहादुर राना र नागरिक अगुवा रामबहादुर पौडेललगायत विद्यार्थीहरुसँगै ताला खोल्न पुगेपनि जिम्मा लिने कोही भएनन्।

ताला खोल्दा पनि कलेजको जिम्मा लिन व्यवस्थापनका कुनै पनि प्रतिनिधि उपस्थित भएनन्। जिम्मेवारी लिने कोही नभएकाले ताला नखुलेको हो। विद्यार्थीलाई पढ्ने वातावरण मिलाउनका लागि ताला खुलाउन खोजिए पनि जिम्मा लिने कोही नभेटिएको कारण सबै फर्किएका थिए। 'जिम्मा लिने कोही भएनन्। त्यसै खोल्न पनि मिलेन,' प्रजिअ बुढाले भने।

पोखराको गण्डकी मेडिकल कलेजमा शुक्रबार ताला खुलाउन पुगेका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र नागरिक समाज प्रतिनिधिसँगै विद्यार्थी। जिम्मा लिने कोही नहुँदा कलेजको ताला नखोेली फर्किएका छन्। तस्बिर : विना थापा/कान्तिपुर


सरकारले तोकेकोभन्दा ८ देखि १६ लाखसम्म बढी लिएको शुल्क फिर्तासहितका माग राखेर सन् २०१५ देखि २०१८ सम्मको ब्याचका एमबीबीएस विद्यार्थीले ४४ दिनअघि कलेज, पदाधिकारीका कार्यकक्ष र कलेजको अस्पतालका आकस्मिक बाहेकका कक्षमा ताला लगाएका थिए।
विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यलयमा फागुन २१ मा ठगी मुद्दामा कारवाहीका लागि जाहेरी दिएका थिए। कलेज सञ्चालक अध्यक्ष खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखाका हरिमाया पौडल, दिनेश पौडेल, तिलक पौडेल, कृष्ण पौडेल पूर्वसिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्माकाविरुद्ध जाहेरी दर्तापछि पक्राउ पुर्जी जारी भएको थियो।

जाहेरी दर्ताको भोलिपल्टै प्रहरीले खनाल र परीक्षा नियन्त्रक शर्मालाई पक्राउ गरेको थियो भने अन्य लुकेका थिए। पक्राउ परेकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष अर्यालसहित ६ जनाले फागुन २३ मा वारेसमार्फत निषेधाज्ञासहितको अन्तरिम आदेश मागको रिट उच्च अदालत पोखरामा दायर गरेका थिए।

रिटमा जिल्ला अदालत कास्की, जिल्ला प्रशासन र प्रहरी कार्यालय, जिल्ला न्यायाधिवक्ताको कार्यालय र तीन विद्यार्थीलाई विपक्षी बनाइएको थियो। रिटको प्रारम्भिक सुनुवाइमा अदालतले फागुन २६ मा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।तत्काल अन्तरिम आदेश जारी नगरी अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। उक्त रिटमा बिहीबार अदालतले अन्तरीम आदेश जारी गर्न नमिल्ने आदेश गरेपछि सञ्चालकहरू फरार छन्।

कलेज बन्द र आन्दोलन रहेकाले सन् २०१५ का ८३ र २०१४ का पुरक ३ सहित ८६ विद्यार्थीले एमबीबीएस तेस्रो वर्षको परीक्षा समेत दिन पाएनन्। मुद्दामा कारबाही थालिएपछि विद्यार्थीले आन्दोलन फिर्ता लिएका छन् तर, बन्द रहेको कलेज कहिले र कसले खोल्ने भन्ने अन्यौल भएको छ।

प्रकाशित : चैत्र १, २०७५ २०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT