कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ट्याक्सी चालकको अमानवीय व्यवहारले एक बिरामीको मृत्यु

बिरामीलाई बाटोमै छाडेर भागेका थिए चालक
जनकराज सापकोटा

काठमाडौँ — गोर्कणेश्वर ४ का प्रविण कारञ्जित बुधबार बिहानै बाबु गोपाललाई लिएर स्कुटरमा चावहिलको मेडिकेयर अस्पताल पुगेका थिए । ईसीजी गरेपछि अस्पतालले उनलाई घर पठाइदियो । अस्पतालमा निस्केर चिया पिएपछि झण्डै साढे ११ बजेतिर उनले बुबालाई ट्याक्सी चढाएर आफू घरतिर हिँडेका थिए ।

ट्याक्सी चालकको अमानवीय व्यवहारले एक बिरामीको मृत्यु

धुलो–धुँवाले भरिएको बाटोमा स्कुटरमा फर्किंदा गाह्रो होला भनेर उनले बुबालाई ट्याक्सी चढाइदिएर आफू स्कुटरमा फर्किएका थिए ।


घर पुगेको धेरैबेरसम्म बुबा नआइपुगेपछि उनको मनमा चिसो पस्यो । त्यही बेला उनलाई अपरिचितको नम्बरबाट फोन आयो । प्रविण हतारिँदै चावहिलकै हेल्पिङ ह्याण्डस अस्पताल पुगे । त्यसपछि पो उनलाई थाह भयो, सकुशल घर फर्किन ट्याक्सी चढेका बाबु कहिल्यै नर्फकिने गरी मृत्युशैय्यामा लडिसकेछन् । सबैसँग सोधपुछ गरेपछि उनले सोच्दै नसोचेको घटनाको विवरण थाहा पाए ।


ट्याक्सीको अघिल्लो सिटमा बसेका गोपाललाई अलिकति अगाडि बढ्ने बित्तिकै केही असहज महसुस भएछ । उनी बुरुक्क उफ्रिएजस्तो गरेछन् र बेहोस भएछन् । ट्याक्सी चालकले सामान्य मानवीयता पनि नदेखाई गोपाललाई लतार्दै अघिल्लो सिटबाट धुले भुईंमा खसालेर आफ्नो बाटो लागे ।


सडक छेउको धुलोमा लडिरहेका मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । अनि तुरुन्तै प्रहरीले गोपाललाई हेल्पिङ ह्याण्डस् अस्पताल पु‍‍र्‌यायाे ।


प्रहरीले उनको साथमा रहेको बैंकको एटिएम कार्डबाट परिचय पाएलगत्तै सर्म्पक नम्बरको खोजीमा जुट्यो । त्यसपछि प्रहरीले बैंकमा सम्पर्क गरेर प्रविनको नम्बर पत्ता लगाएर उनलाई फोन गर्‍यो ।


मृतक परिवारले मंगलबार नै घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएसँगै प्रहरीले ट्याक्सी चालकको खोजी गरेको थियो । गौशाला वृत्तका अनुसार हेल्पिङ हयाण्डस् अस्पतालको सीसीटिभी फुटेजमा गोपाल चढेको ट्याक्सी र गोपाल बेहास भएपछि बाहिर लतार्दै निकालेको दृश्य कैद भएको छ । सीसीटिभी फुटेजमा ट्याक्सीको नम्बरप्लेट प्रस्ट नदेखिएपछि प्रहरीले महानगरीय ट्राफिक प्रहरी कार्यालयको सहयोग लिएको थियो ।


ट्राफिक प्रहरीले विशेष सफ्टवेयर मार्फत फुटेजको गुणस्तर बढाएर हेरेपछि सम्भावित चार नम्बरहरु निकालेको थियो । त्यसैका आधारमा ट्राफिक प्रहरीले बिरामी यात्रुलाई सडकमै अलपत्र छाडेर भाग्ने बा१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमल श्रेष्ठलाई पक्राउ गर्‍यो ।


पक्राउ परेका ट्याक्सी चालकले प्रहरीलाई दिएको बयान अनुसार मृतक गोपल अचानक उफ्रिएजस्तो गरे लगत्तै बेहोस भएपछि उनले अत्तालिएर ‘के गरौं, कसो गरौं’ भएर आफूले बाहिर निकालेर भागेको बताएका छन् । मृतक परिवारको किटानी जाहेरीको आधारमा प्रहरीले ट्याक्सी चालकलाई सार्वजनिक शान्तिविरुद्धको अपराध गरेको भन्दै मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएको छ ।


कान्तिपुरसँग सर्म्पकमा आएका मृतकका छिमेकी नवराज श्रेष्ठका ट्याक्सी चालकले सामान्य विवेक नपुर्याएकाले बिरामीको मृत्यु भएको दाबी गरे ।


‘केही सय मिटर परको अस्पतालमा पुर्‍याएर छोडीदिएको भएपनि बाँच्ने सम्भावना थियो । कस्तो धर्म नभएको चालक रैछ,’ उनले भने । श्रेष्ठले घटना दुःखदायी मात्रै नभएर अमानविय भएको बताए । ‘संवेदनाहीनताका कारण एक बिरामीको मृत्यु भएको हो,’ उनले भने, ‘सोच्दै नसोचेको घटना भयो ।’


प्रहरी स्रोतका अनुसार मृतकको पोस्टमार्टम गर्दा उनको मृत्युको कारण हृदयघात भन्ने देखिएको छ ।


मृतक गोपालका छिमेकी श्रेष्ठले मेडिकेयर अस्पतालमा परीक्षण गरेर डिस्चार्ज भए लगत्तै गोपालको मृत्यु भएकोमा उक्त अस्पतालले गरेको उपचारमा पनि प्रश्न उठाए ।


घटनको अनुशन्धानमा संलग्न प्रहरीका अनुसार मेडिकेयर अस्पतालले मृतक गोपालको अवस्था सामान्य रहेको भनेर डिस्चार्ज गरेको देखिन्छ । उनले थप अनुशन्धान जारी रहेको बताए ।


मृतकको आज मात्रै गाेकर्णेश्वर घाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित : चैत्र १५, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?