२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

तानसेनको जंगलमा भीषण डढेलो 

माधव अर्याल

पाल्पा — सदरमुकाम तानसेन नजिकैको वनदेवी, होलाङ्दी , धरमपानी जंगल क्षेत्रमा बुधबार दिउँसो भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय अन्तर्गत सब–डिभिजन कार्यालय, तालिम हल, नर्सरी क्षेत्रमा भीषण डढेलो लागेको हो ।

तानसेनको जंगलमा भीषण डढेलो 

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल, नगरपालिकाको दमकलले नियन्त्रणको प्रयास गरेका थिए । सयौंको संख्यामा सुरक्षाकर्मी, स्थानीय बासिन्दा परिचालन भएपनि हावाहुरीका कारण नियन्त्रणमा निकै कठिनाइ भएको थियो ।

आगोलागी नियन्त्रणमा खटिएका नेपाली सेनाका कुमार दाहालका अनुसार दिउँसो लाग्ने हावाहुरीका कारण तत्काल नियन्त्रणमा लिन समस्या भएको थियो । सानो दमकल भएकाले पानी थोरै हुने हुँदा धेरै जंगल आगो फैलिएको हो । सब–डिभिजन कार्यालय, कर्मचारी निवास जोगाउन सबै सुरक्षाकर्मी, दमकल परिचालन गर्नु परेको थियो । वनका कर्मचारी समेत खटिएर आगो नियन्त्रण लिने प्रयास गरेका थिए ।

एकै दिनमा दुई तीन स्थानमा आगलागी भएकाले झन् समस्या आएको प्रहरी निरीक्षक देवराज पौडेलले बताए । माथिल्लो क्षेत्रमा दुई घण्टा लगाएर नियन्त्रणमा लिएर फर्किँदा पुनः तल्लो क्षेत्रमा आगलागी भएको थियो । जसले गर्दा सेना, प्रहरी र दमकललाई हम्मे परेको हो । वन कार्यालयका यमलाल पोखरेलका अनुसार सबै जनाको प्रयासबाट सब–डिभिजन कार्यालय, नर्सरी, तालिम हल, निवासलाई जोगाउन सकिएको छ ।

सेना, प्रहरी, सशस्त्र, स्थानीय, कर्मचारी सबै खटिएर अग्निरेखा बनाउने र घर जोगाउन सक्रिय भएका थिए । आगो सब–डिभिजन होलाङदीको तल्लो भेगबाट सल्किएको थियो । जसले गर्दा उकालो र हावाहुरीले तत्कालै धेरै क्षेत्रमा आगलागी भएको हो । नर्सरीमा कार्यरत कर्मचारी धनकुमारी गैरेका अनुसार तल्लो भेगमा युवायुवती चुरोट, गाँजा खान पुग्छन् । उनीहरुले नै लापरवाहीले लगाउने गरेको आफूले पाएको बताइन् ।

प्रकाशित : वैशाख १९, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?