कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाटनका एक्ला सनई बाजक कान्छा कपालीको सनई

पाटनका एक्ला सनई बाजक
प्रशान्त माली

ललितपुर — एक दशकअघि रातो मत्स्येन्द्रनाथ जात्रामा म्वाली (सनई) बजेको सुनिन्थ्यो । पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका ऐतिहासिक राजखड्गअगाडि बजाइन्थ्यो यो बाजा । संस्कृविदहरूका अनुसार लाखे नचाउँदा पनि अनिवार्य बजाउनुपर्थ्यो ।

पाटनका एक्ला सनई बाजक कान्छा कपालीको सनई

अहिले यो सनईको धुन हराउँदै गएको छ । पाटन दुपा टोलका ७६ बर्षिय कान्छा कपाली नै अन्तिम सनईवादक बनेका छन् । ‘छोरा नातीले चासो देखाउन छाडे’, हालैको भेटमा कान्छाले गुनासो गरे, ‘अरुलाई के भन्नु ।’

कान्छाले १२ वर्ष उमेरमा म्वाली (सनई) बजाउन सिके । त्यति बेला उनको परिवारको गुजारा म्वाली बजाएरै हुन्थ्यो, घरमा बाली भित्रिन्थ्यो । त्यसैले उनलाई बुबाले बाजा सिक्न प्रस्ताव राख्नेबित्तिकै नाइँनास्ति गरेनन् । बुबाले जस्तै उनले पनि ३४ वर्षअघि छोरा रत्नलाललाई बाजा सिक्न आग्रह गरे । समय फेरियो, छोराले मानेनन् । ‘नगर प्रहरीमा जागिरे बन्नतिर पो लागे’, ७६ वर्षीय कान्छाले भने, ‘अब सनई बजाउने मान्छे नै छैनन् ।’

उनका अनुसार शंखमूलस्थित नारायण मन्दिर, मसानघाट र पाटन दरबार क्षेत्रस्थित तलेजु, भीमसेन मन्दिरमा पनि कुनैबेला दैनिक बिहान र साँझ सनई बजाउनु पर्थ्यो । अहिले यो चलन हराइसकेको छ । कात्तिक नाच मञ्चन गर्दा र सिंह जात्रा मनाउँदा मात्रै बजाउने चलन बाँकी छ । कान्छाका अनुसार मन्दिरमा बाजामार्फत विभिन्न देवीदेवताका नेपाल भाषामा लेखिएका गीत बाह्रै महिना फरकफरक गाउनुपर्थ्यो । ‘अहिले बाजासँगै गीत पनि हराउँदै गएको छ,’ उनले भने ‘यस बाजाको छुट्टै गुठी नभएकाले पनि जर्गेना गर्न गाह्रो परेको हो ।’


गार्‍हो त कान्छा स्वयंलाई पनि छ । उनी ढाड, घुँडा दुख्ने समस्याका कारणले मुस्किलले घर भित्र–बाहिर गर्छन् । स्थानीयवासी भने जसरी भए पनि उनले अरूलाई बाजा सिकाउनुपर्ने पक्षमा छन् । ‘छोरालाई त बाजा बजाउनुपर्छ, संस्कृति मास्नु हुँदैन भनेर सिकाउन सकिनँ’, उनले भने, ‘अरूको त कुरै छाडौं ।’ उनले पुराना समय सम्झे । तिनताक पाटनका कपाली समुदायका प्रत्येक घरका एक जना सदस्यले अनिवार्य बाजा बजाउन जानेका हुन्थे ।


पाटनमा कपाली समुदायको संख्या दुई सयको हाराहारीमा छन् । ०३८ मा ५ खलकमा सीमित भए । अहिले उनीसँगै बाजा बजाउन सिकेकामध्ये बाँचेकाहरू अशक्त छन् । ‘मैलेपनि जेनतेन चलाइरहेको छु । कहिले छोड्छु थाहा छैन’, उनले भने ।


उनका अनुसार ०४० सम्म बाजा बजाएबापत बाली भित्रिन्थ्यो । गुठी संस्थानबाट वार्षिक ५ मुरी धान दिन्थे । पछि जग्गा धनीले संस्थानमा केही रकम जम्मा गरी जग्गा रैतानीमा परिणत गरे । त्यसयता न गुठीले रकम दिए न त जग्गाधनीले बाली नै दिए ।


प्रकाशित : वैशाख ३१, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?