१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कान्तिपुर हाफ म्याराथन जेठ ११ मा (भिडियो)

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्सले आयोजना गर्दै आइरहेको ‘कान्तिपुर हाफ म्याराथन’ जेठ ११ मा हुने भएको छ । २०६७ देखि आयोजना गरिँदै आएको म्याराथन प्रतियोगिताको यो नवौ संस्करण हो । म्याराथनको मुख्य नारा प्रदूषणविरुद्ध चेतना फैलाउनु रहेको छ ।

कान्तिपुर हाफ म्याराथन जेठ ११ मा (भिडियो)

अघिल्लो वर्षसम्म पब्लिकेशन्सको वार्षिकोत्सवको अवसरमा फागुन ७ गते आयोजना गरिदै आएको प्रतियोगिता गतवर्ष देखि फरक मितिमा आयोजना गरिदै आएको छ । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

२१ दशमलव १ किलोमिटर हाफ म्याराथन, ५ किलाेमिटर कर्पोरेट र ह्विलचियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । यो वर्ष ३ हजार धावक सहभागी हुने अपेक्षा गरेको पब्लिकेशन्सले शुक्रबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जनाएको छ । गतवर्ष २ हजार ५ सय ६० जनाले भाग लिएका थिए ।

हाफ म्याराथनको पहिलो छ स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् । त्यसबाहेक महिला र पुरुष दुवै विधाका विजेतालाई हिरोको डुएट स्कुटर प्रदान गरिने छ ।

कर्पोरेटतर्फका विजेतालाई बैंककमा ३ रात र ४ दिनको घुम्ने प्याकेज उपलब्ध गराइने छ । त्यस्तै दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ । ह्विलचियरतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाउने छन् ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्काे लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिने छ ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने ‘कान्तिपुर हाफ म्याराथन’ को मुख्य प्रायोजक सिटिजन्स बैंक रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स, हिरो मोटरसाइकल, सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले इन एसोशिएसनको रुपमा रहेका छन् ।

थापाथलीस्थित कार्यालयमा जेठ ७ गतेसम्म सहभागिताका लागि नामदर्ता खुला रहेको पब्लिकेशन्सले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?