यसरी लुटियो इमाडोलको मनि ट्रान्सफर
ललितपुर — घटना जेठ तीन गतेको हो । इमाडोलमा कार्यलय रहेको मनी ट्रान्सफरको कारोवार गर्ने असल इन्भेष्टमेन्ट प्रालिका सञ्चालक सुरेशराज शर्मा सटर खोलेर भित्र मात्रै के छिरेका थिए, दुई युवा पनि पछिपछि छिरिहाले ।
दुई मध्ये एकको हातमा खुकुरी थियो । एकजनाले उनलाई सोफामा धकेलेर लडाए, खुट्टा र हात बाँधे अनि अर्कोले हातमा खुकुरी नचाउँदै झोला र ड्र्यरमा रहेका पैसा निकाले ।
पैसा निकालिसक्दा अर्का एकजनाले सुरेशको मुख र आँखामा समेत पट्टी बाध्न भ्याइसकेका थिए । कान्तिपुरलाई प्राप्त घटनाको सिसिटिभी फुटेज हेर्दा सुरेशलाई लडाएर पैसा निकालेपछि उनीहरु बाहिरिएको देखिन्छ ।
प्रहरीका अनुसार डकैत समूहले मनी ट्रान्सफरबाट एक लाख रुपैयाँ लुटेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार घटनामा संग्लनको खोजी जारी भइरहेको बताए । उनका अनुसार शंकास्पद केही पक्राउ गरेपनि उनीहरुको संग्लनता नखुलेका कारण छोडिएको छ । उनले भने, 'खोजी कार्य तीव्र पारेका छौं ।'
प्रकाशित : जेष्ठ ६, २०७६ १५:३५