७ करोड ६७ लाख ९४ हजारको भारतीय नक्कली नोट अन्सारी विमानस्थलबाट पक्राउ

पाकिस्तानबाट नक्कली नोट बोकेर नेपाल आएका ३ जनालाई लिन विमानस्थल पुगेका थिए युनुस
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनालाई ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । यस्तै उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सारीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

६७ वर्षीय नासिर उद्दिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवरलाई प्रहरीले विमानस्थल भित्रको भन्सार क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरु कतारको दोहाबाट बिहान सवा ८ बजे नेपाल अवतरण गरेका थिए।

युनुससँग रहेका सोहेल खान र गाडी चालकसुजन रानामगर पनि पक्राउ परेका हुन्।


नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका ६७ वर्षीयनासिर उद्दिन

विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले ठूलो परिमाणको भारतीय नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेको र उनीहरुसँग दुईवटा सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको पुष्टी गरे।

नसिरुद्धिनको साथमा रहेको सुटकेसमा २ हजार दरको ७ करोड ६७ लाख ९४ हजार रुपैयाँको बण्डलहरु रहेको बताइएको छ।

एउटा सुटकेसमा रहेको नोट गनेर अर्को सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको प्रहरी स्रोतले बताएको छ।

भारतमा नोटबन्दी भएपछि २ हजार दरका नक्कली नोट यति ठूलो परिमाणमा फेला परेको यो पहिलो घटना हो।

प्रकाशित : जेष्ठ १०, २०७६ १८:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

व्यक्तिगत काममा जाँदा मन्त्रीलाई सरकारी इन्धन नदिन निर्देशन

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभा सार्वजनिक लेखा समितिले ऐनले व्यवस्था गरेभन्दा बढी इन्धन प्रयोग नगर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको विषयमा छानबिन गरेको समितिले शुक्रबार यस्तो निर्देशन दिएको हो ।

ऐनअनुसार मुख्यमन्त्रीले मासिक २ सय ५० लिटर र मन्त्रीहरुले मासिक एक सय ५० लिटर इन्धन सुविधा छ । तर, मन्त्रीहरुले सुविधाबाहेक मन्त्रालयबाट थप इन्धन लिएको सार्वजनिक भएपछि लेखा समितिले गत माघ १४ मा सबै मन्त्रालयको विवरण मागेको थियो । यस विषयमा समितिले थप छानबिन गर्न चैत १२ मा समिति सदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा मेखलाल श्रेष्ठ र प्रभा कोइराला सदस्य रहेको उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमा मन्त्रीहरुले कार्यकर्ता भेट्न जाँदादेखि भोजभतेर, व्यक्तिगत काम र निर्वाचन क्षेत्र केन्द्रित प्रयोजनको कार्य र बढी आफ्नै निर्वाचन क्षेत्रमा जाँदा सरकारी ईन्धन प्रयोग गरिएको उल्लेख गरिएको छ । इन्धन एकद्वार प्रणालीबाट गरिनुपर्ने, लगबुकलाई अनिवार्य भर्नैपर्ने, कानुनसम्मत बाहेक ईन्धन खर्च गर्न नपाइने प्रतिवेदनमा छ । उपसमितिका संयोजक बरालले नमिलेको प्रक्रिया सुधार्न निर्देशन दिएको बताए ।

समितिका अनुसार मुख्यमन्त्रीबाहेक प्रदेशका ५ मन्त्रीले चालु आवमा ऐनमा तोकिएबाहेक साढे ५ हजार लिटर इन्धन बढी प्रयोग गरेका छन् । लेखा समिति सभापति कुमार खड्काले व्यक्तिगत काममा जाँदा सरकारी इन्धन प्रयोग नगर्न निर्देशन दिइएको बताए । 'मन्त्रीहरुले ऐनले तोकेबाहेक सम्बन्धित मन्त्रालयबाट पनि इन्धन लिएको पाइयो' उनले भने, 'मन्त्रीहरु व्यक्तिगत काममा जाँदा पनि भ्रमण आदेश स्वीकृत गर्ने देखिएकाले त्यसो नगर्न भनेका छौं ।'

खड्काले मुख्यमन्त्रीलाई पनि मन्त्रीहरुको भ्रमण आदेश स्वीकृत गर्दा सम्बन्धित मन्त्रालय/विभागको काम भए/नभएको हेर्न सुझाव दिएको बताए । सरकारीबाहेकका कार्यक्रममा जाँदा मन्त्रीहरुले सम्बन्धित आयोजकबाटै इन्धन सुविधा लिन समितिले निर्देशन दिएको छ । साथै लगबुक व्यवस्थित गर्न, खर्चमा एकरुपता कायम गर्न आर्थिक मापदण्ड बनाउन, एकद्वार प्रणाली अपनाउन र ऐनको व्याख्यात्मक टिप्पणी फेर्न समितिले सुझाव दिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ १८:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT