डाँडामा डोजर चल्दा पानीका मुहान सुक्दै (भिडियो रिर्पोट)

आनन्द गौतम

ताप्लेजुङ — हिमाल र पहाडलाई पानीको स्रोत मानिन्छ । हिउँपर्ने र जम्ने यो क्षेत्रबाट बगेको पानी तराईसम्म पुग्छ । तर अहिले पूर्वाधार विकासको नाममा हिमाली तथा पहाडी क्षेत्रमै डोजर चल्दा पानीका मुहान सुक्न थालेका छन् । यस्ले भविष्य भयावह हुने जोखिम बढेको छ । 

बुढापाकाका अनुसार फुङलिङ नगरपालिका १० फुरुम्वुको यो पोखरीमा पहिला भालुका हुल पानी खान आउथे। नजिकै गौंडा भएको र भालुपनि आउने भएकाले बुढापाकाले यो ठाउँको नामनै भालुगौंडे भनेर राखे। पशुपालन गर्नेहरुको पशु चौपायलाई खुवाउने पानीको स्रोतपनि यहि नै भएको फुङलिङ नगरपालिका १० का टेकनाथ भट्टराई बताउँछन्।

मैवाखोला गाउँपालिका ३ साँघुको नेरुवा पोखरी एकदशक अघिसम्म पानीले टम्म भरिन्थ्यो। पोखरीबाट निस्कनेपानीले गाउँमा सिचांइ हुन्थ्यो। अहिले यी दुवै नाम मात्रैका पोखरी भएका छन्। पानी देखिन छोडेको छ। दुवैको ब्यथा एउटै हो, सडक बिस्तारपछि पोखरी नै सुकेका छन्।

फुङलिङ र साँघु मात्रै नभएर जिल्लाभरिकै अवस्था यस्तै छ। लेकाली क्षेत्रमा रहेका ठुला पोखरी सुकेसँगैतल्लो क्षेत्रमा खानेपानीका मुहानपनि सुक्न थालेका छन्। जैविक विविधता, पानीका स्रोतलाई ध्यान नदिई विकासका नाममा गरिने जथाभावी सडक विस्तारले पानीका स्रोत सुक्दै गएको सिरिजंघा गाउँपालिका ६ खेवाङका कमला भुजेलको गुनासो छ।

सडक निर्माणमा डोजर चलाउनुअघि त्यसले पार्ने वातावरणीय प्रभावका विषयमा अध्ययन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर यस्मा सम्बन्धित निकायको ध्यान गएको पाइदैन। विगतमा त यस्तो थियो नै राज्य पुनसंरचनापछि पनि यो रोकिएको छैन। गाउँमै स्थानीय सरकार आएपछिपनि यसमा ध्यान जानुको साटो उल्टै यसले निरन्तरता पाइरहेको छ।

प्रकाशित : जेष्ठ २१, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संघीय संसद्‌मा लोकसेवाको विज्ञापन सच्याउन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्‌का सांसदहरूले लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन समानुपातिक समावेशी सिद्धान्तअनुसार नभएको भन्दै सच्याउन माग गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथि छलफल भइरहँदा उक्त विषयले प्राथमिकता पाएको छ । संसद्‌मा प्रतिनिधित्व गर्ने चार प्रमुख दलका सांसदहरूले विज्ञापन सच्याउनुपर्ने जनाएका हुन् । 

राजपा सांसद राजेन्द्र महतोले प्राप्त उपलब्धि क्रमशः खोस्दै जाने प्रयत्नस्वरूप आयोगमार्फत त्यस्तो विज्ञापन गराइएको आरोप लगाए । 'समावेशी समानुपातिक प्रतिनिधित्वका लागि जनताले लडाइँ लडेको हो, हामी सबैले लडेका हौं । तर, लोकसेवाको विज्ञापनमा समावेशिता हरायो ?' उनले भने, 'यो प्रतिगमनतर्फ गएको होइन ? हेर्दाहेर्दै सारा उपलब्धि गुम्ने संशय बढेको छ ।' उनले कुनै पनि बहानामा जनताले प्राप्त गरेको, अभ्यास गरिरहेको अधिकार खोस्न नहुने भन्दै त्यसका लागि फेरि लड्नुपर्ने अवस्था ननिम्त्याउन आग्रह गरे । उनले संवैधानिक व्यवस्थाविपरीत गरिएको विज्ञापन तत्काल सच्याउन माग गरे ।

सत्तारूढ नेकपाका सांसद महेश्वरजंग गहतराजले संविधानको धारा ३८, ४० र ४२ विरुद्ध आयोगले समावेशी समानुपातिक पद्धतिविपरीत गरेको विज्ञापन सच्याउन आग्रह गरे । उनले उक्त सूचना खारेज गरेर प्रदेश लोकसेवा आयोगमार्फत स्थानीय तहमा पदपूर्तिको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरे । कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले लामो समयदेखि अभ्यासमा रहेको समावेशी पद्धतिको व्यवहारलाई विभिन्न बहानामा छल्न खोजिएको भन्दै समावेशी प्रतिनिधित्व सिद्धान्तमाथि सरकारको निर्मम व्यवहार बाहिर आएको उल्लेख गरे । उनले बदनियतपूर्ण ढंगले ल्याइएको विज्ञापन खारेजीको माग गरे ।
संघीय समाजवादी फोरमका सांसद रामसहाय यादवले समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तविपरीत गरिएको विज्ञापनले लोकसेवा आयोगको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उब्जिएको उल्लेख गरे । उनले संविधानको मर्म, भावना र विद्यमान कानुनविपरीत विज्ञापन आएको आरोप लगाए । उनले आदिवासी जनजाति, मधेसी, दलित लगायतले पाउनुपर्ने सिट नपाएको भन्दै त्यसलाई स्थगित गरेर परिमार्जनसहित पुनः विज्ञापनको माग राखे ।

माइतीघरमा प्रदर्शन
मधेसी विद्यार्थीहरूले आयोगको विज्ञापन समावेशी नभएको भन्दै मंगलबार पनि माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले राजपा र फोरम कार्यालय पुगेर नेताहरूलाई आयोगको विज्ञापनबारे ध्यानाकर्षण समेत गराए । संघर्ष समिति महासचिव अजय मिश्रले लोकसेवा आयोगले गरेको विज्ञापन असंवैधानिक रहेकाले त्यसलाई सच्याउन आफूहरूले दवाबमूलक कार्यक्रम चलाइरहेको बताए ।

प्रकाशित : जेष्ठ २१, २०७६ २१:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT