ग्यासमा रक्सी पर्दा आगलागी

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका ८, शेराकुनाको एउटा घरमा बिहीबार दिउँसो आगलागी भएको छ । 

टीनले छाएको २ तले कच्ची घरमा आगलागी हुँदा माथिल्लो तलाका सवै सामान नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार भाडामा बस्नेले सिलिन्डर नजिकै ग्यास ठूलो पारेर रक्सी पार्दै गर्दा ग्यास लिक भएको र आगलागी भएको बताए।

इन्सपेक्टर बसन्त पाण्डेले ग्यास चुलो नजिकै राखेर ग्यास ठुलो गरी बाल्दा ग्यास लिक भएर आगलागी भएको हुनसक्ने बताए। ‘ग्यास बालेर घर बस्दै आएका मान्छे अर्को कोठामा बसेछ। त्यही बेला ग्यास लिक भएर आगो लागेछ’ उनले भने।

स्थानीय नाराइनबहादुर सुयेलको पक्की घर नजिकै कच्ची घरमा मानिस भाडामा राखिएको थियो। दिउँसो साँढे १ बजे आगलागीको खबर आएको र दमकलसहित प्रहरी, सशस्त्र प्रहरी पुगेर स्थानीयको सहयोगमा आगो निभाएको इन्सपेक्टर पाण्डेले बताए।

उनका अनुसार समयमै दमकल, प्रहरी पुगेर स्थानीयसंगै आगो निभाएको थियो। ४० मिनेटमा आगो नियन्त्रणमा लिएको र पक्की घर आगलागी हुनबाट जोगिएको उनले बताए। उनका अनुसार आगलागीबाट माथिल्लो तलामा रहेको २ कोठाका लत्तकपडा, भाँडाकुँडासहित सवै सामान जलेर नष्ट भएको छ। करीब १४ लाख रुपैयाँ बराबरको क्षति भएको इन्सपेक्टर पाण्डेले बताए।

उक्त घरमा सोमबहादुर गुरुङ, गजेन्द्र तुम्बा र सलिमाया गुरुङको ३ परिवार बस्ने र तिनै परिवारलाई नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाले त्रिपाल र कम्मलसहित, भाँडाकुँडा, बाल्टी लगायतको राहत सेट प्रदान गरेको रेडक्रसका मन्त्री सुशिलचन्द्र अधिकारीले बताए।




प्रकाशित : असार ५, २०७६ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्

‘कांग्रेसले संसदीय मर्यादा नाघ्यो’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभामा सत्तपक्षका सांसदले सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएकामा प्रमुख प्रतिपक्षी कांग्रेसको आलोचना गरेका छन् । त्यही विषयलाई लिएर बिहीबार सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच घोचपेचसमेत भएको थियो । उनीहरूले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिएर संसदीय मर्यादा नाघेको आरोप लगाए । 

सत्तापक्षीय सांसदहरूले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले बेलायतमा पढे पनि त्यहाँबाट संसदीय परिपाटी सिक्न नसिकेको आरोप लगाए । सत्तापक्षका सांसद योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई बोल्न नदिएको प्रसंग जोडै सदनमा दुःखद घटना देख्नुपरेको बताए । उनले प्रतिपक्षको व्यवहारले संसदलाई अराजकतातिर लैजान लागेको आरोप लगाए ।

भट्टराईले प्रतिपक्षले सभामुखको निर्देशन नमानेर संसदीय मर्यादा घटाउने काम गरेको बताए । ‘कम्युनिस्टले मात्र संविधान र संसदीय निर्देशिका पालना गर्नुपर्ने हो र ?’ उनले भने, ‘प्रधानमन्त्रीले बोल्न चाहेका बेला संसदमा बोल्न नपाउने यो कस्तो संसदीय मर्यादा हो ?’ उनले संविधान नमाने पनि संसारले पार्टीलाई प्रजातन्त्रवादीको श्रीपेच भिराएको छ भन्ने सोच कांग्रेसमा रहेको बताए । सत्ताक्षकै सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीले आफ्नो विचार राख्न खोज्दा नदिएको भन्दै प्रतिपक्षलाई प्रतिनिधिसभाको नियमावली ख्याल गर्न आग्रह गरे ।

प्रकाशित : असार ५, २०७६ २१:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्