लिबियाबाट फर्केका पूर्ण अधिकारीले भने, 'बरु नेपालमा हलो जोतेर खानुस्, बिन्ति छ अवैध बाटोबाट परदेश नजानुस्'

जनकराज सापकाेटा

काठमाडौँ — अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को सहयोगमा द्वन्द्वग्रस्त लिबियाबाट शुक्रबार फर्केका आठ जनाले महिनौं लामो कष्टकर बसाईपछि बल्लतल्ल बाँचेर नेपाल फर्केको बताएका छन् ।

गत मंगलबार त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमणमा उनीहरुसँगै लिबिया पुगेका लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भएको थियो। त्रिपोलीबाट अवैध रुपमा डुंगा चढेर इटाली छिर्न खोजेका आठ जनालाई भने सामुन्द्रिक सुरक्षा गार्डले फर्काएपछि झण्डै एक महिना आप्रवासी क्याम्पमा बसेर उनीहरु नेपाल फर्किएका हुन्।

शुक्रबार बिहान सात बजे टर्किस एअरलाइन्समार्फत काठमाडौं आएका पीडितहरुले कान्तिपुरसँग महिनौ लामो कष्टसाध्य यात्राको कहर सुनाए। उनीहरुले एजेन्टले मिलाएको सेटिङमा सजिलै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा दुबई पुगेको र त्यहाँबाट लिबिया पुगेको बताए। पूर्ण अधिकारीले भने, 'बरु नेपाली दाजुभाइ नेपालमा हलोजोतेर बस्नुस्। तर अवैध बाटोबाट परदेश नआउनुहोला।'

प्रकाशित : असार २०, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

खोला र नदीले बगाएर ३ बेपत्ता 

कान्तिपुर संवाददाता

काठमाडौँ — नुवाकोट र लमजुङमा खोला-नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । नुवाकोटको तादी गाउँपालिका २ घट्टेखोला तर्ने क्रममा १७ वर्षीय विनोद लामा तामाङ र १७ वर्षीय देवकृष्ण तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी राजेश थापाले बताए ।

उनीहरु सातबिसे बजारबाट सामान किनेर घर फर्कंदै थिए । बेपत्ताको खोजी गर्न जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय खरानीटार र सशस्त्र प्रहरी बलको टोली खटिएका छन् ।

यस्तै लमजुङको सुन्दरबजार नगरपालिका ९, भोटेओडार बेलघारी पुलको छेउ बस्दै आएकी ७ बर्षीया बालिकालाई मर्स्याङदी नदीले बगाएको छ । पारिपट्टी दोर्दी गाउँपालिका १ बेलघारीकै रत्न प्राथामिक विद्यालयमा कक्षा ३ मा पढ्ने ऋतु गुरुङलाई शुक्रबार मर्स्याङ्दी नदीले बगाएको हो । बेलघारीको बालुवा चाल्दै गरेका आफ्नी आमालाई खाजा दिएर फर्कने क्रममा बिहान साँढे १० बजेतिर मर्स्याङ्दी नदीले उनलाई बगाएको प्रहरीले बताएको छ ।

प्रहरीले बालिका खोजी जारी राखेको बताएको छ ।

प्रकाशित : असार २०, २०७६ १६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्