लिबियामा नेपाली शरणार्थी रहेको क्याम्प बाहिर गोली चल्दा भित्र त्रासदी
काठमाडौँ — गत मंगलबार लिबियाको त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमणमा लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भयो । सन्तोष जसरी नै एजेन्टको सेटिङमा लिबिया पुगेका आठ जना भने शुक्रबार मात्रै नेपाल फर्किए ।
नेपाल फर्केकाहरुले लिबियामा द्वन्द्व चर्किन थालेपछि आफूहरु अवैध रुपमा इटाली छिर्न खोजेको र त्यही बेला सामुद्रिक सुरक्षाका निम्ती खटिएका सुरक्षाकर्मीले लिबिया नै फर्काइदिएको बताए । लिबियाको त्रिपोली नजिकैको एक क्याम्प राखिएका नेपालीहरुले त्यहाँ प्रत्येक दिन जसो विद्रोही समूहहरु र माफिया ग्रुपबीच हुने दोहोरो भिडन्तको आवाज सुन्न पाए ।
लिबियाबाट फर्केका एक नेपालीले दोहोरो फायरिङ चलेका बेला क्याम्प भित्र बसिरहेका आप्रवासीबीच फैलिने आतंक र चिच्याहटको भिडियो खिचेका थिए । क्याम्प बसाइका बेला उनको मोबाइल, राम्रा कपडा र साथमा भएका केही सय डलर लुटिएपनि उनले मोबाइलको मेमोरी कार्ड अन्डरवेयरमा लुकाएर राखेका थिए ।
शुक्रबार काठमाडौं ओर्लेपछि उनले त्यही मेमोरी कार्ड कान्तिपुरलाई उपलब्ध गराए । जसमा आप्रवासी क्यापभित्र बसेका बेला बाहिर हुने दोहोरो फायरिङले कस्तो आतंक सिर्जना गर्थ्यो र लिबियामा अहिले हिंसाको कुन स्थिति छ भन्ने बुझाउँछ ।
प्रकाशित : असार २०, २०७६ १६:४३