एयर अल्जेरीमा सवार सबैको मृत्यु

पेरिस (बीबीसी) — फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ होलान्डले बिहीबार मालीमा दुर्घटनाग्रस्त एयर अल्जेरी एएच- ५०१७ यात्रु जेटमा सवार कोही पनि जीवित नरहेको बताएका छन् । त्यसमा ५१ फ्रान्सेली नागरिकसहित १ सय १६ यात्रु सवार थिए ।


पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोसँग जोडिएको मालीको सीमा नजिकको दुर्घटनास्थलमा फ्रान्सेली सेनाले फ्लाइट डाटा रेकर्डर बरामद गरेको उनले जानकारी दिए । उडान गरेको करिब ५० मिनेटमै बिहीबार बिहानै चालकले डरलाग्दा धुलोको आँधी चलिरहेको रिपोर्ट नाइजरको राजधानी नियामीस्थित कन्ट्रोल टावरलाई गरेपछि उक्त विमान एयर ट्राफिक कन्ट्रोलको सम्पर्कबाट हराएको थियो ।
बुर्किना फासोको राजधानी विगडुईगुईबाट अल्जियर्सका लागि उडेको म्याकडोनल डुगल्स एमडी-८३ विमानलाई स्पेनी एयरलाइनको स्विफ्ट एयरले चार्टर गरेको थियो । पहिलो उडान सन् १९८४ मा गरेको उक्त विमानमा १ सय ७२ यात्रु अटाउन सक्छ । दुर्घटनामा परेलगत्तै विमान नष्ट भएको फ्रान्सेली गृहमन्त्री बर्नाड काजेनुभले पुष्टि गरेका छन् । 'आँधीकै कारणले दुर्घटना भएको भनिए पनि केही भन्न सकिने अवस्था छैन,' उनले भने । ३० वाहनसहित सय फ्रान्सेली सैनिकको समूह शुक्रबार दुर्घटनास्थलमा पुगेको थियो । मालीमा अल कायदा समर्थित विद्रोहीसँग लड्न गत वर्ष परिचालन गरेको सैन्य बलसँग उक्त समूह आबद्ध छन् । 'सैनिकले पहिलो अनुसन्धान सुरु गरेको छ,' राष्ट्रपति फ्रान्स्वाँ होलान्डले भने, 'कोही पनि नबच्नु दुःख लाग्दो हो ।' विमानमा लेबनानका ८, अल्जेरियाका ६, लक्जेमवर्गका दुई, क्यानाडाका पाँच, जर्मनीका चार, क्यामरुन, बेल्जियम, इजिप्ट, युक्रेन, स्विट्जरल्यान्ड, नाइजेरिया र मालिका एक/एक यात्रु थिए । जहाजका ६ कर्मचारीहरू भने स्पेनका थिए ।    





 

प्रकाशित : श्रावण १०, २०७१ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'दानवीर अर्जुन’

साताका व्यक्ति

मातृभूमिमा अनेक थरी दुःखजिला गौंडाहरू पार गरेर अमेरिका पुग्ने अधिकांश नेपालीको सपना बाँकी जीवनलाई आर्थिक रूपले सरल बनाई सुखले बाँच्ने हुन्छ।

तर, अमेरिकन नागरिक बनिसकेका काभ्रे सिपालीका अर्जुनप्रसाद मैनाली भने यस 'मान्यता' का अपवाद पात्र हुन्। जो निःस्वार्थ भावनाले रक्तदान गर्दै र गराउने विश्वव्यापी अभियान चलाउँदै २७ वर्षदेखि मानवीय सेवामा जुटिरहेका छन््।
२०४४ भदौ ४ गते पहिलोपटक राजधानीको विशालबजारस्थित लायन्स क्लबमा रक्तदान गरी सामाजिक कार्यमा पाइला टेकेका मैनालीको परोपकारी यात्रा १ सय २१ औं पटकमा आइपुगेको छ। हालैको असार २८ गते मकाउस्थित रक्तसञ्चार केन्द्रमा पुगेर १९ जना प्रवासी नेपालीसँग उनले गरेको रक्तदान १ सय २१ औं पटक थियो। एकपटक गरिएको रक्तदानले तीन जनाको जीवनलाई जोगाउन सकिन्छ। यस हिसाबले मैनालीले हालसम्म दिएको ५४ हजार मिलिलिटर अर्थात् ५४ लिटर रगत दान गरिसकेका छन््। यसले ३ सय ६३ जना बिरामी बचाउन मद्दत पुगेको देखिन्छ।
हाल न्युयोर्कको हिक्सभिलमा पत्नी तारा र दुई छोराछोरीका साथ बस्दै आएका मैनालीले 'किन रक्तदानलाई नै अभियान बनाए?' भनी मैले सोध्दा, उनले २७ वर्षअघिको विगत सम्झिए। जति बेला उनी लुखुरलुखुर न्युरोडको विशालबजार हुँदै मखनतिर सिनेमा हेर्न हिँडिरहेका थिए, त्यहाँ उनका आँखाले लायन्स क्लबको ब्यानरमा रक्तदान भइरहेको देख्यो। हिन्दी सिनेमाको मनोरञ्जन लिन हिँड््दै गइरहेका उनका पाइला एकाएक रगत दिनेहरूको लाइनतर्फ मोडिए। र, १९ वर्षको उमेरमा पहिलोपटक उनले रक्तदान गरे। त्यहाँबाट सुरु भएको यात्रा यतिबेला विश्वव्यापी बनेको छ। उनको शरीरमा रगतको अभाव भएको छैन। रगत दान गरेरै बिरामीसमेत नभएका उनी थाकेका पनि छैनन््। 'मलाई रगत दिई अरूको जीवन बचाउनमै आत्मसन्तुष्टि मिल्छ,' रक्तदान अभियानमा संलग्न चार नेपाली समूह र एक जना सञ्चारकर्मीलाई आफ््नै पहलमा पुरस्कार प्रदान गर्न बुधबार कान्तिपथ पुगेका मैनालीले उपराष्ट्रपति परमानन्द झासँगको भलाकुसारीमा भनेका थिए।
रक्तदान गरेकैले लायन्स क्लब इन्टरनेसनलको 'लियो अफ दि एयर-१९९६' पुरस्कार पनि थापिसकेका मैनालीले कान्तिपुरसँगको कुराकानीमा भने, 'समाजसेवाभित्रको पनि सबैभन्दा उत्कृष्ट काम यही हो, आत्मसन्तुष्टिका लागि बाँचुञ्जेल अरूलाई बचाउन रगत दिनमै लागिरहनेछु।' मैनाली रक्तदान सबैले चाहेर दान गर्न नसक्ने सेवा मान्छन्। 'रगत दिन भित्रै मनदेखि भावना जाग्नुपर्छ। दिन्छु भन्ने भावना जागेर मात्रै हुँदैन,' राजा वीरेन्द्रबाट पनि राष्ट्रिय सम्मान थापिसकेका उनले उमेर र स्वास्थ्यले साथ दिउन्जेल यो अभियानबाट पछि
नहट््ने बताए ।
रक्तदान गर्न प्रवासी नेपालीहरूका साथ बरमुडा, बेलायत, क्यानडा, भारतमा समेत पुगिसकेका मैनालीले नेपालमा मात्रै ४९ औं पटक रक्तदान गरिसकेका छन् भने अमेरिकामा ६७ औं पटक। वाषिर्क ९ पटकसम्म रगत दान गरेको उनले रगत दिँदा कमजोर महसुस कहिल्यै नगरेको बताए। मीनभवन क्याम्पसमा आईकम पढ््दाताका अंग्रेजी पुस्तकमा 'द ब्लड डोनर' पाठमा अमेरिकन पात्रले रगत दान गर्दै धेरैलाई बचाएको कथाले प्रेरित गरेको उनले बताए।
१४ वर्षअघि अमेरिका भासिएका काभ्रे सिपालीका मैनालीले सुरुवाती दिनमा होमलेस सेन्टरमा दिन गुजारे। तीनपटकसम्म पत्थरीको शल्यक्रिया गराइसकेका उनले सुरुका दिनमा दुःखजिलोबाट जीवन गुजारिएको सुनाउँदै आफ््ना लागि दुःख नङ र मासुजस्तै रहेको भने। न्युयोर्कमा गेइको बिमा कम्पनीका साधारण कर्मचारी मैनालीलाई सहकर्मीहरूले 'ब्लड म्यान' तथा 'ब्लड डोनर क्याप्टेन' भनी सम्बोधन गर्छन््। २६ सय कर्मचारी रहेको त्यस बिमा कम्पनीले हरेक वर्ष दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्छ। त्यहाँ उनी क्याप्टेन भई रक्तदान गर्न प्रेरित गर्छन्।
२०४७ सालताका उनीसहितका रक्तदाताले स्थापना गरेको 'ब्लड डोनर्स एसोसिएसन अफ नेपाल' लाई विस्तार गर्दै १९ वर्षपछि मैनालीले 'ब्लड डोनर्स अफ अमेरिका' नामको संस्था खडा गरे। २५ बढी राज्यमा छरिएका नेपालीका संस्थालाई एकीकृत गरी रगत दान अभियान चलाउँदै आएका मैनालीको अभियानले सफलता पाउँदै गएपछी ६ महिनअघि 'ब्लड डोनर्स अफ अमेरिका' लाई 'इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स' नामको परोपकारी संस्थामा परिणत गरियो ।
१७ वटा मुलुकमा छरिएका नेपालीहरू जो रक्तदान गर्छन् तिनलाई एकसूत्रमा बाँधेर अघि बढेका मैनालीको यही संस्थाले नेपालमा रगत अभाव हुँदा उपलब्ध गराउन मद्दत गर्ने चार वटा अभियन्तालाई उपराष्ट्रपतिको कार्यालयमा सम्मान गर्‍यो।
असहाय बिरामीलाई रगत उपलब्ध गराएर बचाउन मद्दत गर्ने तीन वटा नेपाली अभियन्तालाई जनही ५० हजार रुपैयाँ राशिको पुरस्कार बुधबार उपराष्ट्रपति परमानन्द झाले दिएका थिए। पुरस्कार पाउनेमा एचआर नेगेटिभ रक्त समूहका जीवन बस्नेत, युथ फोर ब्लडका निरञ्जन पौडेल र क्लब २५ का राजन कँडेल थिए। यिनका साथसाथै कान्तिपुर दैनिकका स्वास्थ्य संवाददाता अतुल मिश्रलाई पनि २५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको थियो।
सातामा ३७ घन्टा काम गरी झन्डै ४५ हजार रुपैयाँ हाराहारी आर्जन गर्ने मैनाली पारिश्रमिकको ८० प्रतिशत रकम समाजसेवाका लागि
छुट््याउने गरेको बताउँछन््। रगत दानका लागि विद्यालय, समुदाय, सरकारी कार्यालय, कर्पोरेट हाउसमा अभियान चलाउने मात्रै होइन, नेपालका असहायबारे अनलाइनमा समाचार सार्वजनिक भएपछि उनी रकमको जोहो गरी पठाइहाल्छन््। रगत दानका लागि युवामा चेतना जगाउन उनले २०६९ भदौमा काभ्रेका ३ सय सामुदायिक विद्यालयमा 'रक्तदान जीवनदान' विषयमा निबन्ध प्रतियोगिता गराए। जसमा ६ सय बढी विद्यार्थी सहभागी थिए। यसमा लागेको १ लाख २८ हजार रुपैयाँ खर्च मैनालीले बेहोरेका थिए।
मैनाली रगत अभावमा हुने मृत्यु, महिला हिंसा, पारिवारिक कलहमा ज्यान गुमाउने, आगलागी, भूकम्पपीडित, असहायलाई पनि सहयोग गर्छन््। उनले अमेरिकामै बसेर यसका लागि २५ लाख बढी रुपैयाँ पठाई आर्थिक सहयोग गरिसकेको बताए। यसमा पनि आजीवन सघाउने प्रण गरी एक्लो अभियान चलाइरहेका मैनालीलाई अत्यधिक रक्तस्रावले पीडित मुगुकी जौकला नेपाली, दसैंमा मासु किन्न नसकेर आत्महत्या गरेका चितवन माडीका धनबहादुर दमाईको परिवार, इनार खनाउन र ऋण तिर्न भारततिर भासिएका तर उतै घरमुनि च्यापिएर मृत्यु भएका दाङ गोल्टाकुरीका दीपक वलीको परिवारले कहिल्यै बिर्सने छैनन्। सरकारले भन्दा चाँडो सहयोग जुटाई चहराइरहेको घाउमा मल्हम लगाउने मैनाली तत्कालै आर्थिक सहयोग जुटाई रेमिट्यान्स कम्पनीमार्फत सहयोग पठाइहाल्छन््। गएको दसंैमा शौचालयमा बस्दै आएकी गुल्मीकी ज्ञानी परियार र साथीकोमा बस्न गएकी गुल्मीकी एक बालिका बलात्कृत भएपछि उपचार र पढाइका लागि पारिश्रमिकबाट खिचेर उनले तत्काल सहयोग पठाइदिए। यस्ता दुखिया पात्रहरूको सूची मैनालीको ल्यापटपमा लामै छ।
उनीबाट सहयोग पाउनेको सूची जति लामो हुँदै गएको छ, त्यसै अनुरूप अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुसबाट प्रेसिडेन्टियल भोलेन्टियर सर्भिस अवार्ड पाइसकेका मैनालीलाई सम्मान दिनेको सूची २ दर्जनभन्दा लामो बनिसकेको छ। सुरुका दिनमा नेपालमा पुरस्कृत भएका मैनालीलाई जन्मदिनको साइत पारी न्युयोर्क राज्यका तर्फबाट एसेम्ब्लीम्यान माइकल मोंटेसानोले सम्मान दिलाए। सन् २००९ मा अमेरिकन रेडक्रसले 'द गुड नेइबर' सम्मान दियो। एउटा साधारण नेपालीले पाएको यो पुरस्कारले नै आफूलाई थप हौस्याएको उनले बताए। २०११ मा बेसबल टिम मेट््स्कोको घरेलु रंगशालामा भेला भएका दसौं हजार दर्शकबीच मैनालीलाई 'ब्लड डोनर अफ दि गेम' सम्मान दिइयो। थुप्रै कार्यक्रममा मैनालीलाई प्रथम रक्तदाताको सम्झना गर्दै सम्मान गरिएको थियो। कतै एएनए हिरो, कतै लिडर अफ दि एयर तथा सेन्चुरी ब्लड डोनर उपमा पाउँदै आएका मैनालीलाई अमेरिकाको मेम्बर अफ कंग्रेस टिमले सर्टिफिकेट अफ स्पेसल कंग्रेसनल रेकगनाइजेसन २००७ पनि दिलाएको छ। यी सबै पुरस्कार उनले आफ्नो फेसबुक पेज र 'पर्सलन वेबपेज' मा राखेका छन्।
४७ वषर्ीय सेन्चुरी ब्लड डोनर मैनालीले ७० वषर्ीय उपराष्ट्रपति झासमक्ष आफूले पाएका सबै पुरस्कारको नाम सम्झन सकेनन््। तर दिल खोलेर भने, 'भित्री भावनाबाट कसैलाई सघाउने इच्छा राख्दा पूरा गर्न सकिने रहेछ। मेरो सानो सहयोगले जति मानिसहरू खुसी छन््। त्योभन्दा धेरै गुना म खुसीले आनन्दको पोखरीमा डुबिरहेको छु।'
 
 

प्रकाशित : श्रावण १०, २०७१ ०९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT