कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ज्याकी च्यानका छोरा पक्राउ

बेइजिङ (बीबीसी/सीएनएन) — लागू पदार्थ सेवन गरेको आरोपमा हलिउडका प्रसिद्ध अभिनेता ज्याकी च्यानका छोरा जैसीलाई चिनियाँ प्रहरीले पक्राउ गरेको छ।

ज्याकी च्यानका छोरा पक्राउ
मूलतः हङकङवासी अभिनेता ३१ वर्षे जैसी र ताइवानी फिल्मका स्टार तथा गायक २३ वर्षे काई कोलाई थुनामा राखिएको बेइजिङ प्रहरीको आधिकारिक वेबसाइटमा उल्लेख छ।
दुवैलाई गाँजा सेवन गरेकोमा दोषी पाइएको प्रहरीले जनाएको छ। जैसीको घरबाट सय ग्रामभन्दा बढी लागू पदार्थ बरामद भएको छ। नसालु पदार्थविरुद्ध सुरु गरिएको कडा कारबाहीको क्रममा उनीहरू पक्राउ परेका हुन्। जैसीमाथि अन्य दुव्र्यसनीलाई पनि शरण दिएको प्रहरीले आरोप लगाएको छ। यो अभियोग प्रमाणित भएमा उनलाई चिनियाँ कानुन अनुरूप बढीमा ३ वर्ष जेल हुन सक्छ।
उनको पिता ज्याकी सन् २००९ मा लागू पदार्थ नियन्त्रण राजदूत रहिसकेका छन्। अर्कोतिर काई कोले सन् २००९ मा चिनियाँ भाषा फिल्मको ओस्कार भनिने गोल्डेन हर्स फिल्म अवार्डसमा नवोदित उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए। उनले फिल्म 'यु आर एप्पल अफ माई' का लागि चिनियाँ फिल्म मिडिया अवार्ड पनि पाएका थिए। काई कोले आफूबाट ठूलो गल्ती भएको भन्दै प्रशंसक र समर्थकहरूसँग माफी मागेका छन्। पिता ज्याकी वा छोरा जैसीबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन। पिता भने छोराको पक्राउको सम्बन्धमा बुझ्न बेइजिङमा छन्।
जारी कारबाहीमा थुप्रै हस्तीहरूलाई प्रहरीले हिरासतमा लिएको छ। चीनका राष्ट्रपति सी जिनपिङले गत जुनमा अवैध लागू पदार्थको सामना गर्न सशक्त कदम चाल्न निर्देशन दिएका थिए। यसअघि 'द फ्लावर्स अफ वार' भन्ने फिल्मका अभिनेता ४० गाओ हुलाई पनि गाँजा र लागू औषध मेथाफेटामिन बोकेकोमा यो महिनाको सुरुमा पक्राउ गरिएको थियो। यसअघि यस्तै काण्डमा लोकपि्रय फिल्म अभिनेता झाङ मो र गायक ली दाइमोलाई ९ महिना जेल भइसकेको छ।
मुलुककै सबभन्दा प्रसिद्ध अभिनेताका छोरालाई पक्राउ गरेर प्रहरीले लागू पदार्थको कारोबार र सेवनलाई नसहने प्रष्ट सन्देश दिएको छ। सेलिब्रेटीको आचरणले प्रशंसक (फ्यान) माथि ठूलो प्रभाव पार्ने हुनाले उनीहरूलाई लक्ष्य बनाइएको लागू पदार्थ नियन्त्रण एकाइका एक सरकारी सल्लाहकारले बताए।
गत साता बेइजिङमा कलाकार व्यवस्थापन सम्बन्धी ४२ वटा संस्थाले लागू पदार्थको समस्याले ग्रस्त सेलिब्रेटीलाई काम नदिने प्रहरीले तयार पारेको एक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। अहिलेसम्म प्रहरीको अभियानमा ७ हजारभन्दा बढी पक्राउ परिसकेका छन्। त्यहाँ लागू पदार्थ सेवनकर्तामा वर्षेनि ७२ प्रतिशतले वृद्धि भइरहेको छ।




 

प्रकाशित : भाद्र ४, २०७१ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?