इस्लामिक स्टेटद्वारा अमेरिकी पत्रकारको हत्या

वासिङ्टन (एएफपी) — जिहादी समूह इस्लामिक स्टेटले मंगलबार अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरिएको भिडियो सार्वजनिक गरेको छ। उसले अमेरिकाले इराकमा हवाई आक्रमण नरोकेमा अर्का एक पत्रकारको पनि हत्या गर्ने चेतावनी दिएको छ।

बीबीसीका अनुसार अमेरिका, बेलायत र फ्रान्सले उक्त घृणित अपराधको निन्दा गरेको छ।
इस्लामी समूहले सार्वजनिक गरेको भिडियोमा टाउको छोपिएका एक लडाकुले फोलीजस्ता देखिने पुरुषको घाँटी रेटेको देखाइएको छ। फोलीलाई सन् २०१२ को नोभेम्बरमा सिरियामा अपहरण गरिएको थियो।
बन्धक बनाइएका अर्का अमेरिकी पत्रकार स्टिभन सटलफ हुन्। उनलाई जीवित देखाइएको छ। फोलीका आमा डायनाले फेसबुकमा समर्थकलाई छोराप्रति गौरव गर्ने तथा उसले सिरियाली जनताको पीडा विश्वसामु उदांगो पार्ने प्रयासमा जीवन गुमाएको भावना पोखेकी छन्।
उनले बन्धक बनाइएका बाँकीलाई रिहा गरिदिन अपहरणकर्तासँग अनुरोध गरेकी छन्।     ह्वाइट हाउसले अमेरिकी गुप्तचरहरूले उक्त भिडियोको अध्ययन गरिरहेको भनेको छ। राष्ट्रपति बाराक ओबामालाई यस विषयमा जानकारी दिइएको उसले जनाएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता केटलिन हेडनले एक निरपराध अमेरिकी पत्रकारको क्रूर हत्याबाट आफूहरू त्रस्त भएको र मृतकको परिवार तथा मित्रहरूप्रति गहिरो समवेदना प्रकट गर्ने बताए। फोली अनुभवी पत्रकार थिए। उनले सिरिया जानुपूर्व लिबियामा युद्धको समाचार संकलन गरेका थिए। सिरियामा राष्ट्रपति बसार अल-असादको शासन विरुद्ध विद्रोह भएपछि उनी त्यहाँ पुगेका थिए। उनले ग्लोबलपोस्ट, एजेन्स फ्रान्स प्रेस तथा अन्य आमसञ्चारलाई समाचार उपलब्ध गराउँथे।
प्रत्यक्षदर्शीहरूले फोलीलाई सिरियाको इडलिब प्रान्तबाट २०१२ को नोभेम्बर २२ मा अपहरण गरिएको बताएका छन्। गत वर्ष अपहरणमा परेका सोटलफले टाइम, फोरेन पोलिसी तथा द क्रिस्चियन साइन्स मनिटरजस्ता अनेकौं अमेरिकी समाचारपत्र तथा पत्रिकालाई समाचार उपलब्ध गराएका छन्।  
फोलीको हत्या एक खुला मरुभूमिमा गरिएको छ। उनलाई गुआन्टानामो बेमा अमेरिकी नौसैनिक केन्द्रमा बन्दीले लगाउने जस्तो लुगा लगाएको देखाइएको छ।
हत्याराले इस्लामिक स्टेटमाथिको कुनै पनि आक्रमण मुसलमान माथिको आक्रमण भएको ठानिएको र सबै स्थानका मुसलमानले खलिफात तथा त्यसका नेतृत्वलाई स्वीकार गरेको बताए।

प्रकाशित : भाद्र ५, २०७१ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोनरोभिया सहरमा कर्फ्यु

मोनरोभिया (बीबीसी) — इबोला भाइरसबाट ग्रस्त लाइबेरियाको राजधानी मोनरोभियाको सबभन्दा ठूलो झुपडी बस्तीलाई अलगथलग पारेर कर्फ्यु लगाइएको छ।


राष्ट्रपति एलन जोनसन सरलिफले वेस्ट प्वाइन्ट क्षेत्रमा रातभर कफ्र्यु जारी रहने बताएकी छन्। उक्त क्षेत्रमा आवागमन बन्द रहने उनले भनेकी छन्। आन्ध्र महासागर किनारस्थित उक्त क्षेत्रमा सुरक्षाकर्मीले गस्ती गरिरहेका छन्। तटरक्षकहरूले डुंगाबाट अनुगमन गरिरहेका छन्।
अधिकारीहरूको चेतावनी र स्वास्थ्यकर्मीको सल्लाहलाई नमान्दा सरकार इबोला नियन्त्रण गर्न असफल भएको उनले बताएकी छन्। विश्व स्वास्थ्य संगठनको निर्णयअनुरुप इबोलाविरुद्ध प्रयोग गरिएको प्रयोगात्मक औषधिले निकै सुधार भइरहेको सूचनामन्त्री लुविस ब्राउनले बताएका छन्। उक्त मुलुकले सावधानी अपनाउँदै यस मुलुकको सुरुमै संकटकाल घोषणा गरिसकेको छ। संक्रमितको शरीरबाट निस्कने तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्छ।

प्रकाशित : भाद्र ५, २०७१ ०९:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT