थाइल्यन्डमा सैनिक जनरल प्रधानमन्त्री बनाइए

बैंकक — थाइल्यान्डको सैनिक सरकार ‘जुन्ता’ ले सैनिक शासन जनरल प्रायुथ चान ओचालाई प्रधानमन्त्री पदमा मनोनयन गरेको छ । मुलुकको राष्ट्रिय व्यवस्थापिका सभा (एनएलए) वा सैनिक ‘कु’ पछिको अन्तरिम व्यवस्थापिकाले बिहीबार चान ओचालाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्त गर्दै थाइल्यान्डको २९औँ प्रधानमन्त्री घोषणा गरेको छ ।



सैनिक सरकारद्वारा मनोनयन गरिएका सबै १९४ जना व्यवस्थापिका सभासद्हरुमध्ये १९१ जनाले उनको समर्थनमा प्रधानमन्त्री पदका लागि उनी एकमात्र उम्मेदवारको रुपमा खडा भएका थिए । साठी वर्षीया प्रायुथले अर्को महिनादेखि थाई सैनिक सेवाबाट अवकाश प्राप्त गर्दै छन् ।

राष्ट्रिय राजनीतिमा उनलाई निरन्तरता दिने मनसायले उनलाई नै प्रधानमन्त्री पदको एकल उम्मेदवार बनाइएको बताइन्छ ।

निर्वाचित सरकारलाई गत मे २२ का दिन सैनिक ‘कु’द्वारा अपदस्थ गरेपछि प्रायुथले नै ‘डि फ्याक्टो’ प्रधानमन्त्रीको रुपमा सत्ता चलाउँदै आएका थिए ।

थाई प्रधानमन्त्रीको यस मनोनयनलाई नरेश भूमिवल अदुल्यादेजबाट एक हप्ताभित्र औपचारिक समर्थन प्राप्त हुनुपर्ने छ । त्यस पश्चात् मात्र ओचाले मन्त्रिमण्डल गठन गर्न पाउने छन् । रासस÷एपी
 

प्रकाशित : भाद्र ५, २०७१ १३:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

त्रिविमा अनुगमन शून्य

गणेश राई

काठमाडौ — मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पस अनुगमन गर्न सकेको छैन। त्रिविका देशभरि ६० आंगिक क्याम्पस छन्। तीबाहेक सम्बन्धन पाएका कति क्याम्पस सुचारु छन्, यकिन तथ्यांक छैन।

 
-    अनुगमन समिति छ, काम गर्न दिइएको छैन
-    राजधानीका १३ क्याम्पस खारेज, बाहिरका क्याम्पस अनुगमन हुन सकेको छैन
-    त्रिविका कतिपय विषय र संकाय खारेज गर्नुपर्छ: विज्ञ
त्रिविले करिब एक हजार क्याम्पस सम्बन्धन रहेको दाबी गर्दै आएको छ। तर, ती क्याम्पस कुन, कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे थाहै छैन। उसले प्रमाणपत्र तह हटाएको आधा दशक पुगेको छ। अनुगमन नहुँदा प्रमाणपत्र तह सञ्चालन सम्बन्धन लिएका क्याम्पसको संख्या कायम छ।
'राजधानी उपत्यकाबाहेक अन्यत्र कति क्याम्पस सुचारु छन्, यकिन छैन,' त्रिवि अनुगमन समितिका सदस्यसचिव विष्णु मादेन भन्छन्, 'अनुगमन गर्न सकिएको छैन।' दुई वर्षअघि त्रिविले शिक्षाध्यक्षको अध्यक्षता रहने गरी अनुगमन समिति गठन भएको छ। तर, नियुक्त ११ सदस्यीय समितिका सदस्यहरूलाई हालसम्म कार्यकक्ष र कुर्सीसमेत उपलब्ध छैन।
'त्रिविलाई उत्कृष्टको केन्द्र बनाउने भनेर नियुक्ति दिइयो,' समितिका एक सदस्यले भने, 'तर यो कोठा, त्यो कोठाका सोफा चहार्दै कार्यकाल सकिन लाग्दै छ। हामी रुमल्लिरहेका छौं।' समितिमा त्रिविका आंगिक क्याम्पसमा कार्यरत शिक्षकमध्येबाटै सदस्य मनोनयन गरिएका हुन्।
अनुगमन समितिले अहिलेसम्म राजधानी उपत्यकाका क्याम्पसमात्र अनुगमन गरेको जनाएको छ। तथ्यांकअनुसार उपत्यकामा सम्बन्धन दिइएका २ सय ४२ क्याम्पसमध्ये स्थलगत अनुगमन गर्दा २३ वटा फेला पार्न नसकेको मादेनले बताए। 'ती क्याम्पस फेला नपरेपछि सार्वजनिक सूचना जारी गरेर सम्पर्कमा आउन भन्यौं,' उनले भने, 'तीमध्ये दसवटा अस्तित्वमा रहेको भन्दै सम्पर्कमा आए। बाँकी १३ वटा खारेज गर्‍यौं। तर उपत्यकाबाहिर अनुगमन हुन सकेको छैन।'
त्रिविको प्रमाणपत्र तह बन्द भएसँगै उच्च माध्यमिक शिक्षा परिषदन्तर्गत उच्चमावि सञ्चालन गरेका छन्। त्रिविअन्तर्गत स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएका कलेजमात्र अस्तित्वमा छन्। 'अनुगमन समिति काम गर्न चाहन्छ तर पदाधिकारीले चासो नदेखाएपछि हामी सदस्यले चाहेर मात्र नहुने रहेछ,' समितिका सदस्य भैरबहादुर विष्टले भने, 'अनुगमन समितिलाई अधिकार सम्पन्न, स्रोत साधनले पूर्ण बनाइएको छैन।' समितिले 'अनुगमनका निम्ति अनुगमन'मात्र गर्नुपरेको उनले जनाए।
स्रोतका अनुसार अनुगमन गर्दा त्रिविको सम्बन्धन क्याम्पसहरूको संख्या घट्ने र विद्यार्थी संख्यासमेत न्यून हुने भएकाले पदाधिकारीहरूले अनुगमन समितिलाई अघि बढाउन चाहेका छैनन्। हरेक वर्ष करिब पाँच लाख जनाले एसएलसी दिन्छन्। तीमध्ये करिब आधा पास हुन्छन्। त्यसैगरी उच्चमाविमा भर्ना हुने करिब ३ लाखमध्ये ४५ प्रतिशतले पास गर्छन्। त्यसपछि त्रिवि र अन्य विश्वविद्यालयमा स्नातक पढाइका निम्ति भर्ना हुन्छन्। त्रिविले मुलुकको सबैभन्दा ठूलो र हरेक वर्ष दुई लाख विद्यार्थी भर्ना हुने दाबी गर्दै आएको छ।
शिक्षाविद् डा. विष्णु कार्कीका अनुसार त्रिविबाट बढीमा २८ प्रतिशत परीक्षार्थी पास हुने गरेका छन्। 'त्रिवि गाजेमाजे छ, वास्तविक विद्यार्थी कति, जाँच दिने कति र पास हुने कति भन्ने तथ्यांक बाहिर ल्याउन चाहँदैन,' कार्कीले भने, 'विद्यार्थी संख्या घटदो छ। कतिपय संकायका विषयहरूमा विद्यार्थीभन्दा शिक्षक संख्या बढी छन्। त्यसैले त्यस्ता विषय बन्द गर्नुपर्छ।'


 

प्रकाशित : भाद्र ५, २०७१ १२:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT