२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

थाइल्यान्डमा सेना प्रमुख प्रधानमन्त्री मनोनयन

बैंकक (एपी/बीबीसी) — दक्षिण-पूर्वी एसियाली मुलुक थाइल्यान्डको सैनिक सरकार 'जुन्ता' ले जनरल प्रायुथ चान ओचालाई अन्तरिम प्रधानमन्त्री पदमा मनोनयन गरेको छ। मुलुकको राष्ट्रिय व्यवस्थापिका सभा (एनएलए) वा सैनिक 'कू' पछिको अन्तरिम व्यवस्थापिकाले बिहीबार चान ओचालाई मुलुकको २९ औं प्रधानमन्त्री घोषणा गरेको छ।

थाइल्यान्डमा सेना प्रमुख प्रधानमन्त्री मनोनयन

सरकारद्वारा मनोनयन गरिएका सबै १ सय ९४ व्यवस्थापिका सभासद्हरूमध्ये १ सय ९१ जनाले ओचाको समर्थनमा मतदान गरेका थिए। ६० वर्षे ओचाले अर्को महिनादेखि थाई सैनिक सेवाबाट अवकाश प्राप्त गर्दै छन्। राष्ट्रिय राजनीतिमा उनलाई निरन्तरता दिने मनसायले प्रधानमन्त्री पदको एकल उम्मेदवार बनाइएको बताइन्छ। १५ मिनेटभित्र संसदीय मतदानको औपचारिकता पूरा गरिएको थियो।
निर्वाचित सरकारलाई गत मे २२ मा सैनिक 'कू' द्वारा अपदस्थ गरेपछि प्रायुथले 'डी फ्याक्टो' प्रधानमन्त्रीको रूपमा सत्ता चलाउँदै आएका थिए। उनी उक्त नाटकीय 'कू' का बेला सेना प्रमुख थिए। जननिर्वाचित प्रधानमन्त्री यिंग्लक सिनावात्रा र विपक्षीबीच महिनौंसम्म चलेको तनावबीच उनले उक्त कदम चालेका थिए। उक्त मनोनयनलाई नरेश भूमिवल अदुल्यादेजबाट साताभित्र औपचारिक समर्थन प्राप्त हुनुपर्नेछ। त्यसपश्चात् मात्र ओचाले मन्त्रिमण्डल गठन गर्न पाउने छन्।
मनोनयन हुनुअघि आफूले उक्त पदका लागि कुनै पहल नगरेको द बैंकक पोस्टले उनलाई उद्धृत गर्दै लेखेको छ ।
'म मुलुकलाई अघि बढाउन चाहन्छु,' उनले एक प्रश्नको जवाफमा भने। ३५ सदस्यीय मन्त्रिपरिषद् र २ सय ५० सदस्यीय सुधार परिषद्को स्थापनामा ध्यान दिनु उनको अर्को महत्त्वपूर्ण कदम हुनेछ। राजनीति र सरकारको जरो एवं शाखामा सुधारको अभिभारा परिषद्माथि छ। यो निकै उच्च महत्त्वाकांक्षी एजेन्डा हो।
सन् २०१५ को अन्त्यतिर सेनाले निर्वाचन गर्ने योजना अघि सारेकोले अन्तरिम प्रधानमन्त्रीको रूपमा उनको भूमिकालाई विश्वले नियाल्नेछ। उनी सन् २०१० को अक्टोबरमा सेना प्रमुख भएका थिए। उनी सेप्टेम्बरमा अवकाश पाउँदै थिए।





प्रकाशित : भाद्र ६, २०७१ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?