कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यालेस्टाइनीलाई हतियारयुक्त बनाउने चेतावनी

तेहरान (एएफपी) — इरानले इजरायली चालकविहीन विमान आफ्नो हवाई क्षेत्रबाट खसाएपछि प्यालेस्टाइनीलाई हतियारयुक्त बनाउने कार्यलाई थप गति दिने चेतावनी दिएको छ।

प्यालेस्टाइनीलाई हतियारयुक्त बनाउने चेतावनी

इरानले इजरायली राज्यको अस्तित्वलाई स्वीकार गरेको छैन। उसले गाजाबाट ८ जुलाईदेखि निरन्तर रूपमा रकेट प्रहार गर्न हमास तथा इस्लामिक जिहादका लडाकुहरूलाई प्रविधि उपलब्ध गराएको पुष्टि गरेको छ।
इरानको क्रान्तिकारी गार्डका वायुसेनाका कमान्डर जनरल अमीर-अली हाजिजादेहले आफ्नो संस्थाको आधिकारिक वेबसाइटमा विज्ञप्ति राखी पश्चिमी किनारमा लडाकुलाई हतियारयुक्त बनाउने कार्यलाई गति दिने र कुनै पनि प्रक्रिया दिने इरानको अधिकार भएको उल्लेख गरेका छन्।
गत महिना इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इस्लामी विश्वलाई प्यालेस्टाइनी जनतालाई इजरायलबाट हुने जाति हत्याको प्रतिरोध गर्न सहयोग गर्न हतियारयुक्त बनाउन आग्रह गरेका थिए। गाजामा सात सातासम्मको हिंसामा २ हजार १ सय २४ प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरालतर्फ ६८ ले मात्र ज्यान गुमाएका छन्।
१९ अगस्टमा युद्धविरामको व्यवस्था भंग भएपछि गाजाबाट ६ सय ५० रकेट इजरायली क्षेत्रमा प्रहार भएको छ भने करिब सय रकेट इजरायलले नष्ट बनाएको छ। इरानको क्रान्तिकारी गार्डले एक दिन अगाडि इजरायली हर्मेस नाम गरेको स्टिल्थ चालकविहीन विमान मुलुकको मध्यभागमा रहेको नातान्ज युरेनियम प्रशोधन स्थलमाथि खसाएको दाबी गरेको थियो। यसपछि यो चेतावनी आएको हो।
नातान्ज इरानको प्रमुख युरेनियम प्रशोधन स्थल हो। त्यहाँ १६ हजार सेन्टि्रफ्युज छन्। तीमध्ये ३ हजारभन्दा बढी फोर्दे संयन्त्रमा छन्। यो संयन्त्र पहाडको भित्री भागमा रहेकाले नष्ट गर्न कठिन हुने बताइएको छ। इजरायलले प्रायः इरानी पारमाणविक संयन्त्रमा आक्रमण गर्ने चेतावनी दिइरहेको छ। इजरायली चालकविहीन विमान खसाइएको समाचारका विषयमा जेरुसेलममा एक इजरायली प्रवक्ताले सेनाले विदेशी आमसञ्चारको समाचारलाई सम्बोधन नगर्ने बताए। जनरल हाजिजादेहले टेलिभिजनमा प्रसारण गरिएको पत्रकार सम्मेलनमा इजरायली चालकविहीन विमानलाई राडारले पत्ता लगाउन नसक्ने जानकारी दिए। उनले उक्त विमानका टुक्राहरू फेला पारिएको र त्यसमा विश्लेषण भइरहेको बताए। उक्त विमानले ८ सय किलोमिटरको क्षेत्रलाई समेट्न सक्ने बताइएको छ।
जनरल हाजिजादेहले उक्त चालकविहीन विमानलाई इरानको गुप्तचर प्रणालीले पत्ता लगाएको र त्यसलाई रिभोलुसनरी गार्डको जमिनबाट आकाशमा प्रहार हुने क्षेप्यास्त्रबाट खसाइएको जानकारी दिए। विमानमा उच्च गुणस्तरको फोटो खिच्ने दुई क्यामेरा रहेको जानकारी दिइएको छ। इरानी टेलिभिजनले उक्त चालकविहीन विमानको टुक्राहरूको तस्बिर सार्वजनिक गरिदिएको छ।
हाल इरान तथा पी फाइब प्लस वन अर्थात् बेलायत, चीन, फ्रान्स, रसिया, अमेरिका तथा जर्मनीसँग पारमाणविक सम्झौताका लागि वार्तामा छ। उनीहरूले ६ महिने अन्तरिम सम्झौता गरेका छन् जसमा इरानले आफ्ना केही पारमाणविक क्रियाकलाप बन्द गरेको छ भने इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध आंशिक रूपमा हटाइएको छ। दुई पक्षलाई इरानको पारमाणविक कार्यक्रमका विषयमा तनाव कम गर्न अन्तिम सम्झौताका लागि वार्ता गर्न समय दिन नोभेम्बर २४ सम्म थप चार महिनाको समय बढाइएको छ।
इरानलाई कतिसम्म युरेनियम प्रशोधन गर्न दिने भन्ने विषयमा दुवै पक्षबीच मतभेद छ। वासिङ्टनले तेहरानले आफ्नो कार्यक्रमलाई तीन चौथाइले कम गरोस् भन्ने चाहेको छ भने इरानले सन् २०२१ सम्म बुसेर पारमाणविक ऊर्जा संयन्त्रका लागि इन्धन उपलब्ध गराउन यो क्षमतामा १० गुणा बढाउन चाहेको छ। इजरायलले इरान र ६ शक्ति मुलुकबीच तेहरानलाई युरेनियम प्रशोधन कार्यक्रम कायम राख्ने अनुमति दिने कुनै पनि सम्झौता नहोस् भन्ने चाहेको छ। उसले यसबाट तेहरानले पारमाणविक बम बनाउन सक्ने धारणा राखेको छ। तेहरानले भने आफूले पारमाणविक हतियार बनाउन नचाहेको बताएको छ।









 

प्रकाशित : भाद्र १०, २०७१ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?