कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

एयर एसिया विमान दुर्घटना अवशेष र शवहरू फेला

सुराबाया (बीबीसी) — बेपत्ता भएको दुई दिनपछि एयर एसियाको उडान क्यूजेड ८५०१ मंगलबार अपराह्न इन्डोनेसियाको बोर्नियो द्वीपको जाभा समुद्र क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका छन् ।

एयर एसिया विमान दुर्घटना अवशेष र शवहरू फेला
खोज दलका अधिकारीहरूले विमानको अवशेष र यात्रुको शव फेला पारेका छन् ।
भग्नावशेष फेला पारेलगत्तै नौसेनाले शव निकाल्न सुरु गरेका थिए । मंगलबार अबेर रातिसम्म शवको संख्या यकिन भइसकेको छैन । रहस्यमय बनिरहेको उक्त विमानको पीडादायी अन्तको खुलासापछि सर्वत्र शोकको माहोल छ । विमानस्थलमा प्रतीक्षारत यात्रुका परिवारजनले यस्तो अन्त्यको कल्पना गरेका थिएनन् । अधिकारीहरूले भने यात्रुका नातेदारहरूलाई सबैभन्दा नराम्रो अवस्थाका लागि तयार पार्न खोजिरहेका थिए ।
विमानको पहिलो अवशेष मंगलबार बिहानै पत्ता लागेको थियो । शव र अवशेषका तस्बिरहरू इन्डोनेसियाली टिभीमा प्रसारण भइरहेको थियो । सबभन्दा पहिले यसको तस्बिर खिच्ने एएफपीका पत्रकार बे इसमोयोले भनेका थिए, 'मैले एक सुन्तलाजस्तो वस्तु पानीमा पौडिरहेको देखेँ ।' 'हामीले एकएक असामान्य वस्तु पौडिरहेको देख्यौं, हामीले जुम गर्ने प्रयास गर्‍यौं, यो लाइफ भेस्टजस्तो भएको लाग्यो,' उनले भने । उनको यो विश्लेषणसँगै बेपत्ता विमानको रहस्यबाट पर्दा उठ्न लागेको अनुमान गरिएको थियो ।
जकार्ताको सुराबायाबाट बिहान ५ बजेर ३५ मिनेटमा उडेको उक्त विमान दुई घन्टापछि सिंगापुर पुग्नुपर्ने थियो । खराब मौसमका कारणले क्याप्टेनले विमानलाई थप उचाइमा लान अनुमति मागेको सुराबाया विमानका सुरक्षा अधिकारीहरूले बताएका थिए । अनुमति दिने क्षणसम्म विमान सम्पर्कविच्छेद भएको थियो । यो सब तीनदेखि ५ मिनेटको बीचमा भएको थियो । बिहान ७ बजेर ५५ मिनेटमा विमान हराएको घोषणा भएको थियो ।
एयर एसियाको प्रमुख कार्यकारी अधिकारी टोनी फर्नान्डेजले उक्त खबरले आफूलाई बर्बाद पारेको बताए । 'थप खोज र उद्दार कार्यलाई पर्खिरहँदा यो एयर एसियाका सबैका लागि निकै कठिन क्षण हो,' उनले भने, 'तर, हाम्रो पहिलो प्राथमिकता भनेको विमानका सवार यात्रुका परिवारजनको भलाइ हो ।' सूचना चाहने परिवारजनका लागि हेरचाह प्रदायकहरू (सहायताकर्मी) उपलब्ध रहेको र एक आकस्मिक कल सेन्टर स्थापना गरिएको विमान सेवाको विज्ञप्तिमा उल्लेख छ ।
सम्पूर्ण खोज दललाई यात्रु र चालक फेला पार्नेतिर केन्दि्रत हुने निर्देशन दिएको इन्डोनेसियाका राष्ट्रपति जोको बिडोडोले बताए । उनले आफन्तजनसँग यो मुस्किल क्षणको सशक्त ढंगले सामना गर्न आग्रह गरेका छन् । उनी मंगलबार अबेर राति पीडित परिवारजनलाई भेटिरहेका छन् । उद्दारकर्ताहरू संकलन कार्यमा निकै व्यस्त भएको नौसेना प्रवक्ताले बताए । चालक दलका ७ सदस्यसहित १ सय ६२ यात्रु लिएर इन्डोनेसियाको सुराबायाबाट सिंगापुरका लागि उडेको उक्त विमान आइतबार बिहान हराएको थियो । विमानमा दुई चालक, पाँच कर्मचारी, १ सय ३७ वयष्क, १७ बालबालिका र एक शिशु सवार थिए । अधिकांश इन्डोनेसियाली नागरिक थिए । बेलायत, मलेसिया र सिंगापुरका एक/एक र दक्षिण कोरियाका तीन नागरिक पनि त्यसमा यात्रा गरिरहेका थिए । विमानको खोजी भइरहेको क्षेत्रमध्येको एक इन्डोनेसियातर्फ पनर्ेे बोर्नियो टापुको जाभा समुद्रमा पौडिरहेका विमानको मुख्य भाग, टुक्रा अवशेषहरू, यात्रुको सुटकेस र लाइफ भेस्टसहित शवहरू फेला पारिएको थियो । विमानस्थलको राडारबाट विमान सम्पर्कविच्छेद भएको समयको आधारमा दुर्घटनास्थलको आँकलन गरी तेस्रो दिन मंगलबार समुद्र र जमिनका १३ क्षेत्रहरूमा व्यापक खोज कार्य जारी राखिएको थियो ।
बोर्नियो टापु र जाभा समुद्रका स-साना द्वीपहरूसहित ६० हजार माइलमा खोज जारी छ । बोर्नियो र जाभालाई छुट्टयाउने जाभा समुद्र अपेक्षाकृत कम गहिरो छ । यसको सबभन्दा बढी गहिराइ मात्र १ सय ६० फिट छ । मनसुनले पानीलाई बाक्लो बादलमा परिणत गर्दा त्यहाँको मौसम खराब हुने गर्छ ।
इन्डोनेसियाली टिभीमा प्रत्यक्ष प्रसारण गरिएको राष्ट्रिय खोज तथा उद्दार दलको प्रमुख बामबांग सोयलिस्त्योको पत्रकार सम्मेलनमा अवशेषहरूसहित पौडिरहेको बिनालाइफ भेस्टको एक शवको तस्बिर देखाइएको थियो । तस्बिर देखेपछि यात्रुको आफन्तहरू स्तब्ध भएका थिए । अचेत भएका केही आफन्तलाई स्ट्रेचरमा अस्पताल पुर्‍याइएको थियो । परिवारजन भावविह्वल भएर एकअर्कालाई अँगालो बाँधी रोएका थिए । त्यसपछि मध्य कालिमान्टान प्रान्त नजिकैको पांगकालान बुन सहरबाट मंगलबार अपराह्न मिडिया र अधिकारीहरूले शवहरू फेला परेको र निकालिँदै गरिएको सूचना दिएका थिए । उनीहरूले पत्रकार सम्मेलनमा अवशेष र यात्रुको सरसमान सार्वजनिक गरेका थिए । उक्त सहरको दक्षिण पश्चिम १ सय ६० किमि टाढा ती वस्तुहरू फेला परेका हुन् ।
'विमानमा सवार सम्पूर्ण यात्रुका परिवारप्रति मन पीडाले भरिएको छ, एयर एसियाको तर्फबाट सबैलाई संवेदना, म आफ्नो पीडालाई शब्दमा व्यक्त गर्न सक्दिनँ ,' एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टोनी फर्नान्डेजले ट्वीटेका छन् । उनले भने, 'जीवनभर यो घाउ लिएर म बाँचिरहने छु ।' सोयलिस्त्योले ती अवशेष विमानकै भएकोमा आफू ९५ प्रतिशत पक्का रहेको बताएका थिए । पानीमुनि देखिएको छाया विमानको जस्तो आकारको भएको उनले थपे ।
उनले अवशेष फेला परेको थलोमा सम्पूर्ण स्रोत परिचालन गरिएको बताए । फेला पर्ने सम्पूर्ण अवशेष र शव पांकालान बुनमा ल्याइने उनले प्रस्ट पारे । ती अवशेषमुनि विमानको ठूलो भाग डुबेको हुन सक्ने जाँच गर्न बढी परिष्कृत प्रविधिका साथ पानी जहाजहरूलाई पठाइएको उनले औंल्याए ।
इन्डोनेसियाको नागरिक उड्डयन प्रमुख जोको मुरजातमोजोलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार यात्रुको ढोका र मालसमान ढुवानीद्वार पनि फेला परेको छ । विमान हराएको केही घन्टापछि नै आइतबार बिहानदेखि कम्तीमा ३० जहाज, १५ विमान र सात हेलिकप्टर उद्दार कार्यमा लागेको थियो ।
इन्डोनेसियाको नेतृत्वमा भएको बहुराष्ट्रिय खोज अभियानमा मलेसिया, सिंगापुर र अस्टे्रलिया सामेल छन् । दक्षिण कोरिया, थाइल्यान्ड, चीन, फ्रान्स र भारत सहयोगका लागि तम्तयार भएर बसेका थिए । विमान उडेको ४० मिनेटसम्म पुग्ने दूरीमा उनीहरूको खोज केन्द्रित थियो । 'खोजको क्षेत्र निकै ठूलो छ,' सोयलिस्त्योले भने । विमानमा सवारका परिवारप्रति कम्बोडियाका प्रधानमन्त्री हु सेनले समवेदना प्रकट गरेका छन् । उनले अर्को छुट्टै
सन्देशमा इन्डोनेसियाली राष्ट्रपति जोको बिडोडो र मलेसियाली प्रधानमन्त्री नाजिब रजाकलाई पनि समवेदना पठाएका छन् ।
मलेसियामा केन्द्रीय कार्यालय रहेको एयर एसियाको उक्त विमानको रहस्योद्घाटन भए पनि ८ मार्चमा मलेसियाको राजधानी क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङका लागि २ सय ३९ यात्रुसहित उडेको मलेसियाकै राष्ट्रिय ध्वजावाहक विमान एमएच-३७० विमान अझै फेला परेको छैन । अस्टे्रलियाली सहर पर्थको दक्षिण-पश्चिमस्थित हिन्द महासागरको दुर्गम क्षेत्रमा विमानको यात्रा समाप्त भएको स्याट्लाइट डाटाको जानकारी पछ्याउँदै बहुराष्ट्रिय खोज दल निरन्तर खटिए ।
१५ राष्ट्रका नागरिक सवार उक्त विमान खोज प्रयासका सम्पूर्ण प्रतिवेदनहरू सार्वजनिक भइसकेका छन् । तर, 'विमान कहाँ गयो ?' भन्ने उत्तर कोहीसँग छैन । परिवारजन भने कुनै दैवी चमत्कारकै आशमा छन् ।

इन्डोनेसियाको मध्य बोर्नियोस्थित पांगकालान वन विमानस्थलमा मंगलबार खोजका क्रममा फेला परेका सामग्री देखाउँदै उद्दार कार्यमा संलग्न अधिकारीहरू । तस्बिर: एपी/रासस




 

प्रकाशित : पुस १६, २०७१ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?