कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

किन मारिन्छन् पुटिनविरोधी ?

नेम्त्सोभ हत्या प्रकरण
जितेन्द्र साह

काठमाडौं — रुसका प्रभावशाली विपक्षी नेता ५५ वर्षे बोरिस येफिमोभविच नेम्त्सोभको गत २७ फेब्रुअरीमा हत्या भयो । राजधानी मस्कोको पनि सबभन्दा सुरक्षित मानिने क्रेमलिन वाल र रेड स्क्वायर नजिकैको मस्कभोरेत्स्की पुलमा उक्त घटना भएको थियो ।

किन मारिन्छन् पुटिनविरोधी ?
छ्याप्त छ्याप्ती सीसीटीभी क्यामेरा भएको उक्त क्षेत्रमा उनको महिला मित्र भने जोगिइन् ।
सुरुआतमा धेरैले ती महिला उनकै दलका सहयोगी वा कार्यकर्ता होलिन् भन्ने अनुमान गर्‍यो । मस्को प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएर पाँच दिनसम्म थुनामा राखेपछि बल्ल हल्लीखल्ली भयो । नेम्त्सोभको हत्यापछि एकाएक चर्चामा आएकी उनी २३ वर्षे युक्रेनी मोडल अन्ना दुर्यत्स्का हुन् । आफूभन्दा अढाइ गुणा बढी उमेरका रुसी वैज्ञानिक, राजनीतिज्ञ र उदारवादी नेता नेम्त्सोभकी यी प्रेमिकाको यसअघि कुनै चर्चा भएको थिएन । उनले तीन वर्षदेखि नेम्त्सोभसँग सम्बन्ध रहेको खुलाइन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नेम्त्सोभ र अन्नाबीचको सम्बन्धको सार्वजनिकीकरण सबैका लागि रोचक विषय बन्यो । नेम्त्सोभ हत्याको बेला पूर्वी युक्रेनको युद्धमा रुसको संलग्नता र पश्चिमा प्रतिबन्धले उत्पन्न वित्तीय संकटको विरोधमा र्‍याली गर्न मस्को आएका थिए । र्‍यालीको आह्वान गर्नु अगाडिदेखि उनले पुटिनले आफ्नो हत्या गराउने शंका पनि व्यक्त गरेका थिए । उनी त्यतिबेला पूर्वी युक्रेनका विद्रोहीसँग रुसी सैनिकको संलग्नता झल्काउने प्रतिवेदन तयार पार्नमा व्यस्त थिए ।
पुटिन सरकारका प्रतिनिधिहरूले उनलाई मारेर केही हात नलाग्ने र कसैलाई फाइदा नपुग्ने भन्दै आरोपको खण्डन गर्‍यो । उक्त घटनामा अस्थिरता फैलाउने तत्त्व, चेचन विद्रोही, अतिवादी इस्लामिक समूह वा हत्या गरी हिँड्ने सडकछाप अपराधीको संलग्नता हुन सक्ने रुसी सुरक्षा अधिकारीहरूले औंल्याए ।
पुटिन नियन्त्रित सम्पूर्ण रुसी मिडिया तथा सारा सुरक्षा संयन्त्र सीसीटीभी फुटेज र अन्नाको बयानमा केन्दि्रत भयो ।
मस्कोबाट टाढाको एक प्रान्तीय सहर यारोस्लाभलमा भ्रष्टाचारविरोधी अभियानका कारणले वाहीवाही पाएका नेम्त्सोभका थुप्रै शत्रुहरू भएको प्रहरी अधिकारीहरूको तर्क छ । कडा सुरक्षा प्रबन्ध भएको मस्कोको उक्त क्षेत्रमा कसैले उनलाई मार्ने जोखिम किन मोल्छ ? भन्ने प्रश्न तेर्सिएकै छ ।
महिलाबीच निकै लोकपि्रय नेम्त्सोभका लागि प्रशंसकहरूले समेत स्त्रीलम्पट वा व्यभिचारी विशेषणको प्रयोग गर्न हिच्किचाउँदैनन् । निकै कुशल र उदारवादी नेताको छवि भएका नेम्त्सोभकी महिला मित्रहरूको सूची निकै लामो बताइन्छ । राजनीतिक प्रतिस्पर्धाका कारणले सबैले पुटिनमाथि शंका गरे पनि स्त्रीसँगको सम्बन्ध त उनको हत्याको कारण होइन ? भन्नेतर्फ पनि छानबिन मोडिएको छ । नयाँ प्रेमिका अन्नासँगको निकटताका कारण इष्र्यावश कुनै अन्य महिला साथीले पेसेवर हत्यारा पठाएर पनि उनलाई मार्न लगाएको सम्भावना व्यक्त गरिएको छ ।
हुन त उनी स्त्रीमोहमा परेका पहिलो रुसी नेता होइनन् । वैवाहिक जीवनमा असफल तर पटकपटक राष्ट्रपति र प्रधानमन्त्रीको दायित्व सम्हालेका ६२ वर्षे पुटिन पनि ३२ वषर्ीया खेलाडी तथा राजनीतिकर्मी अलिना माराटोभना काबेभासँगको सम्बन्धलाई लिएर विवादमा आइसकेका छन् ।
अहिलेको घटना अलि फरक खालको छ । अनुसन्धानकर्ताहरूले अन्ना मुख्य प्रत्यक्षदर्शी भएको, त्यसअघि र पछि भएका शंकास्पद गतिविधिबारे उनलाई जानकारी हुनुपर्ने दाबी गरेका छन् । ढाडतिरबाट गोली प्रहार गरिएको हुनाले हत्याराको अनुहार चिन्न नसकेको उनले बताइन् । उनले आफूले थाहा पाएजति सूचना प्रहरीलाई दिएको बताएकी छन् । हिरासतमा राख्ने कुनै आधार नभेट्टाएपछि प्रहरीले अन्नालाई नेम्त्सोभको अन्तिम संस्कारकै दिन ३ मार्चमा छाड्नुपर्‍यो । उनी अन्त्येष्टिमा  सहभागी नभई युक्रेनको राजधानी किभस्थित आमाकोमा पुगिन् ।
अन्नासँग एक रेस्टुरेन्टबाट खाना खाएर फ्ल्याटतर्फ पैदलै गइरहेको बेला नेम्त्सोभमाथि कटुवा पेस्तोलबाट अन्धाधुन्ध गोली प्रहार भएको थियो । अन्नाले तत्कालै प्रहरी र आमालाई यसबारे खबर गरेकी थिइन् । नेम्त्सोभको हात समाइरहेको बेला अन्नाले गोलीको आवाज सुनेको आमाले बताएकी छन् ।
'बोरिस झुक्दै लडे, अन्ना निकै डराएकी थिइन्, उनले मलाई र प्रहरीलाई लगातार फोन गरिन्,' आमाले भनिन् । अन्नाले फोनमा भनेको दोहोर्‍याउँदै उनले भनिन्, 'आमा, बोरिस मारिए, ऊ मेरो छेउमा पल्टिरहेको छ ।' अन्नाले आफ्नो एक साक्षात्कारमा प्रहरीले आफूसँग बयान लिएको, सबै सामग्री र फोन कल्सको जाँच गरेको सफाइ दिइसकेकी छन् । अन्नालाई पनि हत्याको धम्की आएको छ । उनको जीवनरक्षाका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको युक्रेनी अधिकारीले जनाएका छन् ।
पूर्वी युक्रेनमा जारी युद्धमा रुसको हात भएको बारे नेम्त्सोभसँग प्रमाण भएकोले उनलाई सिध्याइएको युक्रेनी पक्षको दाबी छ । सन् १९९० को राजनीतिक परिदृश्यमा युवा सुधारकका रूपमा उदाएका ऊर्जावान् र प्रजातन्त्रप्रति लगाव भएको व्यक्तित्वको रूपमा जनताले निम्त्सोभलाई सम्झिन्छन् । पुटिनविरोधीको हत्या भएको यो पहिलो घटना भने होइन । २००३ को १७ अपि्रलमा सुधारवादी राजनीतिज्ञ ६५ वर्षे सर्गेई युसेन्कोभको मस्कोको घरनजिकै हत्या भयो । डिसेम्बर २००३ को संसदीय निर्वाचनमा सहभागी हुन लिबरल रसिया पार्टी दर्ता गराएको केही घन्टा नबित्दै उनी मारिएका थिए ।
त्यही वर्षको जुलाईमा खोजी पत्रकार ६५ वर्षकै युरी सेचेकोचिखिनको १६ दिनको रहस्यमय रोगपछि ३ जुलाई २००५ मा मृत्यु भयो । उनले यसको केही दिनअघि मात्र अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई) सँग बैठक गर्ने भएका थिए । १९९९ को सेप्टेम्बरमा रुसमा २ सय ९३ को ज्यान गएको बम विस्फोट र भ्रष्टाचारमा रुसको संघीय सुरक्षा सेवा (एफएसबी) को संलग्नता भएको उनले रिपोर्ट सार्वजनिक गरेका थिए । उक्त हत्यालाई राजनीतिक रूपले प्रेरित भनिएको थियो ।
सन् २००४ को जुलाईमा मस्को गल्लीमा गुडिरहेको कारबाट गोली प्रहार गरिएका फोर्बस म्यागजिनको रुसी सम्पादक अमेरिकी नागरिक ५१ वर्षे पोल क्लेबनिकोभको अस्पतालमा मृत्यु भएको थियो । २००६ को ७ अक्टोबरमा अर्का खोजी पत्रकार ५८ वषर्ीया अन्ना पोलिटकोभ्सकायाको आफ्नै मस्कोट अपार्टमेन्टबाहिर हत्या गरिएको थियो । उनी १९९९ को २६ अगस्टमा रुसले गरेको चेचेन युद्ध र पुटिनको क्रियाकलापविरोधी थिइन् ।
त्यही वर्षको नोभेम्बरमा लन्डन होटलमा विषाक्त चिया खाएर बिरामी परेका पूर्वरुसी जासुस ५३ वर्षीय अलेक्जान्डर लिटभिन्कोको तीन सातापछि मृत्यु भएको थियो । संगठित अपराधको समाधानमा कुशल उनी रुसी सुरक्षा संस्था एफएसबीका भगौडा थिए । उनी र उनका सहकर्मीहरूले आफ्ना हाकिममाथि सार्वजनिक रूपले रुसी टाइकुनहरू र शक्तिशाली सरकारी अधिकार तथा व्यापारी बोरिस बेरेजोभ्स्कीको हत्याको आदेश दिएका आरोप लगाएका थिए ।
कर्तव्य र जागिरको दायराभन्दा बाहिर गएको आरोपमा धेरैपटकको पक्राउ र कारबाहीमा परेपछि उनी परिवारसहित भागेर २००० पछि लन्डन पुगेका थिए । उनले त्यहाँ पत्रकार, लेखक र बेलायती गुप्तचर सेवाका लागि काम गरेका थिए । उनले रुसी गुप्तचर सेवाहरूमाथि पुटिनलाई शक्तिमा ल्याउन बम विस्फोट र आतंकवादका घटना गराउने गरेको आरोप लगाएका थिए । पुटिनले नै पत्रकार अन्ना पोलिटकोभ्सकायालाई मार्ने आदेश दिएको उनले दाबी गरेका थिए ।
२०१३ को मार्चमा रुसका शक्तिशाली व्यक्तित्व तथा पुटिन आलोचक ६९ वर्षे बोरिस बेरेजोभ्स्की बेलायतस्थित घरमा मृत फेला परे । तर पुटिनको १५ वर्षको कार्यकालमा नेम्त्सोभको हत्यालाई लिएर सबभन्दा बढी अन्तर्राष्ट्रिय चासो छ । युक्रेनमा हस्तक्षेपलाई लिएर रुसप्रतिको पश्चिमा रिस पनि जोडिएको छ । नेम्त्सोभले युक्रेन युद्ध प्रकरणमा लगातार पुटिनको राजीनामा माग गरेका थिए ।
पुटिनविरोधीहरूको हत्याको सूची बढ्दै गएको छ । तर अहिलेसम्म कुनै पनि हत्याको पूर्ण एवं सफल अनुसन्धान हुन सकेको छैन । घटनामा प्रत्यक्ष संलग्न केहीलाई पक्राउ पनि गरिएर कारबाही पनि चलाइयो । तर अहिलेसम्म पेसेवर हत्यारालाई मार्ने आदेश दिनेको खुलासा भएको छैन ।
१९९१ मा राजनीतिमा आउनुघि पुटिन पूर्वसोभियत संघको सुरक्षा निकाय केजीबीमा १६ वर्ष काम गरेका थिए । उनले लेफ्टिनेन्ट कर्नेलको पदसम्म पुग्दा गुप्चतर निकायमा राम्रो पकड बनाएका थिए । ती निकायका भ्रष्ट अधिकारी, उनीहरूको व्यापारमा लगानी र उनीहरूले निहीत स्वार्थमा गर्ने व्यापारी हत्या एवं पक्राउबारे पुटिनले राम्रो जानकारी राख्छन् ।
पोल खुल्ने र मनपरी रोकिने त्रासका कारणले पुटिन सत्ताबाहिर वा भित्र रहँदासमेत उनीहरू उनीप्रति बफादार रहन्छन् । प्रजातन्त्रमा कुनै सम्झौता नगर्ने उदारवादी नेता सत्तामा आएमा ती गुप्तचर निकायको धन्दा बन्द हुन सक्छ र थुप्रै अधिकारीहरू जघन्य मुद्दामा कारबाहीमा पर्न सक्छन्् । यस्तोमा उनीहरू पुटिनलाई शक्तिमा राखिराख्न र खुसी पार्न उनीविरुद्ध आवाज उठाउनेको चलाखीपूर्ण ढंगले हत्या गर्दै आएको आलोचकहरू बताउँछन् ।
(एजेन्सीहरूको सहयोगमा)
 

प्रकाशित : फाल्गुन २४, २०७१ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?