अमेरिकामा वृत्तचित्र 'इन्डियाज डटर' को प्रदर्शन हुने

बीबीसी

वासिङ्टन — सन् २०१२ को १६ डिसेम्बरमा दिल्लीमा भएको सामूहिक बलात्कारमाथि आधारित वृत्तचित्र 'इन्डियाज डटर' को अर्को साता अमेरिकामा पि्रमियर हुने भएको छ ।

अमेरिकामा वृत्तचित्र 'इन्डियाज डटर' को प्रदर्शन हुने
वृत्तचित्रप्रति समर्थन जनाउन पि्रमियरमा अस्कर विजेता हलिउड अभिनेत्री मेरिल स्टि्रप र फ्रिडा पिन्टो पनि सहभागी हुँदैछन् ।
बारुच कलेज अफ दि सिटी युनिभर्सिटी अफ न्युयोर्कमा ९ मार्चमा यसको प्रदर्शन हुनेछ । एक गैरसरकारी संस्था भाइटल भ्वाइसेज ग्लोबल पार्टनरसिप एन्ड चिल्ड्रेन्स डेभलपमेन्ट अर्गनाइजेसन प्लान इन्टरनेसनलले यसको प्रदर्शन गराइरहेको छ । स्ट्रिप र पिन्टो उक्त संगठनको कार्यक्रम 'किनकि म केटी हुँ ?' को ग्लोबल एम्बेसडर हुन् ।
स्क्रिनिङको क्रममा वृत्तचित्रकी निर्देशक लेज्ली उडविन पनि उपस्थित रहने छन् । 'दुई वर्षसम्म श्रीमान र दुई सन्तानलाई छाडेर भारतमा बसे, यसको निर्माण गरेँ,' उनले भनिन् । उक्त बलात्कारको भयंकर रूपभन्दा आमजनताको विरोध प्रदर्शनले यसको निर्माणका लागि आफूलाई प्रेरित गरेको उनले बताइन् ।
'सरकारको कठोर कारबाहीमा अश्रुग्यास प्रहार, लाठी चार्ज र पानीको फोहोरा सामेल थियो, त्यसको पर्वाह नगर्दै दिनभर उल्लेखीय संख्यामा नागरिकले प्रदर्शन गरिरहेका थिए,' उनले भनिन्, 'उनीहरूले मेरो र सम्पूर्ण महिला अधिकारका लागि प्रदर्शन गरिरहेका थिए, त्यसले मेरो मनमा आशा जगायो, कुनै अन्य मुलुकमा यस्तो भएको मलाई सम्झना छैन ।'
एनजीओकी उपाध्यक्ष सिन्डी डायरले सबैले उक्त वृत्तचित्र अवश्य हेर्नुपर्ने बताइन् । 'पूरा विश्वले यस सहासिक र बुद्धिमानी कार्यको प्र्रशंसा गर्नुपर्ने हो, यो भारतको मात्र नभएर सबैतिरको कथा हो,' उनले भनिन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्विटजरल्यान्ड, नर्वे र क्यानाडासहित विश्वभर यसको प्रदर्शन हुनेछ ।
यता भारतमा भने यस वृत्तचित्रको विरोध जारी छ । बार काउन्सिल अफ इन्डिया (बीसीआई) ले बलात्कारमा दोषी ठहर गरिएकाहरूको दुई वकिललाई शुक्रबार अबेर राति 'कारण देऊ' नोटिस जारी गरेको छ । ती दुईजनामाथि महिलाविरुद्ध अमर्यादित प्रतिक्रिया दिएको आरोप छ । 'उक्त वृत्तचित्रमा महिलाविरुद्ध अमर्यादित टिप्पणी गर्ने एमएल शर्मा र एपी सिंहलाई कारण देऊ नोटिस जारी गरेका छौं,' बीसीआई अध्यक्ष मननकुमार मिश्राले भने ।
वकिल शर्माले आरोप अस्विकार्दै आफूले केही गलत नगरेको र कुनै पनि खाले नोटिस नपाएको बताएका छन् । उक्त सामूहिक बलात्कारमा दोषी ठहरिएपछि फासीको सजाय पर्खिरहेका अभियुक्त मुकेश सिंहको उनी वकिल हुन् । दुवै वकिलले सन्तोषजनक जवाफ नदिएमा उनीहरूको लाइसेन्स खारेज गर्ने बीसीआईले भनेको छ । शर्माले भने, 'मैले मात्र महिलाको सुरक्षा र बचाऊबारेमा बोलेको थिएँ ।' अर्का वकिल एपी सिंहले पूर्वाग्रह वा पक्षपातग्रस्तहरूले यसको विरोध गरिरहेको बताए । बेलायतमा प्रसारण भइसकेको उक्त वृत्तचित्रमाथि भारत सरकाले प्रतिबन्ध लगाएको छ ।
उक्त वृत्तचित्रमाथि उठेको विवादले अन्तर्राष्ट्रिय मिडियामा पनि राम्रै चर्चा पाएको छ । प्रतिबन्ध लगाइए पनि ठूलो संख्यामा भारतीयले यो वृत्तचित्र हेरिरहेको अमेरिकी पत्रिका 'न्युयोर्क टाइम्स'ले लेखेको छ । भारतीय अधिकारीका लागि यसलाई रोक्नु पहिलो प्राथमिकता भए पनि सामाजिक सञ्जालको युगमा यो सम्भव नभएको अमेरिकाकै दोस्रो ठूलो पत्रिका वासिङ्टनले भनेको छ । यसमा प्रतिबन्ध लगाएर भारत सरकारले बलात्कार र महिला विरोधबीचको सम्बन्धलाई बुझ्न नचाहेको देखिएको बेलायती पत्रिका 'गार्डियन' ले सम्पादकीयमा लेखेको छ ।
बेलायतकै अर्को समाचार पत्र 'द इन्डिपेन्डेन्ट' ले भारतका जनता लिंगभेदलाई लिएर समाजको वास्तविकता बुझ्न तयार भए पनि त्यहाँका राजनेताहरू बुझपचाउन खोजेको तर्फ औंल्याएको छ । 'वृत्तचित्रमाथिको प्रतिबन्धले सरकारको प्राथमिकता धेरै गलत भएको देखाउँछ,' पत्रिकाले लेखेको छ । विशेषज्ञहरू वृत्तचित्रमा प्रतिबन्ध लगाउने विषयमा विभाजित रहेको चीनको पत्रिका 'चाइना डेली' ले लेखेको छ । वृत्तचित्रमा प्रतिबन्ध लगाउनुभन्दा न्यायालयले बलात्कारजस्तो मुद्दाको चुस्त र दुरुस्त न्याय सम्पादनमा जोड दिनुपर्ने एक वर्गको मान्यता छ । पीडित परिवारले विरोधको राजनीतिभन्दा न्यायको पर्खाइमा रहेको भनेको छ ।


प्रकाशित : फाल्गुन २४, २०७१ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?