कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बिदाइका क्रममा रुँदै ओबामाले भने, ‘लोकतन्त्रले एकरूपता होइन, ऐक्यबद्धता खोज्छ’

एजेन्सीहरू

सिकागो — हलमा खचाखच हजारौं समर्थकको तालीका बीच जब ओबामाले पत्नी मिसेल, छोरीहरू र सिंगो अमेरिकालाई सम्झे, एकाएक भावुक बने । उनका आँखा रसाए । कोटको खल्तीबाट रुमाल झिकेर आँसु पुछे । अनि ह्वाइट हाउसमा दुई कार्यकाल बिताएर बिदाइ हुनुअघिको अन्तिम सम्बोधनलाई निरन्तरता दिए ।

बिदाइका क्रममा रुँदै ओबामाले भने, ‘लोकतन्त्रले एकरूपता होइन, ऐक्यबद्धता खोज्छ’

राष्ट्रपतिका रूपमा ८ वर्ष बिताएर बाहिरिने क्रममा मंगलबार गृहनगर सिकागोमा ओबामाले दिएको बिदाइ सम्बोधनले धेरैलाई भावुक बनायो । सम्बोधनमा उनले अधिकांश समय अमेरिकी प्रजातन्त्रको विशेषता वर्णन गर्नमा खर्चिए । साथै प्रजातन्त्र रक्षाका लागि आम नागरिकलाई आह्वान पनि गरे ‘अबका १० दिनमा विश्वले हाम्रो प्रजातन्त्रको नमुना देख्नेछ’, ओबामाले भने, ‘डोनाल्ड ट्रम्पलाई मेरो प्रशासनले त्यसरी नै सहज रूपमा सत्ता हस्तान्तरण गर्नेछ, जसरी राष्ट्रपति बुसले मेरा लागि गर्नुभएको थियो ।’

ओबामाले निर्वाचन र जनसहभागितालाई प्रजातन्त्रको खास विशेषताका रूपमा उल्लेख गरे । ‘संविधान वास्तवमा आफैंमा कागजको खोस्टोबाहेक केही होइन,’ उनले भने, ‘तर जनसहभागिता र चुनावमार्फत हामीले यसलाई शक्ति प्रदान गरेका छौं । हामी स्वतन्त्रताको पक्षमा उभिन्छौं कि उभिँदैनौं, कानुनी शासनको सम्मान र पालना गर्छौं कि गर्दैनौं भन्ने कुराले नै हाम्रो प्रजातन्त्र कस्तो छ भन्ने निर्धारण गर्छ ।’ आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्युबासँगको सम्बन्ध पुन:स्थापना र समलिंगी विवाहलाई कानुनी मान्यता दिने लगायतका कामलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका ओबामाको सम्बोधनका थप मुख्य आशय यस्ता थिए–‘हरेक दिन मैले तपाईंहरूबाट सिकें । तपाईंहरूले मलाई असल राष्ट्रपति बनाउनुभयो । तपाईंहरूले नै मलाई असल मान्छे पनि बनाउनुभयो । वास्तवमा परिवर्तन तबमात्र हुन्छ, जब जनसाधारणको सहभागितामा यसको माग हुन्छ । तपाईंहरूका राष्ट्रपतिका रूपमा ८ वर्ष बिताएपछि मेरो के धारणा छ भने हामी सबै समान छौं, हाम्रो जीवन, स्वतन्त्रता र उन्नति कसैले हनन गर्न नसक्ने अधिकारसम्पन्न छन् । यो हामीलाई हाम्रा अग्रजहरूले दिएको महान् उपहार हो । प्रजातन्त्रका माध्यमबाटै हामी यिनलाई अझ पूर्ण बनाउन सक्छौं ।

हरेक व्यक्तिका सपना पूरा गर्ने असल र महान् प्राप्तिका लागि हामीले पसिना, मिहिनेत र कल्पनाशीलताका माध्यमबाट एकसाथ मिलेर संघर्ष गर्नुपर्छ । हो, हाम्रो प्रगति सधैं एकनासको रहेन । प्रजातन्त्रको कार्य सधैं कठिन, विवादपूर्ण र कहिलेकाहीं रक्तपातपूर्णसमेत हुन्छ । हरेक दुई पाइलाका लागि एक पाइला पछाडि सर्नुपरेको महसुस हुन्छ । तर अमेरिकाको लामो यात्रा जहिल्यै अग्रगतिकै रूपमा परिभाषित छ । विगतमा पनि हामीले जे चाहेका थियौं त्यही गर्‍यौं । अन्तत: हामी विश्वमै धनी, शक्तिशाली र सम्मानित राष्ट्रका रूपमा छौं । र, अझै पनि हाम्रा युवा र तिनीहरूको ऊर्जा, हाम्रो विविधता र खुलापन, हाम्रो जोखिम मोल्ने र परिवर्तन गर्ने असीम क्षमताको अर्थ हो– भविष्य हाम्रै हुनुपर्छ । तर त्यो सामथ्र्य त्यतिबेलामात्र महसुस हुनेछ, जतिबेला प्रजातन्त्रले काम गर्नेछ, जतिबेला हाम्रो राजनीतिले जनताको मर्यादा प्रतिविम्बित गर्छ र जतिबेला हामी सबैको संलग्नताले सामूहिक उद्देश्य प्राप्तिमा सघाउँछ । यही नै अहिलेको हाम्रो आवश्यकता हो ।

प्रजातन्त्रले एकरूपता नै खोज्छ भन्ने छैन । ऐक्यबद्धताको आधारभूत भावना भने आवश्यक हुन्छ । यो कुरालाई हाम्रा अग्रजहरूले बुझेका थिए । प्रजातन्त्रले नै हाम्रा बालबालिको शिक्षा, भावी पुस्ताको असल रोजगारी र राष्ट्र रक्षा गर्ने हाम्रो क्षमता निर्धारण गर्नेछ । शब्दान्तरमा भन्नुपर्दा यसले हाम्रो समग्र भविष्य तय गर्नेछ । हरेक व्यक्तिलाई आर्थिक अवसर हुन्छ भन्ने भावना नभएसम्म हाम्रो प्रजातन्त्रले काम गर्दैन । हाम्रो न्यायप्रणालीमा शिक्षा, अवसर, आवास आदि कुनैमा पनि भेदभाव नहुने कानुनको खाँचो छ । हाम्रो संविधान र उच्च आदर्शमा यसको खाँचो छ । तर कानुनमात्र यथेष्ट हुने छैन । त्यसका लागि हृदय नै परिवर्तन हुनुपर्छ ।

प्रकाशित : पुस २८, २०७३ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?