कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

विधेयक बहुमतले पारित भएसँगै बेलायतलाई ब्रेक्जिट प्रक्रियाका लागि ढोका खुल्यो

नवीन पोखरेल

लन्डन — बेलायत सरकारले पेस गरेको युरोपियन युनियनसँग बहिर्गमन प्रक्रिया (ब्रेक्जिट) गर्न प्रस्तुत गरेको विधेयक बेलायती संसदले बुधबार अत्याधिक बहुमतले पारित गरेको छ । विधेयकको पक्षमा ४९८ र विपक्षमा ११४ मत परेको थियो । यसले बेलायत सरकारले मार्च अन्तिमबाट सुरु गर्ने लक्ष्य राखेको ब्रेक्जिट प्रक्रियाका लागि आधिकारिक रुपमा ढोका खुलेको छ ।

विधेयक बहुमतले पारित भएसँगै बेलायतलाई ब्रेक्जिट प्रक्रियाका लागि ढोका खुल्यो

प्रस्तुत उक्त विधेयकमाथि संसदमा दुई दिन चर्को बहस हुँदा प्रतिपक्षी लेबरका ४७, बेलायतको तेस्रो ठूलो स्कटिस नेशनल पार्टीका ५०, चौथो ठूलो पार्टी लिबरल डेमोक्रयाटका ७ सांसदसहित बाँकी अन्यले विपक्षमा मतदान गरेका थिए । स्कटिस नेशनल पार्टीले गरेको संशोधन पराजित भएको थियो । उक्त पार्टीले स्कटल्याण्डका बहुसंख्यक जनताले जनमत संग्रहमा यूके इयूमा रहनुपर्ने पक्षमा मत हालेकाले स्कटिस जनताले चाहेजस्तो छुट्टै इयूसँग सम्झौता हुनुपर्ने माग राख्दै आएको छ ।

गत जुनमा भएको जनमत संग्रहपछि धेरै उतारचढाव हुँदै गत साता सर्वोच्च अदालतले ब्रेक्जिट प्रक्रिया संसदले पारित गर्नुपर्ने फैसला गरेको थियो ।

ब्रेक्जिट मुद्दामा बेलायती समाज विभाजित रहँदै आएकाले सबैलाई मान्य हुने शर्तबाट इयू छोड्न बेलायत सरकारलाई ठूलो चुनौती छ । आफूले चाहेजस्तो शर्तमा इयू बहिर्गमन नभए बिना सम्झौता नै बेलायत इयूबाट बाहिरिने भन्ने बेलायती प्रधानमन्त्री टेरेजा मेको कडा उद्घोषले इयू समर्थकहरु आक्रोसित छन् ।


अमेरिकी राष्ट्रपति ट्रम्प, रसिया र इस्लामिक आतंकवाद नै इयूको ऐक्यबद्धताका लागि मुख्य चुनौती रहेको बताउँदै इयूले बेलायतले चाहेको मात्र सबै पूरा नहुने प्रतिक्रिया दिएको छ । रेस्टुरेन्टमा आफूले चाहेको खाना रोजे जस्तो ब्रेक्जिट वार्ता नहुने युरोपियन युनियनको स्पष्ट अडान छ ।

ब्रेक्जिटको खास अर्थ इयूसँग बेलायतको पारपाचुके हुने भएकाले आर्टिकल ५० निस्कने शुल्कको सम्झौता हो भन्ने विश्लेषकहरुको राय छ । युरोपियन युनियनसँग तोकिएको दुई वर्षको समयावधिपछि बेलायतले करिब ६० अर्ब पाउन्डको सम्बन्धविच्छेद बिल फछ्‍‍र्यौट गर्नुपर्ने अनुमान गरिएको छ ।

यसबीचमा इयूको कमन मार्केट, भन्सार संघ, ब्यापार सम्झौता, आप्रवासी नियम, असंख्य कानुनबीच चर्को मतभेद बेलायतमा छ । ब्रेक्जिट वार्ता सुरु भएपछि नै राजनीतिमा अनेक उतारचढाव हुने अनुमान एकथरिको छ ।

प्रकाशित : माघ २०, २०७३ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?