दार्जिलिङबाट छुट्टियो कालिम्पोङ

'गोर्खाल्याण्ड आन्दोलन स्वत: कमजोर बनाउने खेल'
पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले घोषणा गरेको १४ महिनापछि कालिम्पोङ अलग जिल्ला बनेको छ । यसअघि दार्जिलिङ जिल्लाभित्र रहेको ‘हिल स्टेसन’ कालिम्पोङ मंगलबारदेखि पश्चिम बंगालको २१ औं जिल्ला बनेको हो ।

बंगालको कान्छो जिल्ला घोषणा गर्न कालिम्पोङ पुगेकी मुख्यमन्त्री वेनर्जीले मेला मैदानमा भनिन्,‘टेक केयर अफ माइ न्यू वोर्न वेवी ।’ उनले कालिम्पोङको खानेपानी समस्या सुल्झाउन ५० करोड रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरिन् ।

विधानसभाका विधायक तथा जनआन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर क्षेत्रीले गत नोभेम्बरदेखि कालिम्पोङलाई अलग जिल्ला बनाउने अभियान सुरु गरेका थिए । क्षेत्रीले आफ्नै पहिलकदमीबाट कालिम्पोङलाई जिल्ला बनाउन राज्य सरकारसँग प्रस्ताव गरेका थिए । ‘कालिम्पोङलाई जिल्ला बनाउने राज्य सरकारको कदम प्रशंसनीय छ’, क्षेत्रीले भने, ‘कालिम्पोङ दार्जिलिङको अधिनबाट टाढा बस्न चाहिरहेको थियो ।’

अलग राज्य गोर्खाल्याण्डको माग असफल पार्न नेपालीभाषीबीच ‘फुटाउ र राज गर’ नीति अपनाएकी वेनर्जीले एकदर्जन जति जातीय बोर्ड नै गठन गरिसकेकी छन् । अब कालिम्पोङलाई पनि दार्जिलिङबाट अलग्याएपछि गोर्खाल्याण्ड आन्दोलन स्वत: कमजोर बनाउने ममताको खेल रहेको गोर्खा जनमुक्ति मोर्चाका एक नेताले बताए । दार्जिलिङसहित मिरिक, कालिम्पोङ र खरसाङ दार्जिलिङ जिल्लाका मुख्य सहर हुन् । कालिम्पोङ अलग्गै जिल्ला बनेपछि दार्जिलिङको क्षेत्रफल साँघुरिएको छ ।

कालिम्पोङ सन् १७०० सम्म सिक्किमको एक भाग थियो । १८औं शताब्दीको प्रारम्भतिर भुटानले युद्धमार्फत् यसलाई कब्जा गरेको थियो । एङ्लो–भुटान युद्धपछि सन् १८८५ मा यसलाई दार्जिलिङमा गाभिएको इतिहास छ । करिब दुई सय वर्षपछि कालिम्पोङ पुन: दार्जिलिङबाट अलग्गिएको हो ।

गोजमुमोले सिंगो दार्जिलिङ जिल्लासहित तराईको सिलिगुडी र टिष्टापारिको डुबर्सलाई गोर्खाल्यान्डको मानचित्रमा अटाउनुपर्ने जिकिर गर्दै आएको थियो । तर, नेपालीभाषी बाहुल्य क्षेत्र कालिम्पोङ पनि दार्जिलिङबाट अलग्गिएपछि गोर्खाल्याण्ड मागको दाबी कमजोर बन्न सक्ने विज्ञहरुको भनाइ छ ।

कालिम्पोङलाई नयाँ जिल्ला घोषणासभामा बंगालकी मुख्यमन्त्री ममता वेनर्जी । तस्बिर सौजन्य : हिमालय दर्पण

प्रकाशित : फाल्गुन ४, २०७३ ०९:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल

ज्योति कटुवाल

दैलेख — पर्यटकीय सम्भावना बोकेका यहाँका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका पञ्चकोसी तीर्थस्थल (पादुका, धुलेश्वर, नाभिस्थान, शिरस्थान, कोटिला), भीमपाइला, धौलापडा गुफा, कोतगढी जीर्ण बन्दै गएका छन् । त्यस्तै सिद्ध गुफा, मदानताल, पाथर नाउली, नेपाली भाषाको पहिलो शिलालेख, पञ्चदेवल, पौवा बालेश्वर मन्दिरलगायतका सम्पदा ओझेलमा परेका छन् ।

दुल्लुमा अवस्थित एक हजार ३८ वर्ष पुरानो साउपाल अढाई शाक्यद्वारा निर्मित नेपाली भाषाको पहिलो शिलालेख र द्वन्द्वको समयमा माओवादीद्वारा ध्वस्त बनाएको दुल्लु दरबारको पुनर्निर्माण भएको छैन । ऐतिहासिक कोतगढी, सदियौंदेखि पानीमाथि निरन्तर प्रज्ज्वलित ज्वाला, पुरातात्त्विक ढुंगेधाराको संरक्षण र प्रवद्र्धन हुन सकेको छैन । परापूर्वकालमा पञ्चपाण्डवको समयमा निर्माण गरिएका मूर्तिहरू पर्यटकका लागि आकर्षण मानिन्छन् ।

दैलेखका सांस्कृतिक सम्पदाबारे जानकार अध्येता विश्व केसीले विभिन्न ३२ जातजातिकोउद्गमस्थल मानिएको दैलेखमा सरकारी निकायको बेवास्ताले धार्मिक तथा पर्यटकीय स्थलहरूहरू संकटमा परेको बताए । ‘पर्यटकीय तुलनामा काठमाडौं, लुम्बिनीपछि दैलेख तेस्रो पर्यटकीय क्षेत्र हो,’ उनले भने, ‘पुरातात्त्विक, धार्मिक र ऐतिहासिक भौतिक सम्पदाको संरक्षण र प्रवद्र्धन हुन नसक्दा पर्यटकीय बिकास हुन सकिरहेको छैन ।’

विभिन्न जातजाति उद्गमस्थलको रूपमा रहेका गाउँहरू विकासमा धेरै पछाडि छन् । यहाँको भुर्तीबाट भुर्तेल, दुल्लुबाट दुलाल, नेपाबाट नेपाल, कोइराला गाउँबाट कोइराला, कट्टीबाट कट्टेल, लयाटीबाट लुइटेल रहन गएको जनविश्वास छ । त्यस्तै रिजुबाट रिजाल, दहबाट दाहाल, बस्तकोटबाट बस्तकोटी, बासीबाट बस्याल, पराजुलबाट पराजुली, लम्सुबाट लम्साल, रूपाखेतबाट रूपाखेतीको नामकरण गरिएको संस्कृतिका अगुवाहरू बताउँछन् । दवाडाबाट दवाडी, बडबाट बडाललगायतका ३२ जातजातिको उद्गमस्थल दैलेख भएको इतिहासमा उल्लेख छ ।

गाविस, जिविस र नगरपालिकाले पर्यटकीय सम्पदाको संरक्षण र नयाँ गन्तव्य बनाउन पहल गर्नुपर्ने नागरिक अगुवाहरू बताउँछन् । स्थानीयको सक्रियता र सरकारी निकायको बेवास्ता नहुँदा ऐतिहासक सम्पदा र धार्मिक स्थल जीर्ण वन्दै गइरहेको दुल्लुका भुपालविक्रम शाहले बताए । ‘नेपाली सभ्यताको इतिहास दैलेखको दुल्लुमा छ । तर यसलाई पर्यटकीय गन्तव्य बनाउन कसैले चासो दिएका छैनन्,’उनले भने ।

ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र इतिहास लेखन प्रवद्र्धनका लागि फागुन १२ देखि २२ सम्म जिल्लामा पर्यटन महोत्सव आयोजना गरिएको छ । महोत्सव मूल समितिको संयोजक विष्णु शर्माले पर्यटक भित्र्याउन र पर्यटकीय सम्पदाको प्रवद्र्धनका लागि महोत्सब आयोजना गरिएको बताए ।

प्रकाशित : फाल्गुन ४, २०७३ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT