कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किमजोङ–नाम हत्यामा उत्तर कोरियाली पक्राउ, चीनले लगायो प्रतिबन्ध

सीएनएन/बीबीसी

क्वालालम्पुर — उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ–नामको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार उत्तर कोरियाली नागरिक री जोङ चोललाई पक्राउ गरेको छ । प्रहरीले यसअघि हत्यामा संलग्न भएको अभियोगमा इन्डोनेसिया, मलेसिया र भियतनामका गरी तीन जनालाई पक्राउ गरिसकेको छ ।

किमजोङ–नाम हत्यामा उत्तर कोरियाली पक्राउ, चीनले लगायो प्रतिबन्ध

री जोङ चोललाई प्रहरीले मलेसियाको सेलेङ्गरबाट पक्राउ गरेको हो । तर प्रहरीले रीका बारे थप जानकारी दिन अस्वीकार गरेको छ । गत सोमबार मलेसियाको क्वालालम्पुर विमानस्थलमा मकाउको विमान कुरिरहेका बेला किम जोङ नाममाथि आक्रमण भएको थियो । उनीमाथि विषालु पदार्थ छर्किएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी इन्डोनेसियाली महिला सिती ऐसाहले किममाथि विषालु पदार्थ छर्किंदा आफूले टेलिभिजन प्रांक सोमा भाग लिइरहेको ठानेको बताएकी छन् । उनले यसअघि पनि मानिसलाई यसैगरी छर्कने गरेको र त्यसका लागि आफूलाई केही डलर दिइएको प्रहरीलाई बयान दिएकी छन् । तर उनलाई छर्कने कुरा कसले दियो भन्नेबारे भने स्पष्ट भएको छैन ।

यसैबीच, उत्तर कोरियाले किम जोङ नामको शव मागेको छ । मलेसियास्थित उत्तर कोरियाली राजदूतले पोस्टमार्टम रिपोर्टलाई आफ्नो देशले मान्यता नदिने बताएका छन् । मलेसियाले भने किम जोङ–नामका परिवारका तर्फबाट डीएनएको नमुना प्राप्त नभएसम्म शव दिन नसकिने स्पष्ट पारेको छ । दक्षिण कोरियाको गुप्तचर एजेन्सीले भने प्योङयाङले लामो समयदेखि जोङ–नामको हत्या गराउन चाहे पनि उनलाई चीनले सुरक्षा दिएपछि असफल रहँदै आएकोमा यसपटक सफल भएको दाबी गरेको छ ।

चीनले लगायो प्रतिबन्ध

चीनले उत्तर कोरियाबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । चीनको वाणिज्य मन्त्रालयले जनाएअनुसार यो प्रतिबन्ध सन् २०१७ को अन्त्यसम्म लागू हुनेछ । गत साता चीनले १० लाख डलर बराबरको कोइला उत्तर कोरियाबाट जहाजमा लाद्न अस्वीकार गरेको थियो । प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणपछि बढ्दो दबाबबीच चीनले यो निर्णय गरेको हो ।

प्रकाशित : फाल्गुन ८, २०७३ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?