कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कान्टेको प्रभाव

फ्रान्सेली मिडफिल्डर एन्गोलो कान्टेले इंग्लिस प्रिमियर लिगमा कसरी गति लिइरहेका छन् त ?
राजु घिसिङ

एन्गोलो कान्टे फ्रान्सेली लिग वान क्लब काएनबाट २०१५ अगस्टमा ५६ लाख पाउन्डमा लेस्टर सिटी पुगेका थिए । क्लाउडियो रानेइरीले सम्हालेको लेस्टर अविश्वसनीय रूपमा इंग्लिस प्रिमियर लिग च्याम्पियन बन्यो ।

कान्टेको प्रभाव

कान्टे, रियाद महारेज, जेमी भार्डीसहितको टिमले पूरा सिजन नै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । त्यसैले २०१६ जुलाईमा कान्टेलाई अनुबन्ध गर्न चेल्सीले ३ करोड २० लाख पाउन्ड तिर्नुपर्‍यो ।

गएको सिजन २०१५–१६ लेस्टर र चेल्सीका लागि ठीक उल्टो रह्यो । 
रेलिगेसनमा पर्ने अनुमान गरिएको लेस्टर च्याम्पियन परेडमा निस्कियो भने अघिल्लो सिजनको विजेता चेल्सी युरोपेली प्रतियोगितामा छनोट पनि भएन, दसौं स्थानमा सीमित भयो । सिजन नसकिँदै जोसे मोउरिन्होले लन्डन क्लब छाड्नुपरेको थियो । वास्तवमा कान्टेसहितको लेस्टर र कान्टे बिनाको लेस्टर टिममा आकाश–जमिनको भिन्नता देखिएको छ । यही खाडल पुर्न नसक्दा लेस्टरलाई रेलिगेसनको डर बढ्यो र रानेइरीलाई बर्खास्त नै गर्‍यो ।

अहिले चेल्सीको हट–सिटमा इटालियन एन्टोनियो कोन्टे छन् । उनको नेतृत्वमा चेल्सीले फेरि उत्कृष्ट लय समातेको छ । उनको टिमले ११ खेल बाँकी छँदा प्रिमियर लिगमा १० अंकको अग्रता लिइसकेको छ । अब नाटकीय नतिजा आयो भने मात्रै चेल्सी लिग च्याम्पियन हुने छैन ।

मोउरन्होले सम्हालेको म्यानचेस्टर युनाइटेडलाई सोमबार १–० ले हराएर चेल्सी एफए कपको सेमिफाइनल पनि प्रवेश गर्‍यो । निर्णायक गोलकर्ता थिए एन्गोलो कान्टे । प्रिमियर लिग च्याम्पियन भए पनि अहिले रेलिगेसन टार्न संघर्षरत लेस्टर इंग्ल्यान्डको ठूला टिमको दर्जामा पर्दैन । रसियन अर्बपति रोमन अब्रामोभिच स्वामित्वको चेल्सी भने फोब्र्सको सूचीमा विश्वकै धनाढ्य फुटबल क्लबको सूचीमा सातौंमा पर्छ ।

द ब्लुजमा उत्कृष्ट खेलाडीहरूको ठूलै घुइँचो छ । त्यसैले चेल्सी सरुवा हुँदा कान्टे सुपरस्टारहरूको बीचमा हराउने पो हो कि भन्ने डर थियो । तर, उनले त्यो भीडमा पनि आफूलाई टिमको आधारस्तम्भका रूपमा स्थापित गरेका छन् । उनी भलै गोल कम गर्छन् तर उनको खेल मिडफिल्डमा लोभलाग्दो हुने गर्छ । ‘कान्टे अहिलेको विश्व फुटबलकै सर्वोत्कृष्ट सेन्ट्रल मिडफिल्डर हुन्,’ फ्रयांक लाम्पार्डको भनाइ गार्डियनले लेखेको छ ।

कान्टेलाई लेस्टरमा छँदै एलेक्स फर्गुसनले प्रिमियर लिगकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका थिए । फर्गुसनले म्यानेजरका रूपमा २७ वर्ष बिताएको म्यानचेस्टर युनाइटेडले समर ट्रान्सफलर २०१६ मा पउल पोग्बालाई नौ करोड पाउन्डमा अनुबन्ध गर्दै विश्वकै सबभन्दा महँगा फुटबलर बनाएको थियो । कान्टे र विश्वकै सबभन्दा महँगा फुटबलर पउल पोग्बा सोमबार एउटै मैदानमा थिए । स्टामफोर्डब्रिजमा भएको खेलमा कान्टे पूरा समय चारैतिर छाइरहेका थिए भने नौ करोड पाउन्डमा रेड डेभिल्स पुगेका पोग्बा मैदानमा हराइरहेका थिए । यी दुवै खेलाडी फ्रान्सेली हुन् ।

५ फिट साढे ६ इन्चका कान्टेले गर्ने पास, ट्याकल, क्रस सटीक हुने गर्छ । २५ वर्षीय उनी निकै मिहिनेती छन् । त्यसैले उनी भएको टिममा सेन्टर–ब्याकले कमै समस्या बेहोर्ने गर्छन् । लेस्टरमा मोर्गन र हुथलेजस्तै अहिले चेल्सीमा गेरी काहिल, सिजर अपिलिकुएटा, डेविड लुइजले विपक्षीलाई तर्साउने गरी खुलेर खेल्न पाएका छन् ।

‘कान्टेलाई जहाँ पनि देख्छु । दायाँ–बायाँ जता फर्कंदा पनि,’ चेल्सीका इडन हाजर्डले भनेका छन्, ‘जुम्ल्याहासँग खेलिरहेको जस्तो लाग्छ ।’ प्रशिक्षक कोन्टेले पनि कान्टेको खुलेर प्रशंसा गर्दै आएका छन् । ‘उनको स्टामिना र स्तर उत्कृष्ट छ । यसलाई अझ राम्रो बनाउन हामी प्रयासरत छौं,’ उनको भनाइ थुप्रै मिडियामा लेखिएको छ ।

फाइनल खेल्ने अवसर नपाए पनि कान्टे युरो कप २०१६ को उपविजेता फ्रान्सेली टिममा थिए । 

फ्रान्सको तल्लो डिभिजनको बोलोग्नेबाट फुटबलर करिअर सुरु गरेका उनी लिग वानको काएन हुँदै प्रिमियर लिग पुगेका हुन् । उनले यो सिजन चेल्सीबाट ३० खेल खेलेका छन् र त्यसमा दुई गोल गरे । उनको दुवै गोल स्टामफोर्ड ब्रिजमा भएको थियो र दुवै गोल म्यानचेस्टर युनाइटेडसँग । गोल संख्या पनि वृद्धि गर्न सके उनी वास्तवमै विश्व फुटबलका सुपरस्टार हुनेछन् । 

प्रकाशित : चैत्र ४, २०७३ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?