प्रहरीको हतियार खोस्ने मारिए

रोयटर्स

पेरिस — फ्रान्सको पेरिसस्थित ओर्ली विमानस्थलमा प्रहरीको हतियार खोस्ने एक व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । नियमित चेकजाँचका क्रममा प्रहरीको हतियार खोसी प्रहरीलाई नै आक्रमण गरेका ती व्यक्ति प्रहरीको जवाफी कारबाहीमा मारिएका हुन् ।

प्रहरी र गुप्तचर संस्थाहरूले ती व्यक्तिलाई अतिवादी मुस्लिम बताए पनि नाम भने सार्वजनिक गरेको छैन । प्रतिआतंकवाद हेर्ने निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उक्त व्यक्तिले विस्फोटक पदार्थ बोकेको नबोकेको पत्ता लगाउन विमानस्थल पूर्ण रूपमा खाली गरिएको फ्रान्सेली गृह मन्त्रालयका प्रवक्ता पियरे हेनरी ब्रान्डेटले बताए । उक्त व्यक्तिले गोली प्रहारमा एक प्रहरी अधिकारी घाइते भएका छन् ।

फ्रान्समा राष्ट्रपति चुनाव हुन पाँच सातामात्र बाँकी रहेको अवस्थामा उक्त घटना भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । फ्रान्समा केही वर्षदेखि आतंकवादी आक्रमण भइरहेकाले सुरक्षा स्थिति कडा पारिएको छ । सन् २०१५ मा पेरिसमा भएको आक्रमण र बम विस्फोटबाट १३० जनाको मृत्यु भएको थियो । सोही वर्ष फ्रान्सेली व्यग्ंयात्मक साप्ताहिक चार्ली हेब्दोमा आक्रमण हुँदा पत्रिकाका सम्पादकसहित १२ जनाको मृत्यु भएको थियो ।

शनिबारको आक्रमणले आइतबार हुने बेलायती राजकुमार विलियम र राजकुमारी केटको पेरिस भ्रमण प्रभावित नहुने बेलायत सरकारका प्रवक्ताले जनाए ।

प्रकाशित : चैत्र ६, २०७३ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?