कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर–प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथ

उप–मुख्यमन्त्रीमा दिनेश शर्मा र केशवप्रसाद मौर्य
एजेन्सी

लखनऊ — भारतीय जनता पार्टी (बीजेपी) ले उत्तर–प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथलाई चयन गरेको छ । बीजेपीको शनिबार बसेको संसदीय दलको बैठकले आदित्यनाथलाई मुख्यमन्त्रीका लागि चयन गरेको हो । मुख्यमन्त्रीको दाबेदार मानिएका सुरेश खन्नाले नै योगीको नाम प्रस्ताव गरेकोमा बैठकले सर्वसम्मतिले सहमति जनाएको थियो ।

 उत्तर–प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथ

प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपी अध्यक्ष अमित शाहले टेलिकम राज्यमन्त्री मनोज सिन्हाको नाम सिफारिस गरे पनि राष्ट्रिय स्वयंसेवक संघले असहमति जनाएपछि योगीको नाममा सहमति भएको हो । ४४ वर्षीय योगी गोरखपुर क्षेत्रबाट लोकसभा सदस्य हुन् । केही समयदेखि उनी मुख्यमन्त्री पदका लागि चर्चामा आएका थिए । आदित्यनाथले आइतबार दिउँसो लखनऊमा उत्तर–प्रदेशका राज्यपालबाट शपथ लिनेछन् । बीजेपीले दिनेश शर्मा र केशवप्रसाद मौर्यलाई भने उप–मुख्यमन्त्रीमा छनोट गरेको छ । हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा बीजेपी गठबन्धन उत्तर–प्रदेशमा ४ सय ३ सिटमध्ये ३ सय २५ सिटमा विजयी भएको थियो । विवादित अभिव्यक्तिका कारण पटकपटक चर्चामा आइरहने योगी आदित्यनाथ उत्तर–प्रदेश विधानसभा चुनावका बेला सबैभन्दा बढी र्‍याली गर्ने नेतामध्येमा पर्छन् । उत्तराञ्चलको गढवाल जिल्लाका योगीको वास्तविक नाम अजयसिंह नेगी हो । गोरखपुरबाट १९९८ मा पहिलोपटक सांसद बनेका उनी भारतीय संसद्मा सबैभन्दा कम उमेर (२६ वर्ष) मा सांसद बनेर रेकर्ड राखेका थिए । उनी गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिरका मुख्य महन्त पनि हुन् ।

केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, बीजेपी नेता सतीश महाना, सुरेश खन्नालगायतको नाम मुख्यमन्त्रीका प्रवल दाबेदार मानिए पनि योगी आदित्यनाथको नाममा उत्तर–प्रदेशका विधायकले सहमति जनाएका हुन् । शपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाहलगायत सहभागी हुनेछन् ।

प्रकाशित : चैत्र ६, २०७३ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?