कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योगी आदित्यनाथले लिए शपथ

एजेन्सी

लखनउ — पाँच पटक गोरखपुर क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित योगी आदित्यनाथले आइतबार उत्तर प्रदेश (यूपी) को मुख्यमन्त्री पदको शपथ लिएका छन् ।

योगी आदित्यनाथले लिए शपथ

उनीसँगै दुई उपमुख्यमन्त्री र ४३ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन् । लखनउस्थित स्मृति उपवनमा आयोजित शपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, वरिष्ठ नेता लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी र विभिन्न राज्यका बीजेपी मुख्यमन्त्रीहरू सहभागी थिए ।

प्रधानमन्त्री मोदीले योगी नेतृत्वको टिमले उत्तर प्रदेशलाई ‘उत्तम प्रदेश’ बनाउने विश्वास व्यक्त गरेका छन् । आइतबार नै ट्वीट गर्दै मोदीले भनेका छन्, ‘मलाई पूर्ण विश्वास छ, यो नयाँ टिमले उत्तर प्रदेशलाई उत्तम प्रदेशको रूप दिँदै प्रदेशको विकासमा इतिहास रच्नेछ ।’ उत्तर प्रदेशको विकास भएपछि मात्र भारतको विकास हुने उल्लेख गर्दै उनले भनेका छन्, ‘हामीले यूपीका युवाहरूका लागि काम गर्न चाहेका छौँ, उनीहरूका लागि अवसरको सिर्जना गर्न चाहन्छौं ।’

उपमुख्यमन्त्री पदमा लखनउ सहरका पूर्व मेयर डा. दिनेश शर्मा र यूपीका वरिष्ठ नेता केशवप्रसाद मौर्यले शपथ लिएका छन् । योगीको मन्त्रिमण्डलमा पूर्व क्रिकेट खेलाडीहरू चेतन चौहान र मोहसिन राजा पनि परेका छन् ।

बीजेपी गठबन्धनको सहयोगी दल सुहेलदेव भारतीय समाज पार्टीका नेता ओमप्रकाश राजभर पनि मन्त्री बनेका छन् । शपथग्रहण समारोहमा समाजवादी पार्टीका नेता मुलायम सिंह यादव र पूर्वमुख्यमन्त्री अखिलेश यादव पनि उपस्थित थिए । उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि योगी आदित्यनाथले मोदीको ‘सबैको साथ, सबैको विकास’ मन्त्रलाई पालना गरेर यूपीलाई अगाडि लैजाने बताए ।

प्रकाशित : चैत्र ७, २०७३ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?