अमेरिकी चुनावमा रूसी संलग्नता भएनभएबारे एफबीआईले अनुसन्धान गर्ने

एजेन्सी

वासिङटन — अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक जेम्स बी कोमेले गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा रूसको संलग्नताबारे अनुसन्धान हुने जनाएका छन् । अमेरिकी चुनावलाई प्रभावित बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्प र क्रेमलिनको साँठगाँठ रहेको आरोप लाग्दै आएको थियो ।

अमेरिकी चुनावमा रूसी संलग्नता भएनभएबारे एफबीआईले अनुसन्धान गर्ने

ट्रम्पले दुई साताअघि पूर्वराष्ट्रपति बाराक ओबामाले चुनावको समयमा आफ्नो फोन रेकर्ड गर्न आदेश दिएको आरोप लगाएका थिए । बिनाकुनै प्रमाण ओबामामाथि आरोप लगाएपछि ट्रम्प विवादित र आलोचित भएका थिए । एफबीआई निर्देशक कोमेले ट्रम्पको आरोपको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

त्यस्तै, अमेरिकी गुप्तचर संस्थाहरूले क्रेमलिनका हयाकरहरूले डेमोक्रेटिक पार्टीका नेताहरूको इमेल हयाक गरेर ट्रम्पलाई सघाएको बताएका थिए । डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनलाई हराउन रूसले भूमिका खेलेको अमेरिकी गुप्तचर संस्थाहरूको प्रतिवेदनमा उल्लेख थियो । अमेरिकी गुप्तचर संस्थाहरू सीआईए, एफबीआई र एनएसएको प्रतिवेदनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै अमेरिकी चुनावमा ट्रम्पलाई जिताउन भूमिका खेलेको उल्लेख थियो ।

रूसले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । रिपब्लिकन पार्टीका सिनेटर डेभिड न्युनेस अध्यक्ष रहेको संसद्को इन्टलिजेन्स कमिटीले ती आरोपका बारे अनुसन्धान गरिरहेको छ ।

उक्त समितिमा डेमोक्रेटिक पार्टीका सांसद आडम चिफ पनि छन् । न्युनेसले आइतबारसम्म ट्रम्पको चुनावी अभियानमा रूसी संलग्नताबारे कुनै प्रमाण फेला नपरेको बताएका छन् । तर चिफले भने आरोपका केही प्रमाण फेला परेको र अनुसन्धानका लागि ती प्रमाण पर्याप्त रहेको बताएका छन् । ट्रम्प प्रशासनका दुई उच्च अधिकारीहरूलाई ट्रम्पको चुनावी अभियानका क्रममा रूससँग निकट सम्बन्ध बनाएको आरोप लागेको थियो । पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनलाई केही समयअघि पदबाट बर्खास्त गरिएको थियो ।

ह्वाइटहाउसमा नियुक्त हुनुभन्दा पहिले नै उनले रूसी राजदूतसँग साँठगाँठ गरी ह्वाइटहाउसलाई गलत बाटोमा हिँडाएको आरोप लागेको थियो । उनले अमेरिकी प्रतिबन्धबारे रूसी राजदूत
सेर्जेई किस्ल्याकसँग कुराकानी गरेका थिए । आमनागरिकले अमेरिकी कुटनीतिबारे यस्तो कुरा गर्नु गैरकानुनी मानिन्छ ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?