उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिणको दाबी

रासस/एपी

सोल — उत्तर कोरियाले बुधबार गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको विकास र प्रवर्द्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो ।

हाल दक्षिण कोरियामा अमेरिकी र दक्षिण कोरियाली सेनाहरु संयुक्त रुपमा वार्षिक सैनिक अभ्यास सञ्चालन गरिरहेका समय पारी उत्तर कोरियाले आधुनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । दक्षिण कोरियामा भइरहेको वार्षिक सैनिक अभ्यासलाई आफ्नो देशउपर सामरिक आक्रमण गर्ने तयारीका लागि अभ्यास गरेको भन्ने आरोप उत्तर कोरियाले लगाउँदै आएको छ ।

यस मार्च महिनाको सुरुवात सँगसँगै उत्तर कोरियाले चारवटा शक्तिशाली ब्याल्लेस्टिक क्षेप्यास्त्रहरु जापानको सीमा नजिकैको समुद्रमा प्रहार गरी सफल परीक्षण गरेको थियो । यस परीक्षण पश्चात्, जापान, अमेरिका र दक्षिण कोरियाले सशक्त विरोध जनाएका थिए ।

दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी बुधवार बिहानै उत्तर कोरियाको पूर्वी सामुद्रिक तटवर्ती नगर उन्साङ्बाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्रले केहीबेरमै असफल नतिजा देखाएको जानकारी दिएको छ ।

परीक्षण गरिएको उक्त क्षेप्यास्त्र के कति क्षमता र शक्तियुक्त थियो भन्ने तथ्य तत्काल खुल्न नसके ता पनि यसबारे अनुसन्धान र विश्लेषण भइरहेको पनि सो मन्त्रालयले बताएको छ ।

उत्तर कोरियाले थप अर्को एउटा शक्तिशाली क्षेप्यास्त्र केही दिनपछि नै परीक्षण गर्ने तयारी गरिरहेको तथा क्षेप्यास्त्रवाहक ट्रकलाई परीक्षणस्थल उन्साङ् ल्याई सकेको र त्यहाँ उत्तर कोरियाली विशिष्ट व्यक्तिहरु बसी अवलोकन गर्ने मञ्चसमेत निर्माण गरिरहेको अमेरिकी सैनिक गुप्तचरले थाहा पाएको जनाइएको छ ।

अमेरिकाले उत्तर कोरियाको यस्ता गतिविधिहरुको निगरानी बढाई उच्चतम सतर्कता अपनाइरहेको पनि अमेरिकी प्रतिरक्षा अधिकारीहरुले जनाएका छन् । केही दिनअघि आधुनिक र अत्यन्त शक्तिशाली रकेट ईन्जिनको सफल परीक्षण गरी अन्तरीक्ष अनुसन्धानमा सघाउ पुर्‍याएको भनी उत्तर कोरियाले दाबी गरे तापनि उक्त परियोजना, शक्तिशाली र अत्याधुनिक ब्याल्लिस्टिक क्षेप्यास्त्र उत्पादन तथा भण्डारणसँगै आबद्ध भएको हातहतियार विज्ञहरुको विश्लेषण रहेको जनाइन्छ ।

प्रकाशित : चैत्र ९, २०७३ १५:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने ज्योतिष पक्राउ

रासस/एपी

कोलम्बो — राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलङ्काली प्रहरीले पक्राउ गरेको छ । अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि ब्याप्त छ ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलङ्काली प्रहरीले पक्राउ गरेको छ ।

अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि ब्याप्त छ । हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलङ्काली नौसेनाका पूर्वसैनिक हुन् । सन् १९८९ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी श्रीलङ्काको औपचारिक भ्रमणमा रहँदा उनलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा यिनले जागीर गुमाउनुका साथै सजाय समेत भोग्नुपरेको थियो ।

तथाकथित ज्योतिष विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले पक्डने वा अकल्पनीय दुर्घटनामा पर्ने र २७ जनवरी अगावै उनको मृत्यु हुने भनी बकबास हल्ला फैलाई ज्योतिषी विद्याभिरु समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरेकोले पक्रिई नियन्त्रणमा लिएको भन्ने श्रीलङ्काली प्रहरीको भनाइ छ ।

राष्ट्रपति सिरिसेनाको मृत्यु हुन्छ भन्ने भविष्यवाणी सहित विजयेमुनिले गत डिसेम्बरमा आफ्नो फेसबूक पेजमा थरी थरीका थुप्रै भिडियो क्लिप अपलोड गरेकाले आम जनमानसमा भविष्यवाणी सत्य पो हुने हो कि भन्ने भ्रम फैलन गएको थियो । सरकारमा रहेका उच्च अधिकारीहरु चाहिँ विजयेमुनिप्रति सशङ्कित रहेका थिए ।

यही क्रममा, विजयेमुनिले भित्रभित्रै कतै सैनिक बिद्रोह गराउने वा राष्ट्रपतिलाई अप्रत्याशित आक्रमण गर्ने षडयन्त्रको तानाबाना त बुनि रहेको छैन भन्ने आशङ्कामा सञ्चार मन्त्रालयका सचिव निमाल बोपेजले श्रीलङ्काका प्रहरी प्रमुखलाई गोप्यरुपमा अनुसन्धान गर्न र विजयेमुनिको भविष्यवाणीले उत्पन्न गराउन सक्ने सम्भाव्य परिणामउपर निगरानी राख्ने आदेश दिएका थिए ।

प्रकाशित : माघ १९, २०७३ १६:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT