कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रोबोटले दिन्छ वित्तीय सल्लाह

नविन पोखरेल

लन्डन — बेलायतमा वित्तीय सल्लाहका लागि रोबोट प्रविधि प्रभावकारी बन्दै गएको छ । ‘रोबोट एड्भाइजर’ पनि भनिने उक्त प्रविधिले ग्राहकलाई आर्थिक जिज्ञासाको जवाफ र नि:शुल्क वित्तीय परामर्श दिने गर्छ । यस्तो प्रविधि विकाससँगै वित्तीय क्षेत्रमा यसको भूमिका बढ्दै गएको छ ।

रोबोटले दिन्छ वित्तीय सल्लाह

रोबोट एड्भाइजरबाट वित्तीय सल्लाह लिन इन्टरनेटमा गएर आफ्नो नाम, उमेर, सम्पत्ति, आम्दानी, जोखिम धान्न सक्ने क्षमता आदि विवरण पेस गरिन्छ । रोबोटले तत्कालै विभिन्न किसिमका लगानी अवसर सुझाउँछ । बेलायतलगायत मुलुकमा खर्च घटाउन, विश्वसनीय र सुविधाका लागि रोबोट एड्भाइजर विस्तार हुनेक्रम बढदो छ । रोबोटको सल्लाहमा आफूसँग भएको पैसा उचित क्षेत्रमा लगानी गरे राम्रो प्रतिफल पाउने विश्वास व्यवसायीमा बढिरहेको छ ।

न्यून पुँजी हुने साना व्यवसायीका लागि वित्तीय सल्लाह लिन विज्ञहरूले लिने चर्को शुल्कको रोबोट भरपर्दाे विकल्प बन्न थालेको छ । रोबोटले लगानी गर्ने रकम कति छ, जोखिम उठाउने कस्तो योजना छ, कति अवधिका लागि लगानी गर्ने, केका लागि बचत गरिरहेको हो जस्ता प्रश्न सोधेर कुन क्षेत्रमा लगानी गर्ने भन्ने सल्लाह दिन्छ ।

बेलायतको रोयल बैंक अफ स्कटल्यान्डले आफ्ना २ सय २० जना वित्तीय सल्लाहकारलाई जागिरबाट हटाएर कम्प्युटरमार्फत सल्लाह दिने रोबोट प्रविधि सुरु गरेको छ । यसबाहेक बेलायतका अन्य बैंक तथा वित्तीय संस्थाले पनि रोबोट एड्भाइजरको विकास गरिरहेका छन् । रोबोट एड्भाइजरले सयौंको जागिर गएको भन्दै यसको आलोचना भए पनि बेलायत सरकारले यस्तो प्रविधिलाई अघि बढाउन बैंक तथा वित्तीय संस्थाहरू अग्रसर हुनुपर्नेमा जोड दिएको छ ।

रोबोट एड्भाइजरले एलगोरोथम कम्प्युटर प्रोग्राममार्फत परामर्श दिन्छ । बेलायतको अर्थ मन्त्रालयले गत वर्ष सात महिना लामो अध्ययनपछि वित्तीय सल्लाहमा प्रविधिले खर्च कम गर्न उल्लेख्य भूमिका खेलेको निष्कर्ष निकालेको थियो । अर्थ मन्त्रालयले बेलायतको वित्तीय गतिविधि हेर्ने बैंक अफ इंग्ल्यान्डअन्तर्गत रहेको फाइनान्सियल कन्डक्ट अथोरिटीले वित्तीय संस्थालाई अटोमेटिक प्रोग्राम रोबोट एड्भाइजरसम्बन्धी प्रविधि विकासका लागि सहयोग गर्नुपर्ने बताएको थियो । फाइनान्सियल कन्डक्ट अथोरिटीले धेरै ग्राहकले बिनाशुल्क वित्तीय जानकारी लिन खोजेकाले यस्तो प्रविधि उपयोगी र सस्तो हुने जनाएको छ ।

यस्तो प्रविधिले वित्तीय क्षेत्रमा मानवीय दिमाग पुन:स्थापना गरी ग्राहकसँगको सम्बन्ध थप सुदृढ गरेर व्यवसाय बढाउन सक्ने लन्डनस्थित अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्य बताउँछन् । स्टक, बोन्ड र अरू सम्पत्तिबारे रोबोट एड्भाइजरले उचित र उपयुक्त सुझाव एवं सल्लाह दिने बताउंँदै आचार्यले रोबोटले खरिद र बिक्री गर्दा करलगायत नियम–कानुनसम्बन्धी सुझावसमेत दिने गरेको उल्लेख गरे । रोबोट एड्भाइजरका धेरै विशेषता व्याख्या गर्दै आचार्यले रोबोटले बिनाभेदभाव निष्पक्ष सल्लाह र सुझाव दिने र रोबोट एड्भाइजरहरू निश्चित कुनै काम गर्नका लागि विश्वसनीय हुने दाबी पनि गरे । तर, यो प्रविधिले मानिसले जस्तो बोल्ने, नेतृत्व दिने र सन् २००८ को जस्तो आर्थिक मन्दी पार लगाउने क्षमता भने नराख्ने आचार्यको धारणा छ ।

रोबोट प्रविधिको विकास जति गरे पनि यसले मानिसले जस्तो जीवनका अरू पाटाहरू तथा मौद्रिक सल्लाह भने दिन सक्दैन । तर, वित्तीय योजना, विश्वास, कर, ऋण र कुनै दीर्घकालीन उद्देश्यका लागि रोबोट एड्भाइजरले प्रभावकारी काम गर्न सक्ने विश्वास गरिन्छ । यो खासमा युवा वा वित्तीय सल्लाहकारकहाँ जान नसक्नेलाई लक्षित गरिए पनि केही रोबोटले ठूलो लगानीमा सल्लाहका लागि शुल्क पनि लिन थालेका छन् ।

प्रकाशित : वैशाख ४, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?