२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

मिसाइल परीक्षण निरन्तर गर्छौं : उत्तर कोरिया

युद्धमा कसैको पनि जित हुँदैन : चीन
बीबीसी

प्योङयाङ — अन्तर्रास्ट्रिय समुदायको चर्को आलोचना र अमेरिकासँग सैन्य तनाव बढे पनि उत्तर कोरियाले मिसाइल परीक्षण निरन्तर गर्ने चेतावनी दिएको छ । प्योङयाङमा बीबीसी संवाददाता जोन सुडवर्थलाई अन्तरवार्ता दिँदै उत्तर कोरियाली उपविदेशमन्त्री हान सङ र्‍योलले परीक्षणलाई निरन्तरता दिने बताएका हुन् ।

मिसाइल परीक्षण निरन्तर गर्छौं : उत्तर कोरिया

‘हामी साप्ताहिक, मासिक र वार्षिक रूपमा थप मिसाइल परीक्षणहरू गर्नेछौं,’ उनले भने । हानले अमेरिका सैन्य कारबाहीमा उत्रिए युद्धको परिस्थिति सिर्जना हुने पनि बताए ।

उनले अमेरिकाले आफ्नो देशविरुद्ध सैन्य आक्रमण गर्ने योजना बनाए आफूहरूले आफ्नै शैली र तरिकाले पहिल्यै आणविक आक्रमण गर्ने चेतावनी दिए । उपविदेशमन्त्री हानले आफ्ना आणविक हतियारहरूले अमेरिकी सैन्य कारबाहीको खतरालाई सामना गर्नेमा उत्तर कोरियाको विश्वास रहेको पनि बताए । दक्षिण कोरिया भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सोमबार मात्र उत्तर कोरियालाई थप मिसाइल परीक्षण नगर्न चेतावनी दिँदै अमेरिकाको धैर्य समाप्त भएको बताएका थिए ।

एसिया भ्रमणका क्रममा मंगलबार टोकियो पुगेका पेन्सले उत्तर कोरिया शासन यस क्षेत्रकै लागि ‘सबैभन्दा अनिष्टकारी खतरा’ रहेको बताए । यसैबीच, राष्ट्रसंघमा सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघका लागि उत्तर कोरियाली स्थायी प्रतिनिधि किम इन–र्‍योङले रासायनिक आक्रमणको आशंकामा अमेरिकाले सिरियाली एयरबेसमा गरेको मिसाइल आक्रमणको भत्र्सना गरे । उनले अमेरिकाले विश्व शान्ति र स्थायित्वलाई खल्बलाइरहेको आरोप लगाउँदै सार्वभौम मुलुकहरूमा हस्तक्षेप अस्वीकार्य हुने बताए ।

युद्धमा कसैको पनि जित हुँदैन : चीन
चीनले कोरियाली प्रायद्वीपमा जारी तनाव कूटनीतिक माध्यमबाट अन्त्य गर्नुपर्ने बताएको छ । बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री
वाङ यीले सबै पक्षले शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताए ।

‘यदि साँच्चै युद्ध भएमा त्यसले धेरै क्षति निम्त्याउनेबाहेक अरू परिणाम दिँदैन, कसैको पनि जित हुँदैन,’ वाङले भने । उनले औपचारिक या अनौपचारिक, एउटा च्यानल या धेरै च्यानल, बहुपक्षीय या द्विपक्षीय जसरी भए पनि हुने वार्तालाई चीनको सहयोग र समर्थन रहने पनि बताए ।

प्रकाशित : वैशाख ६, २०७४ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?