२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘कोरियाली प्रायद्वीप युद्धको नजिक’

एजेन्सी

सोल — उत्तर कोरियाले कोरियाली प्रायद्वीप आणविक युद्धको नजिक रहेको चेतावनी दिएको छ । अमेरिकाका दुई सुपरसोनिक बमवर्षक विमानले दक्षिण कोरियाली र जापानी वायु सेनाका जहाजसँग अभ्यास गर्दै शक्ति प्रदर्शन गरेपछि उत्तरको यस्तो चेतावनी आएको हो ।

‘कोरियाली प्रायद्वीप युद्धको नजिक’

उत्तर कोरियाका सरकार नियन्त्रित सञ्चारमाध्यमहरूले किम जोङ–उनको शासन अमेरिका ‘तहसनहस’ हुने पखाईमा रहेको भन्दै चेतावनी दिएका हुन् । सरकारी टेलिभिजन केआरटीले मंगलबारको प्रसारणमा भनेको छ, ‘अमेरिकाको सैन्य उक्साहटका कारण कोरियाली प्रायद्वीप आणविक युद्धनजिक पुगेको छ ।’ यस्तै ‘रोडोङ सिनमुन’ अखबारले मंगलबार प्रकाशित गरेको ‘आणविक युद्धले अमेरिकालाई विनाश गर्नेबाहेक अरू केही गर्दैन’ शीर्षकको लेखमा पनि ‘अमेरिका अति खतरनाक आणविक युद्धतर्फ उन्मुख’ रहेको उल्लेख गरिएको छ । 

अखबारले अमेरिकाले आक्रमण गरेको कुनै पनि संकेत प्राप्त हुनेबित्तिकै अप्रिलको सैन्य परेडमा प्रदर्शन गरिएको अन्तर महाद्वीपीय ब्यालेस्टिक मिसाइल अमेरिकामाथि उड्ने र डोनाल्ड ट्रम्प प्रशासनले गरेको आणविक युद्धको उक्साहटले अमेरिकी साम्राज्य पतन हुने उल्लेख गरेको छ । अखबारले दक्षिण कोरिया समुद्रमा मिल्ने र जापान र खरानीमा परिणत हुने चेतावनी पनि दिएको छ । 
सोमबारमात्र उत्तर कोरियाका सरकारी प्रवक्ताले कुनै पनि समय कुनै पनि स्थानमा आणविक परीक्षण हुने जनाएका थिए । 

उनले अमेरिकी आक्रमणको जवाफ दिन आणविक बललाई सकेसम्म बढी मजबुद बनाइएको बताएका छन् । उत्तरले अमेरिकाका बमवर्षक विमानहरूले आफ्नो सीमा अतिक्रमण गर्दै आणविक बम खसाल्ने अभ्यास गरेको आरोप पनि लगाएको छ । 
उत्तर कोरियाको सीमाबाट दक्षिण कोरियाको राजधानी सोल २५ माइलमात्र टाढा छ । विज्ञहरूले अमेरिकाले उत्तर कोरियामाथि सैन्य कारबाही गरे त्यसबाट सोल र यसका १ करोड नागरिकविरुद्ध विनाशकारी आक्रमण हुने चेतावनी दिएका छन् । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले सबै पक्षलाई ‘तनाव घटाउन’ र सकेसम्म चाँडो वार्ता थाल्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबारमात्र उत्तर कोरियाली नेता किम जोङ उनलाई सही समयमा भेट्ने अवसर पाए आफूले ‘सम्मानित महसुस गर्ने’ बताएका थिए । 

दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ताले सोलमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त सैन्य अभ्यास उत्तरको उक्साहटलाई रोक्ने उद्देश्यले भएको बताएका थिए । अमेरिकाले दक्षिण कोरियामा स्थापना गरेको मिसाइल प्रतिरोधी प्रणाली प्रारम्भिक सञ्चालनको अवस्थामा पुगेको जनाएको छ ।

यद्यपि केही महिनासम्मका लागि यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउने बताइएको छ । यसैबीच, सीआईएका निर्देशक माइक पोम्पेओ तीनदिने भ्रमणका लागि दक्षिण कोरिया पुग्दै छन् । अमेरिकी सहयोगको पुन: प्रतिबद्धता जनाउन उनी सोल जान लागेका हुन् । 

प्रकाशित : वैशाख २०, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?